अपेक्षा अनुसार नतिजा ल्याउन नसकेपछि माओवादीका प्रदेश अध्यक्ष बरालले दिए राजीनामा


रूपन्देही — नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा अपेक्षा अनुसार नतिजा नआएपछि पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र सत्ता गठबन्धनमा देखिएको अन्तर्विरोधलाई यथासमयमा सम्बोधन गर्न नसक्दा सिंगो पार्टीले पराजय भोग्नु परेको उल्लेख गरेका छन् । बराल आफैं पनि गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ (१) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार थिए ।
र उनी नेकपा एमालेका चिन्तामणि पाण्डेसँग पराजित भएका हुन्। उनले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
‘अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सम्मानमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट बाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसक्दा पनि परिणाम अपेक्षित हुन सकेन ।’
विज्ञप्ति मार्फत् उनले केही समस्या र कमीकमजोरीका बाबजुद गठबन्धन सफल भएको उल्लेख गरेका छन् । नेकपा माओवादी केन्द्रले २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक कांग्रेससँगको सहकार्यमा ५ सिट मात्र जितेको छ । माओवादीबाटै बागी उम्मेदवार बनेका ३ जनाले स्वतन्त्रबाट चुनाव जितेका छन् ।
प्रकाशित : मंसिर १०, २०७९ १८:५१