मोरङ १ मा कांग्रेसका लिम्बू निर्वाचित
काठमाडौँ — प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति डिगबहादुर लिम्बू विजयी भएका छन् ।
उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् । मोरङका सभापति समेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँग ६ हजार मतले पराजित भएका थिए । त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए ।
योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनीक भएको छ । यहाँको क्षेत्र नम्बर १ मा कांग्रेसका लिम्बु सहित ३ मा सुनिल शर्मा र ६ मा डा. शेखर कोइराला विजयी हुँदा क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ४ मा माओवादी केन्द्र अमनलाल मोदी र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा मोरङमा कांग्रेसले एक, एमालेले तीन, माओवादी केन्द्रले दुई क्षेत्रमा जितेको थियो ।
प्रकाशित : मंसिर १०, २०७९ २१:१९