२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेताका अप्रिय, जनताका प्रिय

पार्टीबाट टिकट नपाएपछि सर्लाही-४ मा अमरेशकुमार सिंह, मोरङ-५ मा योगेन्द्र मण्डल 'जोगी' र रौतहट–२ मा किरणकुमार साहले यसै गरी चुनाव जितेका छन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — प्रत्यक्षतर्फ दुई तिहाई सिटको अन्तिम परिणाम आइसक्दा प्रतिनिधिसभामा १२ दलको प्रवेश भइसकेको छ । तर यसपटक दलबाट मात्रै होइन, दलले लत्याएर टिकट नदिएका नेताहरुले पनि चुनाव जितेका छन् । गठबन्धनमा सिटको भागबन्डा र दलभित्रको गुटगत चलखेलमा नेताको प्रिय पात्र बन्न नसकेका केही नेताले पार्टीबाट अलग भएर उम्मेदवारी दिएर पनि चुनाव जितेका हुन् ।

नेताका अप्रिय, जनताका प्रिय

पार्टीबाट टिकट नपाएपछि सर्लाही-४ मा अमरेशकुमार सिंह, मोरङ-५ मा योगेन्द्र मण्डल 'जोगी' र रौतहट–२ मा किरणकुमार साहले यसै गरी चुनाव जितेका छन् ।

अमरेशकुमार सिंह

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा देशभर नेपाली कांग्रेसले जम्मा २३ सिटमात्रै जित्यो, त्यसबेला चुनाव जित्नेमध्ये एक थिए- अमरेशकुमार सिंह । सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेका सिंहले पाँच वर्ष जनप्रतिनिधिको रुपमा काम गरे ।

यसबीचमा गत वर्ष मंसिरमा कांग्रेसको १४ औँ महाधिवेशन भयो । अन्तरिम संसद्समेत गर्दा तीन पटक सांसद भइसकेका सिंह केन्द्रीय सहमहामन्त्री लड्ने तयारीमा थिए । तर उनी पार्टीको क्षेत्रीय प्रतिनिधिमै सीमित भए । उनले सर्लाही-४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि नै जित्न सकेनन् ।

उनी यस पटकको निर्वाचनमा फेरि प्रतिनिधिसभा सदस्यको टिकटका दाबेदार थिए । तर महाधिवेशन प्रतिनिधिमै पराजित भएका उनलाई पार्टीले पत्याएन । पार्टीले टिकट नदिएपछि व्यक्तिगत रूपमै स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका सिंहले कांग्रेस नेतृत्वको गठबन्धनकै उम्मेदवारलाई पराजित गरेर चुनाव जितेका छन् ।

पार्टीमा नेताको प्रिय बन्न नसक्दा पार्टीबाट दोहोरिएर टिकट नपाएका सिंहले आमनिर्वाचनमा भने मतदाताको मन जितेर विजय हासिल गरेका छन् । सिंह पार्टीभित्र सभापति शेरबहादुर देउवाइतर समूहमा रहेर राजनीति गर्छन् । क्षेत्रमा भने देउवा समूहको प्रभाव छ । जसकारण देउवानिकट नेताहरुले दुई पटक सांसद भइसकेका नेता सिंहलाई पार्टीको महाधिवेशन प्रतिनिधिमै हराएका थिए भने उम्मेदवार चयनको प्रक्रियामा सिंहको नामै सिफारिस गरेनन् ।

यो क्षेत्रबाट कांग्रेसले महामन्त्री गगनकुमार थापाको नाम सिफारिस गरेर पठाएको थियो । तर थापाले त्यहाँबाट उम्मेदवारी नदिएपछि आफुले टिकट पाउने आशा राखेका सिंहलाई छोडेर सभापति देउवाले पुर्वसांसद नागेन्द्र कुमारलाई टिकट दिएका थिए । कांग्रेसको तीन पटक जिल्ला सभापति भइसकेका कुमार ०५६ मा यही क्षेत्रबाट निर्वाचित थिए भने ०७४ मा समानुपातिकबाट सांसद बनेका थिए । तर नेतृत्वले आफुलाई पाखा लगाएर कुमारलाई टिकट दिएपछि असन्तुष्ट सिंहले बागी उम्मेदवारी दिएका थिए ।

