मतदाताले रोजे नयाँ उम्मेदवार- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

मतदाताले रोजे नयाँ उम्मेदवार

भवानी भट्ट

कञ्चनपुर — प्रतिनिधिसभामा कञ्चनपुरका सबै क्षेत्रमा हरेक निर्वाचनमा एउटै दल वा गठबन्धन निर्वाचित हुँदै आएको छ । प्रदेशसभाको पहिलो निर्वाचनमा पनि यही देखियो । प्रतिनिधिसभामा ३ वटा निर्वाचन क्षेत्र हरेको कञ्चनपुरमा यस पटकको निर्वाचनमा भने उक्त ट्रेन्ड बदलिएको छ ।

प्रदेशसभामा मिश्रित नतिजा आएको छ भने प्रतिनिधिसभामा पनि एउटै दल वा गठबन्धन निर्वाचित हुने सम्भावना छैन ।

प्रतिनिधिसभामा ३ निर्वाचन क्षेत्रमध्ये २ र ३ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको कांग्रेसका एनपी साउद क्षेत्र नं. २ बाट र रमेश लेखक क्षेत्र ३ बाट निर्वाचित भएका हुन् । क्षेत्र नं. १ मा गठबन्धनबाटै उम्मेदवार बनेकी माओवादी केन्द्रकी बिना मगर भने एमालेका उम्मेदवार तारा लामा तामाङसँग पराजित भइन् ।

प्रदेशसभातर्फ पनि क्षेत्र नं. १ (१) मा एमालेका वीरबहादुर थापा र १ (२) मा कांग्रेसका दिवानसिंह विष्ट विजयी भए । क्षेत्र नं. २ (१) मा माओवादी केन्द्रका ओमविक्रम भाट र क्षेत्र नं. २ (२) मा कांग्रेसका बहादुरसिंह थापा तथा क्षेत्र न) ३ (१) मा एकीकृत समाजवादीका प्रकाश रावल र ३ (२) मा कांग्रेसका बेलबहादुर राना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको २०४८ देखिको नतिजा हेर्दाहरेक निर्वाचनमा एउटै दलका उम्मेदवार निर्वाचित भएका छन् । लगातार कुनै पनि दलले दोहोर्‍याएर जित्न सकेको छैनन् । सबै क्षेत्रमा एउटै पार्टीको उम्मेदवार विजयी हुने ट्रेन्डलाई मतदाताले यसपटक भने फेरेका छन् । राजनीतिक दलहरूले गरेको गठबन्धनलाई समेत जनताले फेल गराइ दिएका छन् । ‘जनताले नयाँलाई परीक्षण गर्न खोज्छन्, त्यसकै परिणाम यहाँ पनि देखियो,’ राजनीतिशास्त्रका प्राध्यापक डा. टेकराज पन्तले भने, ‘गठबन्धनको राजनीति पनि कामयाव भएजस्तो लागेन ।’

२०४८ मा कञ्चनपुरमा २ वटा मात्रै निर्वाचन क्षेत्र थिए । उक्त निर्वाचनमा दुवै क्षेत्रमा कांगस्रेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. १ मा वासुदेव भट्ट र क्षेत्र नं. २ मा तारिणीदत्त चटौत निर्वाचित भए । ०५१ को मध्यावधि निर्वाचनमा निर्वाचन क्षेत्र थपेर ३ बनाइयो । त्यतिबेला तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भए । क्षेत्र नं. १ मा रामकुमार ज्ञवाली, २ मा भोजराज जोशी र ३ मा उर्वादत्त पन्त निर्वाचित भएका हुन् ।

२०५६ मा तीन वटै क्षेत्रमा कांग्रेसले बाजी मार्‍यो । क्षेत्र नं. १ मा एनपी साउद, २ मा तारिणी दत्त चटौत र ३ मा रमेश लेखक विजयी भए । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा कञ्चनपुरलाई ४ वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । त्यतिबेला चारै क्षेत्रमा माओवादी विजयी भयो ।

