१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश १ मा कस्तो बन्ला सरकार ?

देवनारायण साह

मोरङ — पहिलो प्रदेशसभामा राजनीतिक दलहरूले अधिकांश दोस्रो तहका नेतालाई प्रदेश संसदमा पठाएका थिए । तर यसपटक प्रमुख दलहरूबाट केन्द्रीयस्तरका र प्रभावशाली युवा नेताहरू निर्वाचित भइरहेकाले प्रदेश नामकरणलगायत मुद्दामा जनभावना अनुरुप काम हुने अपेक्षा गरिएको छ ।

प्रदेश १ मा कस्तो बन्ला सरकार ?

मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राई भोजपुर १(१) मा निर्वाचित भएका छन् । मोरङ ६(२) मा आन्तरिक मामिला तथा कानुनमन्त्री कांग्रेसका केदार कार्की, उदयपुर १(२) मा सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की र पाँचथर १(२) मा आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो निर्वाचित भएका हुन् ।

निवर्तमान प्रदेश सांसद एमालेका इलाम २(२) मा पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, झापा २(१) मा एकराज कार्की, झापा ५(१) मा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, धनकुटा १(१) मा निरन राई विजयी भएका छन् ।

यस्तै एमालेका धनकुटा क्षेत्र १(२) मा प्रदेशसभाका न्याय, प्रशासन तथा विधायन समितिका निवर्तमान सभापति इन्द्रमणी पराजुली, मोरङ ३(२) मा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री अधिवक्ता लिलाबल्लभ अधिकारी, सोलुखुम्बु १(२) मा एमालेका निवर्तमान प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका उदयपुर २(१) मा नारायणबहादुर मगर निर्वाचित भएका हुन् । उनीहरु पहिलो प्रदेश सांसदको अनुभवसहित पुन: निर्वाचित भएर प्रदेशसभामा आएकाले जनभावना अनुसार काम गर्ने प्रदेशवासीको अपेक्षा छ ।

मोरङ ५(२) बाट कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल, ओखलढुंगा १(१) बाट काग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार, मोरङ क्षेत्र ४(१) बाट ग्रामिण विकास विज्ञ एमालेका जयप्रकाश चौधरी, खोटाङ १(२) बाट कांग्रेसका प्रदेश १ महामन्त्री भूपेन्द्र राई, भोजपुर १(१) बाट कांग्रेसका जिल्ला सभापति विनोद राई, पाँचथर १(१) बाट नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगु निर्वाचित भएका छन् । यस्तै, ओखलढुंगा (२) बाट माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम, मोरङ ५(१) बाट कांग्रेसका ७९ वर्षीया गयानन्द मण्डल गनगाई, उदयपुर क्षेत्र २(२) बाट कांग्रेसका युवा नेता रामकुमार खत्रीलगायत अनुभवी नेताहरु प्रदेशसभामा निर्वाचित भएका छन् ।

कस्तो बन्नला प्रदेश सरकार ?

प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा यस प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ने चासो बढेको छ । प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा ठूलो दल एमाले हुने तर सरकार सत्ता गठबन्धनको बन्ने देखिएको छ ।

प्रदेश १ प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये शनिबार साँझ ७ बजेसम्ममा ४९ क्षेत्रको अन्तिम मत परिणाम अनुसार सत्ता गठबन्धनले २५ र एमाले गठबन्धनले २४ क्षेत्रमा निर्वाचित भएको छ । जसमा एमालेले सबभन्दा बढी २२, कांग्रेसले १४, माओवादी केन्द्र ९, नेकपा (एकीकृत समाजवादी) र राप्रपा २/२ क्षेत्रमा विजयी भएको छ । मत गणना भइरहेको ६ वटा क्षेत्रमध्ये कांग्रेस ३, एमाले २ र नेकपा (एकीकृत समाजवादी एउटा क्षेत्रमा अगाडि छन् । सुनसरीको प्रदेश निर्वाचन क्षेत्र ३(२) को मत गणना अझै सुरु हुन सकेको छैन ।

पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको बलमा ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३६ र माओवादी केन्द्रले ११ गरी ४७ वटा क्षेत्रमा जितेका थिए । कांग्रेसले ८ र तत्कालिन संघीय समाजवादी फोरमले एउटा क्षेत्रमा चित बुझाएका थिए । यस प्रदेशमा कूल ३७ जना समानुपातिक प्रदेश सांसदमध्ये सबभन्दा बढी एमालेले १५, माओवादी केन्द्रले ५, कांग्रेसले १३, संघीय समाजवादीले २, राप्रपा र संयूक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ जना प्रदेश सांसद पाएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेले एक्लै बहुमत ५१ वटा सिट प्राप्त गरेको थियो । जसमा माओवादी केन्द्रसहित दुई तीहाईभन्दा बढी हैसियतको सरकार गठन गरेर साढे तीन वर्ष प्रदेशको बागडोर एमालेले सम्हालेको थियो । तर यसपटकको चुनावमा यो परिदृष्य फेरिने निश्चित देखिएको छ ।

प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग २/२ वटा क्षेत्रमा मात्रै गठबन्धन गरी ५२ वटा क्षेत्रमा एकल उम्मेदवारी दिएको थियो । जसमा अन्तिम मत परिणाम आइसकेका २८ क्षेत्रमध्ये एमालेले २२ र राप्रपाले २ गरी २४ वटा क्षेत्रमा विजयी प्राप्त गरेको छ ।मतगणना भइरहेकामध्ये २ वटा क्षेत्रमा एमाले अगाडि छ । एमाले अघिल्लो प्रदेशसभामा ३६ क्षेत्रमा जितेको थियो ।

यता कांग्रेसले २६, माओवादी केन्द्रले १९ र नेकपा (एकीकृत समाजवादी दल)ले ११ वटा क्षत्रेमा बाँडेर चुनावी प्रतिस्पर्धामा उत्रेका सत्ता गठबन्धन दलले अहिलेसम्ममा २५ वटा क्षेत्रमा विजयी प्राप्त गरेका छन् । जसमा कांग्रेसले १४, माओवादी केन्द्रले ९ र नेकपा (एकीकृत समाजवादी)ले २ क्षेत्रमा जित निकालिसकेका छन् । अहिले मत गणना भइरहेकामध्ये गठबन्धन दल ४ वटा क्षेत्रमा अगाडि छन् । जसमा कांग्रेस ३ र एकीकृत समाजवादी एउटा क्षेत्रमा अगाडि छन् ।

सत्ता गठबन्धन दलमा धेरै जना मुख्यमन्त्रीका आकांक्षी रहेकाले प्रदेशमा राजनीतिक स्थायित्व हुनेमा राजनीतिक विशलेषकहरुले आशंका व्यक्त गर्न थालेका छन् । मुख्यमन्त्रीका आकांक्षीहरुले आ–आफ्ना दलको नेताका लागि निर्वाचित प्रदेश सांसदहरुसँग छलफल सुरु गरिसकेका छन् । सत्ता गठबन्धन दल कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धब थापा, प्रदेश समिती महामन्त्री भूपेन्द्र राईले दलको नेताका लागि पहल थालेका छन् । थापाको नाम कांग्रेसको समानुपातिक सूचीमा १ नम्बरमा सिफारिस भएको छ । उनले पार्टीको प्रदेश सभापतिको हैसियतले पनि आफूले अवसर पाउनुपर्ने बताउँदै आएका छन् । मन्त्री कार्कीले आफूले पहिलो प्रदेशसभामा पनि दलको नेतामा प्रयास गरेर प्रमुख सचेतकमा चित बुझाएकाले यसपटक अवसर पाउनुपर्ने बताए ।

माओवादी केन्द्रबाट मन्त्री इन्द्रबहादुर आङ्बो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य, हर्कबहादुर लावती र एकीकृत समाजवादीबाट मुख्यमन्त्री राई पनि मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । उनीहरूले आफूहरू निर्वाचित भएर गएपछि मुख्यमन्त्री बन्ने भन्दै मतदातासँग मत मागेर निर्वाचित भएका हुन् ।

कति समावेशी प्रदेशसभा ?

