झापा — सधैं भिन्न शैलीको कर्म गरेर चर्चामा आइरहने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पटक संसदीय यात्रा तय गर्दै गर्दा विजय र्यालीका नाममा अनावश्यक तामझाम गरेनन् । बरु मतदाताका घरघर पुगेर धन्यवाद ज्ञापन गरे । बिहीबार उनको कार्यक्रमको नाम विजयी जुलुस हैन, धन्यवाद ज्ञापन र्याली थियो ।
शर्मा बिहान साढे ८ बजे निवास अघिल्तिरकी दृष्टिविहीन महिला दिलकुमारी राईलाई माला पहिर्याउन पुगे । अनि आशीर्वाद थाप्दै भने, ‘तपाईँहरूको मतले मैंले यो पाली चुनाव जितें, धन्यवाद छ ।’
दिलकुमारीले जवाफ फर्काइन्, ‘सधैं सबैलाई खुसी बनाउनु, राम्रो काम गर्दै जानु, बाबुको बिँडो थाम्नु ।’ २०७० र २०७४ का निर्वाचनमा पराजित भएका शर्माले त्यतिबेला विजेताहरूलाई माला पहिर्याएर सकारात्मक राजनीतिक संस्कार थालेका थिए । उनले थालेको यो संस्कार अहिले देशव्यापी बनेको छ ।
यसपटक विजेता बनेपछि उनले मतदातालाई घरघर पुगेर माला पहिर्याएका थिए । आफूसँगै चुनावी दौडमा रहेका उम्मेदवार नेतालाई पनि माला पहिर्याए । ‘उपविजेता नेतालाई माला पहिर्याउन पार्टी कार्यालय नै पुगेको थिएँ’, कांग्रेसका प्रभावशाली युवा नेता शर्माले भने, ‘तर, उहाँहरू निर्वाचन कार्यालय भवनमै आइपुग्नु भयो, दुवैले दुवैलाई माला साटासाट गर्यौँ ।’

करिब ९ बजे जनान्दोलनका घाइते गोपाल श्रेष्ठको घर पुगे शर्मा । मेचीनगर–९ स्थित घर पुगेर उनले श्रेष्ठकी आमा नरमाया र गोपाललाई माला पहिर्याउँदै गर्दा माहोल भावुक बन्यो । त्यसपछि उनी पुगे आफन्त जीवराज भण्डारीको निवासी । जसले उनलाई व्रतबन्धमा गायत्रीमन्त्र सुनाएका थिए ।
शर्माले ४० वर्षदेखि भक्का बेचेर गुजारा गरिरहेकी विरला राजवंशीलाई भक्का बेचेकै ठाउँमा पुगेर माला पहिर्याइदिए । भक्का तराईका राजवंशीहरूको मीठो परिकार हो । यो जाडो याममा बढी खाने चलन छ । विरलाको आशीर्वाद थापे पछि उनी हतारिँदै पुगे, नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षत्रीको डेरामा । रुविना पनि ट्रेमा माला बोकेर आइन् । उपस्थित कांग्रेस कार्यकर्ताले सोचे, रुविनाले विश्वप्रकाशलाई माला पहिर्याएर बधाई दिन लागेकी होलिन् । तर, कुरा त्यस्तो थिएन । रुविनाको ट्रेबाट माला उठाएर शर्माले रुविनाकै गलामा पहिर्याइ दिँदा सबै छक्क परे ।
‘राष्ट्रको नाम उच्च पार्न योगदान गर्नुभएको छ, मलाई भोट हाल्न आइपुग्नुभएको छ, धन्यवाद छ’, शर्माले भने । रुविनाको डेरापछि उनी सोझै टोकला चिया बगान पुगे । जहाँ काम गरिरहेका श्रमिकहरूलाई उनले फूलमाला र अबिर पहिर्याएर अनि खुसी साट्दै भने, ‘सबैलाई धन्यवाद ।’ धन्यवाद ज्ञापन र्यालीमा स्वतस्फूर्त सयौं कार्यकर्ता सहभागी थिए । उनले एकमुष्ट भने, ‘तपाईँहरू सबैलाई धन्यवाद मत दिएर जिताउनुभएकोमा ।’
प्रतिनिधिसभा सदस्यमा झापा–१ बाट तेस्रो पटक उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नि खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गरेका हुन् ।
प्रकाशित : मंसिर १०, २०७९ ०८:०७