क्षेत्र नं. १ मा पुरन रानाथारू, २ मा देवीलाल चौधरी, ३ मा टेकेन्द्र भट्ट र ४ मा हरिश ठकुल्ला निर्वाचित भए । क्षेत्र नं. ४ मा कांग्रेसका शेरबहादुर देउवा निर्वाचित भए पनि उनले छाडेपछि उपनिर्वाचनमा माओवादीका ठकुल्ला विजयी भएका हुन् । दोस्रो संविधानसभाको निर्वाचनमा ४ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए । क्षेत्र नं. १ मा दिवानसिंह विष्ट, २ मा एनपी साउद, ३ मा बहादुरसिंह थापा र ४ मा रमेश लेखक विजयी भए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपा लहर र माओवादी प्रभाव पन्छाउँदै संसदीय यात्रामा विक्रम पाण्डे

रमेशकुमार पौडेल

चितवन — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दोहोरिन नचाहेको क्षेत्र हो चितवन-३ । अघिल्लोपटक सत्तारुढ गठबन्धनको साथ पाएर यही क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे तत्कालीन वामपन्थी गठबन्धनका साझा उम्मेद्वार दाहालसँग नौ हजार मतान्तरले पराजित भएका थिए ।

योपटक बिनागठबन्धन चुनावमा उठेका पाण्डेले सत्ता गठबन्धनका उम्मेदवारलाई ९ हजार मतान्तरले नै पराजित गरे । यस क्षेत्रबाट लगातार पाँचौंपटक चुनावमा उठेर पाण्डेले दोस्रो जित हात पारेका हुन् ।

आफू हुर्केबढेको चितवन शिवनगरमा बनेको नयाँ घरमा दशैं घटस्थापनाको साइत पारेर गृह प्रवेश गरेका दाहालले चितवन–३ बाटै फेरि चुनाव लड्ने धेरैको अनुमान थियो । तर दशैंको टीकाका दिन त्यो घर सुनसान भएपछि दाहाल चितवन–३ मा नदोहोरिने अनुमानले आकार लिन थाल्यो । त्यही अनुमानलाई सत्य सावित गर्दै अन्तिम समयमा आएर दाहालले छिमेकी जिल्ला गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निधो गरे । यता ५६ सालबाट लगातार चुनाव लड्दै आएका पाण्डे योपटक पनि उठ्छन् भन्नेमा सबै विश्वस्त थिए । तर एमालेले उनलाई समर्थन गर्छ वा एक्लै लड्छन भन्ने कुतुहुलता भने बाँकी नै थियो । साथै, चितवन-३ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने समेत उठ्ने चर्चा थियो । तर, अन्तिम समयमा उनले क्षेत्र परिवर्तन गर्दै चितवन-२ बाट उम्मेदवार बने । रवीको यो निर्णय पाण्डेको संयदीय यात्राको मार्ग तय गर्नका लागि सहज भयो ।

गएको स्थानीय चुनावमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा तालमेल गरेको हुँदा पाण्डेलाई एमालेको समर्थन रहने चर्चा थियो । तर मनोनयन दर्ता हुने दिन एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीको तर्फबाट चितवन–३ मा उम्मेदवारी दर्ता गराए । उम्मेदवारी फिर्ता हुने दिन अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रका आधारमा चितवन–३ को निर्वाचन अधिकृतको कार्यालयले न्यौपानेको नाम उम्मेदवारको सूचीबाट हटायो । तर अनुमान विपरीत एमालेले राप्रपाका पाण्डेलाई नभएर कांग्रेस केन्द्रीय सदस्य रहेर स्वतन्त्र उठेका दिनेश कोइरलालाई समर्थन गर्‍यो ।

एकातिर सत्तारुढ गठबन्धन, अर्कोतर्फ एमाले र स्वतन्त्र उम्मेदवारको तालमेलबीच पाण्डेले नवगठित दल राष्ट्रिय स्वतन्त्र पार्टीको ‘लहर’को पनि सामना गर्नुपर्‍यो । दाहालले चुनाव जितेपछि चितवन–३ मा विकास निर्माणले फड्को मारेको माओवादी पार्टी र त्यो पार्टीका समर्थकहरूले दाबी गर्दछन् । यही कुरालाई उनीहरूले चुनावी मुद्दा पनि बनाए ।

