कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुदूूरपश्चिममा कांग्रेस पहिलो, सरकार बनाउन गठबन्धन आवश्यक

अर्जुन शाह

धनगढी — निर्वाचन सम्पन्न हुने क्रममा रहँदा आगामी सरकार कस्तो बन्ला भन्ने आम चासो देखिएको । एउटै दलको सरकार बन्ने अवस्था नबन्दा कुन कुन दलहरूबीच तालमेल होला भन्ने चासो देखिएको छ ।

सुदूूरपश्चिममा कांग्रेस पहिलो, सरकार बनाउन गठबन्धन आवश्यक

सुदूरपश्चिम प्रदेश सरकारमा भने गठबन्धन वा ‘मिलिजुली सरकार’ नै बन्ने निश्चितप्राय: भएको छ । प्रदेशसभामा कांग्रेस पहिलो स्थानमा पुगे पनि उसको एक्लै बहुमत नपुग्ने भएको छ । ३२ मध्ये ३० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको परिणाम आउँदा कांग्रेसको ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले ३, नेकपा एकीकृत समाजवादी २ र स्वतन्त्र सांसद एक जना प्रदेशसभाका लागि निर्वाचित भएका छन् । बाजुराको भने गणना भएको छैन ।

सुदूरपश्चिममा ०७४ को निर्वाचनमा प्रदेशसभाका ३२ मध्ये चार सिटमा सीमित भएको कांग्रेस यसपटक भने पहिलो दल बन्न सफल भयो । कांग्रेसका उम्मेदवारहरु कैलालीबाट कमल शाह, प्रकाश बम र प्रकाश देउवा, बझाङबाट पृथ्वीबहादुर सिंह, कञ्चनपुरबाट देवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामी र अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभातर्फ शून्य सिटमा पुगेको माओवादी केन्द्रले प्रदेशसभाका लागि भने ८ उम्मेदवारलाई विजयी गराउन सफल बन्दै दोस्रो दल बनेको छ । कैलालीका रमेश धामी, बझाङबाट भीम भण्डारी, अछामबाट झपट साउँद, डोटीबाट शिवसिंह ओली, कञ्चनपुरबाट ओमविक्रम भाट, डडेलधुराबाट खगराज भट्ट माओवादी केन्द्रबाट पहिलो पटक प्रदेश सभा बैठकमा टेक्नेछन् ।

हाल उद्योग पर्यटन वन तथा वातारणमन्त्री रहेका दार्चुलाका मानबहादुर धामी र अछामबाट अक्कलबहादुर रावल दोहोरिन सफल भएका छन् । अघिल्लो प्रदेशसभामा माओवादी केन्द्रका १० जनाले जितेका थिए ।

प्रदेशसभामा तेस्रो स्थान नवगठित नागरिक उन्मुक्ति पार्टीले ओगट्ने भएको छ । प्रतिनिधिसभातर्फ तीन सांसद जितेको नागरिक उन्मुक्तिका ५ सांसद प्रदेशमा विजयी भएका छन् । कैलालीबाट कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी, रामेश्वर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरीले चुनाव जितेर प्रदेश सभायात्रा तय गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिट जितेर पहिलो दल बनेको एमाले भने यस चुनावमा चौथो स्थानमा पुगेको छ । एमालेका तीन जना सांसद मात्रै जितेका छन् । बैतडीका शुरेन्द्र पाल, डोटीका चक्र मल्ल र कञ्चनपुरका वीरबहादुर थापा एमालेबाट प्रदेश सांसद चुनिएका हुन् । सुदूरपश्चिममा प्रदेशसभाका लागि एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । डडेलधुराका तारा जोशीले स्वतन्त्रबाट जित हात पारेका छन् ।

सुदूपश्चिममा कांग्रेस पहिलो दल भएपनि उसको एक्लै बहुमत भने पुुग्ने छैन । ३३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्दछ । त्यस अवस्थामा सरकार गठन गर्न अहिलेकै गठबन्धन वा अन्य कुनै दलको सहयोगमा मात्रै कांग्रेसले सरकार गठन गर्न सक्नेछ । यस प्रदेशमा माओवादी केन्द्र नेतृत्वमा सरकार बन्न सक्ने चुनावको सुरुदेखि नै चर्चा छ । कांग्रेस र माओवादी केन्द्र मिल्दा दुुई दलको पनि बहुमत पुुग्न सक्नेछ । तर यी दुुई दलले एक अर्कालाई बाहिर राखेर सरकार गठन गर्न सबै सबै दललाई साथ लिनु पर्ने हुन्छ । समानुपातिकबाट उनीहरुले कति सिट ल्याउछन् भन्नेमा पनि केही भर पर्नेछ ।

प्रकाशित : मंसिर १०, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?