अझै राजनीतिक अस्थिरता बढ्ने देखियो : चित्रबहादुर केसी

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको परिणामले नेपालमा राजनीतिक अस्थिरता ल्याउने देखिएको बताएका छन् । 

अझै राजनीतिक अस्थिरता बढ्ने देखियो : चित्रबहादुर केसी

निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा आयोजित सभामा बोल्दै केसीले कुनै पनि दलले बहुमत नल्याएकाले पुनः राजनीतिक अस्थिरता बढेको टिप्प्णी गरे । उनले अझै पनि नेपालमा लोकतन्त्रमाथि खतरा हुने क्रम नटरेको बताए । केसी प्रतिनिधिसभा सदस्यका लागि बागलुङ क्षेत्र नं. १ बाट विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक मतसमेत गनिसकेपछि मात्रै निर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरेर मतपरिणाम घोषणा गरेको थियो । उक्त अवसरमा केसीले लोकतन्त्र रक्षाका लागि फेरि पनि राजनीतिक दल, सञ्चार क्षेत्र र जनता सचेत बन्नुपर्ने बताए । ‘अझै लोकतन्त्र खतरामा छ, यो बेला कुनै दलको स्पष्ट बहुमत पनि आएन; त्यसैले सम्भावित खतराविरुद्ध लड्न तयार रहनुपर्छ‚’ केसीले भने, ‘परिपक्व लोकतन्त्र बनाउने अभियानमा सबैको समान योगदान आवश्यक छ ।’ उनले पश्चिमा मुलुकमा जस्तो परिपक्व लोकतन्त्र नबनेसम्म निरंकुशता र प्रतिगमन फर्कने खतरा हुने दाबी गरे ।

उनले निर्वाचित सांसदले देशका लागि नीति बनाउने भए पनि विकास निर्माणसमेत हेर्नुपर्दा सुशासन कायम गर्न कठिन भएको बताए । ‘निर्वाचन महँगा भए । सांसदले नीति बनाउने हो तर जनताले विकास पनि गरिदेओस् भनेका छन्, त्यसैले भ्रष्टाचार बढ्ने देखिन्छ‚’ केसीले भने, ‘जनताकै पैसाबाट हरेक सांसदले विकास गर्न खोज्दा भ्रष्टाचार बढ्छ ।’ उनले विकास निर्माणको मुख्य जिम्मा स्थानीय तहको हुने बताए ।

कार्यक्रममा निर्वाचन प्रदेशसभाका सदस्यले पनि सुशासन र जनताको आवश्यकता पूरा गर्ने काममा सक्रिय बन्नुपर्ने बताए । उनीहरूले दलको विकल्प खोज्ने अवस्था आउन नदिन दलको नेतृत्व सचेत बन्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?