दाहालको साटो सत्तारुढ गठबन्धनले चितवन–३ मा उठाएको माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारी चितवनमा चिनिएका ४३ वर्षीय युवा चिकित्सक हुन् । तर अन्तिम मत परिणाम आउँदा पाण्डेले ३५ हजार ५५ मत ल्याए । डा. अधिकारी २५ हजार ८ सय २२ मत मै सीमित भए । दिनेश कोइरालालाई एमालेले समर्थन गर्‍यो । तर राम्रो मत ल्याउन सकेनन् । कोइरालाले १२ हजार २ सय ७५ मत ल्याए । चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बराल तेस्रो स्थानमा रहिन् । बरालको १८ हजार ८ सय ४२ मत आयो । दिनेश कोइराला चौथो नम्बरमा रहे ।

गएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध उठेर चर्चामा आएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल पनि यो पटक चितवन–३ मा स्वतन्त्र उठेका थिए । मेयरमा उठ्दा १५ हजारको हाराहारीमा मत ल्याएका पौडेलले यो पटक ३ सय ६५ मात्रै भोट ल्याए । उनलेभन्दा बढी मंगोल नेशनल अर्गनाइजेशनका फैइन्द्रजंग गुरुङले ४ सय ८६ मत ल्याए । चितवन– ३ मा १२ स्वतन्त्रसहित २० उम्मेदवार थिए ।

पाण्डे आफ्ना निकटतम प्रतिद्वन्द्वी डा. अधिकारीलाई ९ हजार २ सय ३३ मतले पछाडि पार्दै ६९ वर्षको उमेरमा दोस्रोपटक संसद् भवन प्रवेश गर्न सफल भए । यसअघि उनी ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन निर्वाचन क्षेत्र ५ बाट विजयी भएका थिए । त्यो क्षेत्र नै अहिले ३ अन्तर्गत छ ।

राप्रपाले प्रदेशसभामा पनि चितवन–३ मा अनपेक्षित नतिजा ल्यायो । राप्रपाका उम्मेदवार एक क्षेत्रमा विजयी नै भए, एउटामा निकटतम प्रतिद्वन्द्वी रहे । चितवन–३(१)मा सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका सूर्यकान्त घिमिरेलाई उठाएको थियो । घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार पनि हुन् । त्यसै गरी एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण भुर्तेल उठेका थिए । तर राप्रपाबाट उठेका ३६ वर्षीय युवा गिरबहादुर तमाङले निर्वाचन जिते । खासै नाम नसुनिएका तमाङले १७ हजार ८ सय १३ मत ल्याउँदा अधिकारीले १४ हजार ९ सय ५६ मत ल्याए । एमालेका भुर्तेल ११ हजार ६ सय २३ मत ल्याएर तेस्रो भए ।

अघिल्लोपटक समानुपातिकबाट वाग्मती प्रदेशसभा सदस्य भएकी राप्रपाकी रिना गुरुङ योपटक चितवन–३(२)मा उम्मेदवार थिइन् । भरतपुर महानगर क्षेत्रको मतगणना सकिँदासम्म अग्रतामा रहेकी गुरुङ माडीको गणनापछि पछाडि परिन् र सत्तारुढ गठबनन्धनका उम्मेदवार माओवादी केन्द्रका ठाकुर ढकालसँग पराजित भइन् । ढकाल माडी नगरपालिकाका निवर्तमान मेयर पनि हुन् ।

ढकालले १५ हजार ४ सय ६१ मत ल्याए । गुरुङको १४ हजार ६ सय १५ मत आयो । एमालेकी सरस्वती विष्ट १० हजार १ सय २४ मत ल्याएर तेस्रो भइन् । गठबन्धन र तालमेल बिना एक्लै चुनावको सामाना गरेका पाण्डेले आफू जित्दै पार्टीलाई प्रदेशमा पनि जिताए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×