पृथ्वीलाई बधाई दिँदै देवले भने :‘दुवै मिलेर वाम एकताको पहल गरौं’

आश गुरुङ

लमजुङ — नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता प्रजातान्त्रिक शक्तिले देसीविदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत गरे ।

पृथ्वीलाई बधाई दिँदै देवले भने :‘दुवै मिलेर वाम एकताको पहल गरौं’

लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले उपमहाचिव गुरुङलाई प्रतिस्पर्धी माओवादी केन्द्रका गुरुङले बधाई दिँदै भने, ‘वाम एकताको पहल तपाईं र मबाटै गरौं ।’ बिहीबार बिहान पौने ४ बजेतिर अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ पृथ्वीसुब्बा बसेको होटल बधाई दिन पुगेका थिए ।

एमालेसँगको तालमेलमा देवप्रसाद गुरुङ २०७४ को प्रतिनिधि तथा प्रदेशसभा चुनावमा विजयी भएका थिए । यसपटक कांग्रेससँगको गठबन्धनमा उनी पराजित भएका छन् । ‘हिजो एमालेसँग गर्दा चुनाव जित्ने । आज कांग्रेससंग गर्दा हार्ने । त्यसैले उहाँको यस्तो अभिव्यक्ति आउन सक्छ,’ पृथ्वीसुब्बानिकट एक नेताले भने ।

गत स्थानीय तह चुनावअघि दुवैजना वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । पार्टी नेतृत्वले उनीहरुको प्रयासलाई सफल हुन दिएनन् । २०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’ को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

२०७४ को चुनावमा एमालेसँगको तालमेलमा देवप्रसाद गुरुङ कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ८ हजार ४ सय १ मतले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनलाई लमजुङबाट चुनावमा लड्न जोडबल गरेका पृथ्वीसुब्बा गुरुङ प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री भए । यसपटक कांग्रेससँगको गठबन्धनमा देवप्रसाद गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ३ हजार १ सय ८८ मतान्तरले पराजित भएका छन् ।

एमाले उपमहासचिवसँग गुरुङसँगको प्रस्तावलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङपत्नी एवं माओवादी केन्द्रका नेता यशोदा सुवेदी (गुरुङ) ले समर्थन जनाउँदै यसतर्फ अघि बढ्न दुवैलाई सुझाव दिएका छन् । यसपटक स्थानीय चुनावअघि वाम शक्तिबीच गठबन्धन गर्नेबारे दुवै नेताबीच छलफल भएको थियो । ‘चुनावअघि गठबन्धनको विषयमा उहाँ र मेरो छलफल भएको हो । तर, सार्थकता पाएन,’ एमाले उपमहासचिव गुरुङले भने ।

२०७४ मा देवप्रसाद गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदीय यात्रा तय गरेका छन् । उनले सत्ता गठबन्धन उम्मेदवार देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाए ।

प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ । बिहीबारको विजय र्‍यालीपछि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुक र देशको समृद्धि साथै लमजुङको विकासमा सधैं अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर ९, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?