महासचिवको गृहजिल्लामै एमालेलाई प्रतिनिधिसभा न प्रदेशसभा

काठमाडौँ — एमालेको भावी नेतृत्वका रूपमा अगाडि बढेका एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमै एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाममा शून्य भएको छ । महासचिव पोखरेल प्रतिनिधिसभा सदस्यमा पराजित भए भने एमालेका अन्य उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् । 

महासचिवको गृहजिल्लामै एमालेलाई प्रतिनिधिसभा न प्रदेशसभा

प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र रहेको दाङमा लुम्बिनी प्रदेशसभाका ६ निर्वाचन क्षेत्र छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा पनि जित हासिल गर्न नसकेको हो ।दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पोखरेल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । माओवादीकी शर्माले २६ हजार ८ सय ७७ मत ल्याएर जितिन् । पोखरेल शर्माले १ सय ९६ मत ल्याएर विजयी भइन् । यो निर्वाचन क्षेत्रमा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएर निकटतम प्रतिस्पर्धीमा सीमित भए ।

यो निर्वाचन क्षेत्र मातहतका प्रदेशसभा सदस्यका दुई सिटमा पनि एमालेले जित हात पार्ने सकेन । दाङ २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवाहरू निकटतम् प्रतिस्पर्धीमा सीमिति रहे भने गठबन्धनबाट उम्मेदवार बनेका नेताहरू लुम्बिनी प्रदेशसभाका लागि विजयी भए ।

दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (१)बाट कांग्रेसका राजु खनाल निर्वाचित भए । खनाल १५ हजार ६ सय १६ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रदेशसभा उम्मेदवार बलिभद्र राना दोस्रो भए । उनले १४ हजार ४ सय ४९ मत ल्याएका थिए । दाङ २ (२)को प्रदेशसभामा पनि कांग्रेसका प्रचण्डविक्रम न्यौपाने निर्वाचित भए । न्यौपानेले १७ हजार ४ सय ६९ मत ल्याए भने दोस्रो बनेका एमालेका उम्मेदवार गिरीराज केसीले १६ हजार ६ सय ९० मत ल्याए ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट गत २०७८ भदौमा विभाजित भएर गठित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी निर्वाचित भए । मेटमणी चौधरीले एमालेकी शान्ता चौधरीलाई पराजित गरे । शान्ता चौधरी २०७४ पछि एमालेको संसदीय दलको सचेतक थिइन् । एकीकृत समाजवादीका मेटमणिले २६ हजार ५ सय ६३ मत प्राप्त गरी विजय हासिल गर्दा एमालेकी शान्ताले भने २१ हजार ४ सय ७९ मतमात्रै पाए ।

यो क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार दोस्रो भए । दाङ १ (१)को लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका इन्द्रजित थारुले १३ हजार ५ सय ५ मत ल्याएर निर्वाचित हुँदा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे । दाङ १ (२)बाट लुम्बिनी प्रदेशसभा सदस्यमा कांग्रेसका १६ हजार २ सय २२ मत ल्याएर निर्वाचित हुँदा एमालेका कुलबहादुर खत्री क्षेत्री १३ हजार १ सय ७० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।

दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी कोमल वलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरे । गिरी ३६ हजार ८ सय ४२ मत ल्याई विजयी हुँदा वली ७ हजार ८ सय १० को मतान्तरले पराजित भइन् । उनले २९ हजार ३२ मत मात्रै पाइन् ।

यो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भए भने एमालेका उम्मेदवार दोस्रो स्थानमा सीमित बने । दाङ ३ (१)बाट डिल्लीबहादुर चौधरी १९ हजार ८ सय ५० मत ल्याएर निर्वाचित भएका थिए । यहाँबाट लुम्बिनी प्रदेशसभाका लागि उम्मेदवार बनेका एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत पाए । दाङ ३ (२)मा माओवादी केन्द्रका धनबहादुर मास्की निर्वाचित भए । उनले २२ हजार ३ सय २१ मत ल्याएर प्रदेशसभा सदस्य निर्वाचित हुँदा एमालेका हुकुमबहादुर बस्नेत २० हजार १ सय ५८ मत पाएर दोस्रो भए ।

पराजित भएपछि एमाले महासचिव पोख्रेलले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेका थिए । निर्वाचनबारे आफ्नो समीक्षा सुनाउन घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई जनताले संसदीय मोर्चामा नपठाएकाले पार्टी निर्माणमा लाग्ने बताएका थिए । उनले स्थिर राजनीतितर्क्षफ केन्द्रित हुने उनको भनाइ थियो । मुलुकको समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक परेको बताउँदै उनले अब पार्टीको काममा लाग्ने योजना सुनाएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?