राई, लिम्बु आदिवासी जनजाति र ब्राह्मण, क्षेत्री बाहुल्य यस प्रदेशमा पहिलो प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाएका राई, लिम्बु, मगर र गुरुङ समुदायबाट ३५ जनामध्ये २१ जना प्रत्यक्ष निर्वाचित र १४ जना समानुपातिक गरी ३५ जना प्रदेश सांसद भएका थिए । यसपटक उक्त समुदायबाट प्रमुख दलबाट उम्मेदवार भएका ३८ जनामध्ये १६ जना निर्वाचित भइसकेका र मत गणना भइरहेका मध्ये २ वटामा उक्त समुदायकै उम्मेदवारबीच प्रतिस्पर्धा रहेको र एउटामा अगाडि छ ।

अघिल्लो निर्वाचनमा ५६ उम्मेदवारमध्ये २४ जना प्रत्यक्ष र १० जना समानुपाति गरी ३४ जना निर्वाचित भएका ब्राह्मण/क्षेत्री समुदायका यसपटक प्रमुख दलबाट ५८ जना उम्मेदवार भएका मध्ये २८ जना निर्वाचित भइसकेका र मत गणना भइरहेकामध्ये एउटामा उक्त समुदायकै उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

गत निर्वाचनमा ८ मध्ये ३ जना निर्वाचित भएको मधेसी समुदायबाट यस पटक चुनावी मैदानमा उत्रेका ७ जनामध्ये २ जना निर्वाचित भएको र मत गणना भइरहेको सुनसरीको ३(२) मा प्रमुख दलका दुबै उम्मेदवार मधेसी समुदायकै छन् । थारु, राजबंशी, मधेसी र नेवार समुदायका १/१ जना निर्वाचित भइसकेका छन् । एउटा क्षेत्रमा मुस्लिम समुदायका उम्मेदवार मुख्य प्रतिस्पर्धी रहेकाले उक्त समुदायको एक जनाको प्रदेशसभामा प्रतिनिधित्व हुने निश्चित छ ।

अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गरेका ३२ जना महिला प्रदेश सांसदमध्ये मन्त्री खिनुलङवा लिम्बु, निवर्तमान उपसभामुख सरस्वती पोखरेल, कुसुमकुमारी श्रेष्ठ र सरिता थापा यस पटक चुनावी प्रतिस्पर्धामा उत्रेकी हुन् । जसमध्ये श्रेष्ठ र थापा पराजित भइसकेकी छन् । लिम्बु र पोखरेलको अन्तिम मत परिणाम आउन बाँकी छ । यसपटक झापा १(२) मा मात्रै प्रदेश सांसदमा महिला उम्मेदवार राप्रपाकी सबिना बजगाई निर्वाचित भएकी हुन् ।

अघिल्लो प्रदेशसभाका सांसदमध्ये आदिवासी जनजाति समुदाय जातीय पहिचान र ब्राह्मण, क्षेत्री, मधेसी समुदायकाले भूगोलको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै विभाजित भएकाले नामकरण थाति रहेको छ ।

मुख्यमन्त्री र तीन मन्त्रीसहित १२ निवर्तमान प्रदेश सांसद निवर्तचित

मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्रकुमार राई भोजपुर १(१) मा निर्वाचित भएका छन् । मोरङ ६(२) मा आन्तरिक मामिला तथा कानुनमन्त्री कांग्रेसका केदार कार्की, उदयपुर १(२) मा सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की र पाँचथर १(२) मा आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो निर्वाचित भएका हुन् ।

निवर्तमान प्रदेश सांसद एमालेका इलाम २(२) मा रामबहादुर मगर, झापा २(१) मा एकराज कार्की, झापा ५(१) मा हिक्मत कार्की, धनकुटा १(१) मा निरन राई र क्षेत्र १(२) मा इन्द्रमणी पराजुली, मोरङ ३(२) मा लिलाबल्लभ अधिकारी, संखुवासभा १(२) मा विदुरकुमार लिंथेप, सोलुखुम्बु १(२) मा बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । कांग्रेसका माओवादी केन्द्रका उदयपुर २(१) मा नारायणबहादुर मगर निर्वाचित भएका हुन् ।

इलाम १(१) मा संस्कृति तथा पर्यटनमन्त्री नेकपा (एकीकृत समाजवादी)की खिनुलङ्वा लिम्बु र सुनसरी ३(१) मा पूर्वउपसभामुख सरस्वती पोखरेलको अन्तिम मत परिणाम आउन बाँकी छ ।

प्रकाशित : मंसिर १०, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?