नेता सिंहले १ हजार ७६५ को मतान्तरसहित तेस्रो जित निकालेका छन् । उनले २० हजार १७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५२ मत पाए ।

यहाँ स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२, जनता समाजवादी पार्टी, नेपालका राकेशकुमार मिश्रले ५ हजार ८१३, बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले ५ हजार १५८, जनमत पार्टीका राम बावु रायले ३ हजार ४२९ मत पाएका छन् ।

पार्टीबाट टिकट नपाएका सिंहले दुई वटा गठबन्धन दलको भोट काटेर चुनाव जितेका छन् । यहाँ कांग्रेस र एमाले नेतृत्वका दुई वटा गठबन्धन थिए । कांग्रेसको गठबन्धनबाट कांग्रेसका कुमार उम्मेदवार थिए भने जसपाका मिश्रलाई नेकपा एमालेको साथ थियो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादीले आफ्ना उम्मेदवार उठाएका थिएनन् । तर रातो पासपोर्ट मुद्दा लागेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुमाला यादवले पनि बागी उम्मेदवारी दिएकी थिइन् । गठबन्धनका उम्मेदवार कुमारले पाउने माओवादी केन्द्रको मत यादवले रोकिदिँदा क्षेत्रमा कांग्रेसको एउटा गुटको नेतृत्व गर्ने सिंहले एमाले र लोसपा समेतको मत काटेर जित निकालेका छन् ।

सिंह सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए ।

२०६३ सालको अन्तरिम संसद् सदस्य बनेयता सधैं विवाद र चर्चामा आइराख्ने सिंहको राजनीतिक उचाई ०७० मा तत्कालिन सर्लाही-६ बाट चुनाव जितेपछि थप चुलियो । उनी ०७४ मा सर्लाही-४ बाट निर्वाचित भए ।

तर पटक-पटक सांसद भइसके पनि जिल्ला र क्षेत्रमा पार्टी संगठनमा पकड जमाउन नसकेका उनी महाधिवेशनमा पराजित भएका थिए । त्यसो त ६ महिनाअघि भएको स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा उनीमाथि कांग्रेसको जिल्ला कार्यसमितिले कारवाही नै गरेको थियो ।

यो क्षेत्रबाट ०४८ सालको चुनावमा कांग्रेसकातर्फबाट महन्थ ठाकुर निर्वाचित भएका थिए। त्यसपछिको मध्यावधी चुनावमा पनि उनैले जिते । ०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा उनी कांग्रेस परित्याग गरेर मधेसवादी दल तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार थिए ।

कांग्रेसको तर्फबाट भने अमरेश सिंह उम्मेदवार बने। त्यतिबेला मधेसी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन रायले ठाकुर र सिंहलाई पराजित गरे । पहिलो संविधान सभामा ‘ब्रेक’ भएको कांग्रेसको सिट पुनः ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अमरेश सिंहले फर्काए । उनले ठाकुर र रायलाई हराउँदै जित निकाले।

०७४ सालको निर्वाचनमा उम्मेदवार बनेका शिवपुजन रातो पासपोर्ट बिक्री प्रकरणमा मुछिएपछि उनी चुनाव लड्न पाएनन् । उनको उम्मेदवारी खारेज भएपछि ०७४ को चुनाव अमरेशले जितेका थिए ।

योगेन्द्र मण्डल

नेकपा एमालेले मोरङ-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गर्दा एउटै नाम चर्चामा थियो, र सर्वसम्मत सिफारिस पनि भयो- योगेन्द्र मण्डलको । तर एमालेले टिकट बाँड्दा मण्डल परेनन् । एमाले र जनता समाजवादी पार्टी गठबन्धनबाट यहाँ जसपाका राजकुमार यादव उम्मेदवार भए ।

