१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पाल्पा-१ मा एमालेका आचार्य विजयी

माधव अर्याल

पाल्पा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ पाल्पामा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरमा पराजित गरेका हुन् । 

पाल्पा-१ मा एमालेका आचार्य विजयी

आचार्यले सदर मतमध्ये ३१ हजार १ सय ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले बताए । कांग्रेसका गाहाले २० हजार २ सय ५६ मत पाए । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ मत पाएका छन् । यस क्षेत्रमा २०५१ सालदेखि नेकपा एमालेले प्रतिनिधिसभामा जित हासिल गर्दै आएको छ ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार आचार्यले मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका थिए । पाल्पा क्षेत्र नम्बर १ मा कूल ९६ हजार ३३ मतदाता भए पनि ५८ हजार ४ सय ९१ खसेको थियो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०३९ सालमा विद्यार्थी युनियनको विद्यालय कमिटी राजनीतिमा आबद्ध थिए । २०४८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा लागेका हुन् । २१ वर्षको उमेरमा नेकपा (माले) को गाउँ कमिटि सदस्य भएका थिए ।

२०५० पाल्पा इलाका नम्बर ४ को सदस्य, २०५४ जिल्ला कमिटी सदस्य, २०६६ मा जिल्ला उपाध्यक्ष २०७३ मा अध्यक्ष, २०७३ प्रदेश कमिटी सचिवालय सदस्य रहेका छन् । २०५४ मा साविको रिङनेरह गाविस अध्यक्ष, २०७४ को प्रदेशसभाको क्षेत्र नं. १ (२) मा सदस्य निर्वाचित भएका आचार्य राजनीतिक आन्दोलनमा २०५९ सालमा प्रतिगमनविरुद्धको ७ दिन जेल परेका हुन् । तीन दशकभन्दा लामो राजनीतिको अनवरत यात्रामा रहेका आचार्य संसदीय राजनीति, विकास निर्माणमा अनुभवी नेताका रूपमा चिनिन्छन् । उनले २०६५ मा शिक्षा दिवसको अवसरमा शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।

आचार्य र गाहासहित ६ जना दल र ४ जना स्वतन्त्र उम्मेदवार थिए । मंगोल नेसनल अर्गनाइजेसनका थमनबहादुर बुढा मगरले २ हजार ४५, राप्रपाका ज्ञानबहादुर सिंजालीले २ सय ५८ मत, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले १ सय २१ मत, जसपाका मेहरमान रानाले ८७ मत, स्वतन्त्र उम्मेदवारहरू राजु सुनारले ६८, नारायण न्यौपानेले २७ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । आचार्य त्यसअघि २०५४ सालमा रिङनेरह गाउँपालिका अध्यक्ष भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?