कांग्रेस ८, माओवादी ७, नागरिक उन्मुक्ति ४, एमाले ३ र एकीकृत समाजवादी २ र एक स्वतन्त्र सांसद विजयी
धनगढी, कञ्चनपुर — सुदूरपश्चिमका ३२ प्रदेश निर्वाचन क्षेत्रमध्ये बिहीबार अपराह्नसम्म २५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । कांग्रेसले ८ स्थानमा जित हात पार्दै पहिलो स्थानमा छ । माओवादी केन्द्र ७ स्थानमा जित्दै दोस्रो स्थानमा छन् ।
नागरिक उन्मुक्ति पार्टीले ४ सिट जितेर तेस्रो स्थानमा छ । एमालेले तीन सिट र एकीकृत समाजवादीका दुई उम्मेदवारले जितेका छन् । एक स्वतन्त्र उम्मेदवार प्रदेशसभाका प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिएका छन् ।
मुख्यमन्त्रीका दाबेदार पराजित
सुदूरपश्चिमका बहालवाला दुई मन्त्री प्रदेशसभामा पराजित भएका छन् । पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहिसकेकाले मुख्यमन्त्रीको चर्चामा आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले चुनाव जित्न सकेनन् । प्रदेशका सामाजिक विकासमन्त्री कांग्रेसकै गोविन्द बोहरा पराजित भएका छन् । कैलाली १ (२) बाट गठबन्धन दलका साझा उम्मेदवार रहेका मन्त्री रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भएका हुन् । अर्का मन्त्री बोहरा डडेल्धुरा (२) मा गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनी स्वतन्त्र उम्मेदवार तारा जोशीसँग पराजित भए ।
जो दोहोरिए
अघिल्लो प्रदेशसभामा सांसद रहेका चार जना दोहोरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बहालवाला मन्त्री उम्मेदवार बनेका थिए । तीमध्ये दुई जना पराजित भएका छन् । तीन जनाले जित हात पारेर प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि यात्रा तय गर्न सफल भएका छन । उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रहेका माओवादी केन्द्रका मानबहादुर धामी दार्चुला (२) बाट पुनः चुनिन सफल भए ।
यस्तै, आर्थिक मामिलामन्त्री रहेका प्रकाशबहादुर रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कैलाली ४ (१) बाट उम्मेदवारी दिएका भौतिक पूर्वाधार विकास मन्त्री रहेका एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीले पनि जित हात पारेका छन् । प्रदेशसभामा दोहोरिने अवसर प्राप्त गर्ने अर्का सांसद हुन् अछाम निर्वाचन क्षेत्र २ (२) बाट माओवादी केन्द्रका अक्कल रावल । उनले एमाले उम्मेदवार भीमबहादुर विष्टलाई पराजित गरेका हुन् ।
जसले दोस्रो पटक जितेनन्
कञ्चनपुर क्षेत्र नम्बर २ (२) बाट प्रतिस्पर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार लालबहादुर खड्का, कैलाली क्षेत्र नम्बर ३ (२) मा उम्मेदवार रहेका एकीकृत समाजवादीकै अम्मरबहादुर साउद पराजित भएका छन् । बैतडी (२) बाट प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार लीलाधर भट्टले समेत प्रदेशसभाका लागि दोस्रो कार्यकालको यात्रा तय गर्न सकेनन् । अबको प्रदेशसभामा प्रत्यक्ष निर्वाचितहरूमध्ये अन्य सबै नयाँ अनुहार छन् । अनुहार मात्रै नयाँ नभई अबको प्रदेशसभामा नयाँ दलको पनि उपस्थिति हुनेछ ।
गठन भएको एक वर्ष पनि पूरा नभएको नागरिक उन्मुक्तिले कैलालीमा पुराना दलहरूलाई धक्का लगाउने गरी जित प्राप्त गरेको छ । यो समाचार तयार गर्दासम्म चार जना नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भइसकेका छन् । यदि उक्त पार्टी राष्ट्रिय दल बन्न सकेको अवस्थामा सांसद संख्या थपिनेछ । सत्ता समीकरणमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थान ओगट्नेछ । कैलालीमै पनि केही निर्वाचन क्षेत्रको अझै अन्तिम नतिजा आएको छैन ।
कैलाली १ का दुईवटै प्रदेश निर्वाचन क्षेत्र र कैलाली ३ को पनि दुईवटैमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् ।हालसम्म कैलालीबाटै नागरिक उन्मुक्तिका कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरीको प्रदेशसभा यात्रा तय भइसकेको छ । कांग्रेस उम्मेदवारहरू कैलाली ४ (२) बाट प्रकाश बम, बझाङका पृथ्वीबहादुर सिंह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा, बेलबहादुर रानामगर, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामी पहिलो पटक प्रदेशसभामा जाँदै छन् ।
