तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 

चन्द्र कार्की

तेह्रथुम — नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै वाम-लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । 

०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भइन् । जिल्लामा नेकपा एमालेका हेबीवेट नेता खापुङले पार्टी छोडेर उम्मेदवारी नदिएपछि गुरुङलाई चुनाव जित्न सहज भएको हो । यसअघि दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बा तेस्रो पटक चुनाव जितेर संसद् छिर्ने प्रयासमा असफल बने ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।


प्रकाशित : मंसिर १०, २०७९ ०१:५९
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुममा एमालेका सुब्बाको अग्रता

चन्द्र कार्की

तेह्रथुम — प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुममा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । एमालेका विजय सुब्बा र कांग्रेसकी उम्मेदवार सीता गुरुङबीच मतगणनाका क्रममा एकअर्कालाई अघिपछि पार्ने क्रम जारी रहेको छ ।

शुक्रबार बिहान आएको मतगणना अपडेटमा सुब्बाले अग्रता लिएका छन् । छथर गाउँपालिका, लालीगुराँस र म्याङलुङ नगरपालिकाको मतगणना सम्पन्न हुँदा एमाले केन्द्रीय निर्वाचन अयोगका अध्यक्षसमेत रहेका सुब्बाले १० हजार ६ सय ६६ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गुरुङले १० हजार १ सय २४ मत प्राप्त गरेकी छिन् । ५ सय ३९ मतले गुरुङलाई पछि पार्दै सुब्बाले अग्रता लिएका हुन । गत स्थानीय तह निर्वाचनमा छथर गाउँपालिका र म्याङलुङ नगरपालिकामा एमाले विजयी भएको थियो । लालीगुराँस नगरपालिका भने कांग्रेसले जितेको हो । अब फेदाप, आठराई र मेन्छ्यायेम गाउँपालिकाको प्रतिनिधिसभासभा सदस्य तर्फको १८ हजार मत गणना गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत गोविन्द होमागाँईले जानकारी दिए । शुक्रबार बेलुकीसम्ममा संघतर्फको पनि मत परिणाम सार्वजनिक गरिसक्ने सहायक निर्वाचन अधिकृत होमागाँईले जानकारी दिए । अहिले तीन स्थानमा प्रतिनिधिसभा सदस्यतर्फको मत गणना भइरहेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×