कालीकोटमा पहिलो पटक शान्तिपूर्ण निर्वाचन !

हरेक चुनावमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले म्यादीसहित सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै बिदाइ गरे ।
तुलाराम पाण्डे

कालीकोट — हरेक निर्वाचनमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपछि प्रजिअ रामहरि शर्माले सबै सुरक्षाकर्मीलाई धन्यवाद दिँदै भने, 'तपाईंहरुको उच्च सुझबुझ र सतर्कताले जिल्लाभर कुनै घटना भएन, सबैलाई बधाइ छ ।'

कालीकोटमा पहिलो पटक शान्तिपूर्ण निर्वाचन !

उनले राष्ट्रले सुम्पिएको जिम्मेवारी पूरा गर्ने नेपाली सेना, सशस्त्र र जनपदसहित म्यादी प्रहरीलाई सदरमुकाम मान्मबाट बिदाइ गर्दै नेत्रविक्रम चन्द समूहको प्रभाव क्षेत्र मानिने कालीकोटमा कुनै ठाउँमा सामान्य पनि हिंसा नभएर चुनाव सम्पन्न हुनु सुरक्षाकर्मीको उच्च सतर्कता प्रमुख कारण भएको बताए ।

अभावसँग बाँच्ने हिमाली क्षेत्रको जनजीवन, असोज १९ देखिको लगातारको वर्षाले क्षतविक्षत भएको कालीकोटको जनजीवन सँगै फिल्डमा पुग्न निकै कठिन भए पनि दिएको जिम्मेवारी पूरा गर्ने सबै सुरक्षाकर्मीलाई बधाइ दिने क्रममा कालीकोटको भूगोल कठिन भए पनि यहाँका नागरिक इमानदार रहेको उनले बताए ।

'भौगोलिक रुपमा विकटता छ । यहाँका नागरिकमा कुनै छलछाम छैन,' प्रजिअ शर्माले यहाँको कुनै पनि नकारात्मक कुरा बाहिर लगेर प्रचार नगर्न पनि सुरक्षाकर्मीहरूलाई आग्रह गरेका थिए ।

०४८, ०५१ र ०५६ को चुनावमा कांग्रेस, एमाले, मालेका कार्यकर्ताबीच कुटाकुट भएको कालीकोटमा ०६४ मा विभिन्न ९ ठाउँमा माओवादीले बुथ कब्जा गरेको आरोप लागेको थियो । ०७० मा म्यादी प्रहरीले सेवा सुविधाको बारेमा सदरमुकाममा आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीले ज्यान गुमाए ।

०७४ को स्थानीय तहको चुनावमा नरहरिनाथ ६ माल्कोटस्थित नन्दादेवी मावि मतदान केन्द्रमा मतपेटिका जलाउन लाग्दा प्रहरीको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गयो । अन्य ३ जना घाइते भए । गत वैशाखको स्थानीय तहको चुनावमा चन्द समूहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरेको कालीकोटमा रास्कोट, पचालझरनालगायतका केही मतदान केन्द्रमा धाधलीको प्रयास भए पनि यस पटक जिल्लाभर चुनाव शान्तिपूर्ण भएको स्थानीय अगुवाहरू बताउँछन् । प्रत्येक चुनावमा मृत्यु हुने गरेको परम्पराजस्तै बनेको कालीकोटमा यस पटक भने जिल्लाभर कुनै ठाउँमा पनि हिंसात्मक गतिविधि भएन ।

निर्वाचनको सुरक्षा संवेदनशिलता हेरेर जिल्ला सुरक्षा समितिले चन्द समूह र मदिरालाई प्रमुख सुरक्षा चुनौतीको रुपमा लिँदै सुरक्षा रणनीति तय गरेर २ हजार बढी नेपाली सेना, सशस्त्र, जनपद र म्यादी प्रहरी परिचालन गरेको थियो ।

कठिन भूगोल र चन्द समूहको प्रभाव क्षेत्र कालीकोट भएकाले सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्दा कुनै हिंसात्मक गतिविधि हुन नपाएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । सुरुमा जिल्लामा उम्मेदवार र मतदातामा एक खालको त्रास देखिन्थ्यो । डीएसपी रिमालले कान्पिुरसँग भने, 'सबै पक्षसँग समन्वय गरेर निष्पक्ष रुपमा प्रस्तुत हुँदा कुनै घटना हुन पाएन ।' उनले पालिकाका प्रमुख सुरक्षा संवेदनशील क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरीसहितको सुरक्षा घेराले मतदाताले सुरक्षित महसुस गरेर मतदान गरेको सुनाए ।

कालीकोटमा सुरक्षा चुनौतीको रुपमा रहेको मदिरालाई प्रतिबन्ध लगाइएको थियो भने चन्द समूहसँग पनि सुरक्षा अधिकारी निरन्तर सम्पर्कमा रहेर समन्वय गर्नाले विष्फोट लगायतका गतिविधि नभएको एक सुरक्षा अधिकारीले सुनाए । उनका अनुसार दुई साताअघि यहाँको तिलागुफा १० चिल्खाया रानावाडामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको थियो ।

कालीकोट जिल्लामा सत्ता गठबन्धनका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चा एकतिर र एमाले, नेमकिपा, राप्रपा, काग्रेस बीपी छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा गएपछि सत्ता गठबन्धनसँग मुकाविला गर्ने भौतिक शक्ति नभएकाले पनि चुनाव शान्तिपूर्ण जस्तो देखिएको मानवअधिकारकर्मी कालीबहादुर मल्लको विश्लेषण छ ।

विकट क्षेत्रबाट मतपेटिका ल्याउने क्रममा चन्द समूहले अवरोध गर्नसक्ने भएकाले दुई दिन लगाएर सबै ठाउँका मतपेटिका कर्णाली करिडोरको मुख्य सडकमा जम्मा गरेर नेपाली सेना, सशस्त्र, जनपद र म्यादीले ल्याएकाले कुनै ठाउँमा अवरोध गर्न सकेनन् । मतपेटिका ल्याउन ढिलाइ हुँदा दुई दिनपछि मात्र मतगणना सुरु गरिएको थियो । चुनाव शान्तिपूर्ण भए पनि मतपेटिका आउन ढिलाइ भयो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने चुनावको प्रचार प्रसार, मतदान र मतगणना सबै काम शान्तिपूर्ण रुपमा भएको पहिलो पटक भएको भन्दै त्यसका लागि उनले कालीकोटबासीलाई धन्यवादसमेत दिए ।

८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा १ सय २४ मतदान केन्द्र थिए। जिल्ला सुरक्षा समितिले यहाँका ७४ मतदान केन्द्रलाई अति संवेदनशील, ३६ मतदान केन्द्रलाई संवेदनशील र १४ वटा मतदान केन्द्रलाई सामान्य भनेर वर्गिकरण गरेको छ । अतिसंवेदनशील मतदान केन्द्रमा कुनै खालको हर्कत भए गोली चलाउने आदेशसमेत दिइएको थियो ।

मतदान केन्द्र र मतपेटिकाको सुरक्षाको लागि काठमाडौं, नेपालगञ्ज, सुर्खेत, जुम्लालगायत जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी कालीकोट आएका सुरक्षाकर्मी फर्किएका छन् ।

त्यसैगरी, कालीकोट जिल्लाबाट भर्ना गरिएका एक हजार म्यादी प्रहरीको पनि शुक्रबार बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले बताए । उनका अनुसार सबै म्यादी प्रहरीलाई घर पायक पालिका भन्दा अन्यत्र खटाइएको थियो ।

प्रकाशित : मंसिर १०, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?