२५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेर पाँच वर्षअघि राजनीतिमा होमिएका मण्डलले पार्टीबाट टिकट नपाएपछि विद्रोह गर्ने हिम्मत गरे, र पार्टी छोडेर स्वतन्त्र रूपमा उम्मेदवारी दिए । अन्तत: मण्डलले चुनावी परिणामसमेत हात पारेका छन् । मण्डलले दुई गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै ४ हजार ३३४ मतान्तरले चुनाव जितेका छन् ।

मण्डलले २१ हजार ८२० मत ल्याउँदा कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार रहेका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए भने एमाले-जसपा गठबन्धनबाट उम्मेदवार रहेका यादवले १७ हजार ३९० मत पाए ।

लामो समय लघुवित्त क्षेत्रमा जागिर गरेका ५१ वर्ष मण्डललाई क्षेत्रका बासिन्दाले 'जोगी सर'को नामले चिन्छन् । लघुवित्तमा काम गर्दा विपन्न परिवारको सहयोगी बनेका उनले अहिले त्यही सहयोग र सद्भावलाई ब्यालेटमा उतारेका छन् ।

मण्डलले ०५४ सालमा जीवन विकास समाज नामक लघुवित्त संस्था स्थापना गरेका थिए । त्योभन्दा अघि उनी गाउँका विपन्न परिवारका बच्चाहरुलाई ट्युसन पढाउँथे । त्यही बेलादेखि गाउँलेले उनलाई जोगी सर भनेर बोलाए, चिने ।

संस्था स्थापनापछि निरन्तर समाज परिवर्तनका लागि योगदान पुर्‍याएका मण्डलले क्षेत्रको विकाससँगै सामाजिक सुधारलाई चुनावी एजेन्डा बनाएका थिए । गरिबी, अभाव, बेरोजगारीको अन्त्य जस्ता सामाजिक मुद्दा उठाएकै कारण उनले लोकप्रिय मतसहित चुनाव जितेका छन् । त्यसो त यहाँ दुई ठूला पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेसका आफ्नै उम्मेदवार नहुँदा मण्डललाई फाइदा पुगेको देखिन्छ ।

किरणकुमार साह

नेकपा एमालेले जनता समाजवादी पार्टीसँग गठबन्धन गर्दा तराईमा एमालेका चर्चित र लोकप्रिय नेताहरुले नै सिट गुमाए । त्यही विषयलाई लिएर नेता प्रभु साहले त विद्रोह नै गरे । प्रभुसँगै निकट रहेका किरणकुमार साह रौतहट-२ बाट टिकटको आकांक्षी थिए । एमालेले जसपासँग तालमेल गर्दा आफ्नो टिकट खोसिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका साहले स्वतन्त्ररुपमै चुनावी परिणाम हात पारेका छन् ।

साहले पनि दुई ठूला गठबन्धनलाई पराजित गरका हुन् । साहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा आलमले २८ हजार २ सय ४८ मत पाए । आलम कांग्रेसका पूर्वसांसद अफ्ताव आलमका छोरा हुन् ।

ज्यान मुद्दाका आरोपितकोरुपमा जेलमा रहेका आलमले उम्मेदवारी दिन नपाएपछि नेपाल प्रहरीको निरीक्षक रहेका फिरदोस जागिर छोडेर राजनीतिमा होमिएका थिए । ०७४ मा बाबुसँग पराजित भएका साहले यसपटक उनैका छोरालाई पराजित गरेका हुन् ।

तर गठबन्धन हुँदा पनि फिरदोसले पराजय बेहोरे । यहाँ एमाले समर्थित जसपाका उम्मेदवार शैलेन्द्र साह भने तेस्रो भए । उनले २ हजार १ सय ४२ मत पाएका छन् । यो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र हो । यहाँबाट मुस्लिम समुदायबाहिरबाट चुनाव जित्ने साह नै पहिलो उम्मेदवार हुन् ।

लामो समय माओवादीबाटै राजनीति गरेका साह मधेसकेन्द्रित दल हुँदै केही समयअघि एमाले प्रवेश गरेका थिए । साह ०७४ मा भने कांग्रेसका अफ्ताव आलमसँग १ हजार ५५५ मतान्तरले पराजित भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?