माओवादी केन्द्रबाट बझाङबाट भीम भण्डारी, अछामबाट झपट साउद, डोटीबाट शिवसिंह ओली, कञ्चनपुरबाट ओमविक्रम भाट, डडेल्धुराबाट खगराज भट्ट पहिलो पटक प्रदेशसभा बैठकमा टेक्नेछन् । एमालेबाट बैतडीका सुरेन्द्र पाल, डोटीका चक्र मल्ल र कञ्चनपुरका वीरबहादुर थापा पनि पहिलो पटक प्रदेश सांसद चुनिएका हुन् । स्वतन्त्र उम्मेदवार रहेका डडेल्धुराका तारा जोशीको प्रदेशसभा यात्रा पनि पहिलो पटक हुन लागेको हो ।
कञ्चनपुरमा मिश्रित परिणाम
प्रदेशसभातर्फ कञ्चनपुरमा मिश्रित परिणाम आएको छ । प्रदेशसभाका ३ क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक क्षेत्रमा जित निकालेका छन् । प्रतिनिधिसभाको क्षेत्र २ को प्रदेश १ र २ मा गठबन्धनका उम्मेदवार क्रमशः माओवादीका ओमविक्रम भाट र कांग्रेसका बहादुरसिंह थापा बुधबार नै निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाको क्षेत्र नं. १ को प्रदेशसभा १ मा एमालेका वीरबहादुर थापा र २ मा कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भए । यसैगरी क्षेत्र नं. ३ को प्रदेशसभा १ मा एकीकृत समाजवादीका प्रकाश रावल र २ मा कांग्रेसका बेलबहादुर राना निर्वाचित भए । प्रदेशसभा १ (१) मा एमालेका थापा कांग्रेसका बन्धु रानालाई १ हजार ३ सय ५३ मतले पराजित गर्दै विजयी भएका हुन् । थापाले १२ हजार ३ सय ५९ मत प्राप्त गरे । गठबन्धनका उम्मेदवार रानाले ११ हजार ६ मत प्राप्त गरे । ४९ हजार ६ सय ५२ मतदाता रहेको क्षेत्र नं. १ (१) मा ३१ हजार ८ सय ९७ मत खसेको थियो । जसमध्ये १ हजार ५ सय ६२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा १ (२) मा कांग्रेसका विष्टले निकटतम प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टलाई ९ सय १७ मतले पराजित गरे । विष्टले ८ हजार ५ सय २० र एमालेका भट्टले ७ हजार ६ सय ३ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गरेको छैन । ४९ हजार ४ सय ५८ मतदाता रहेको क्षेत्र नं. १ (२) मा ३१ हजार ६ सय ४२ मत खसेको यियो । जसमध्ये १ हजार ५ सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा ३ को प्रदेशसभा (१) बाट एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीलाई १ हजार ८ सय ६० मतले पराजित गरेका हुन् । रावलले ८ हजार ७ सय १८ मत र जोशीले ६ हजार ८ सय ५८ मत पाए ।
यसैगरी ३ (२) मा कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र विष्टलाई ५ हजार ६ सय ४ मतले पराजित गरेका हुन् । रानाले १६ हजार १ सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार ५ सय ४८ मत प्राप्त गरे । क्षेत्र नं. ३ (२) मा ३० हजार ६ सय ६४ मत खसेको थियो । १ हजार ३ सय ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बझाङमा गठबन्धन
बझाङबाट प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं १, मा गठबन्धनका कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंह र क्षेत्र नं २ मा माओवादीका भीम भण्डारी विजयी भएका हुन । निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका सिंहले एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले हराए । मतगणनाको सुरुदेखि नै अग्रता लिएका सिंहले १७ हजार १ सय १२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याएका थिए । निर्वाचित सिंह कांग्रेसका पूर्वपार्टी सभापति हुन् ।
जितपछि प्रतिक्रिया दिँदै सिंहले सबै जिल्लावासीको सरसल्लाहमा विकास र समृद्धिको काममा लागिपर्ने बताए । यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा माओवादीका भण्डारीले २ हजार ५ सय ४२ मतान्तरले एमालेका उम्मेदवार लालबहादुर रावललाई पराजित गरेका छन । जिल्ला निर्वाचन अधिकारी विमलकुमार अधिकारीका अनुसार भण्डारीले १३ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका रावलले ११ हजार ३ सय ३७ मत प्राप्त गरे ।
प्रकाशित : मंसिर ९, २०७९ ०८:४६