१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चितवनमा प्रमुख दल निरीह

प्रतिनिधिसभाका २ क्षेत्रमा रास्वपाको एकतर्फी जित, गणना जारी क्षेत्र–३ मा राप्रपालाई भारी अग्रता
रमेशकुमार पौडेल

चितवन — आसन्न निर्वाचनको मत परिणाम आउँदै गर्दा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र रहेको चितवनमा प्रमुख दलहरू सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्ष एमालेको अवस्था नाजुक देखिएको छ । हालसम्म प्रतिनिधिसभाका २ र प्रदेशसभाका ५ क्षेत्रको नतिजा आइसकेको छ ।

चितवनमा प्रमुख दल निरीह

जसमध्ये प्रतिनिधिसभातर्फ क्षेत्र–१ र २ मा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एकतर्फीजस्तै मत गयो । प्रदेश सभातर्फका ५ क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस र एकीकृत समाजवादीले समान १/१ र एमालेले २ स्थानमा जित निकाल्दा एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विजयी भए । गणना भइरहेको क्षेत्र–३ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई राप्रपाका विक्रम पाण्डेले फराकिलो मतान्तरले पछाडि पारेका छन् । गणना जारी रहेको प्रदेशसभाको एक क्षेत्रमा माओवादीका उम्मेदवार अगाडि छन् ।

रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा प्रमुख दलका उम्मेदवारहरू धेरै मतले पछाडि परे । चितवन–२ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सो क्षेत्रमा कुल ८३ हजार ९ सय ६३ मत खसेको थियो । विजयी उम्मेदवार लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याए, जुन खसेको मतको झन्डै ५९ प्रतिशत हो । लामिछानेका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याए । २०७० को संविधानसभा सदस्य निर्वाचन र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाटै विजयी भएका एमालेका कृष्णभक्त पोखरेल यो पटक भने तेस्रो स्थानमा रहे । उनले १४ हजार ६ सय ४७ मत पाए ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वीभन्दा ३४ हजार बढी मत ल्याए । दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारले पाएको कुल मतभन्दा उनको मत २० हजारभन्दा बढी छ । २०७४ मा प्रतिनिधिसभामा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धीभन्दा १७ हजारभन्दा बढी मत ल्याएका पोखरेलले यो पटक त्यो मतान्तरभन्दा पनि ३ हजार कम मत पाए । यो क्षेत्रमा लामिछानेलाई एकतर्फीजस्तो मत प्राप्त भएको हो ।

चितवन–१ को अवस्था यो हदसम्म नगए पनि प्रमुख दलका प्रभावशाली नेताहरू रास्वपाकै युवा उम्मेदवार हरि ढकालसामु फिक्का देखिए । यो क्षेत्रमा कुल ९५ हजार ४१ मत खसेको चितवन–१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । अन्तिम मत परिणामअनुसार ढकालले ३४ हजार १ सय ८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु चितवनको पूर्वसचिवसमेत रहेका ढकाल केही वर्षयता सेयर कारोबारमा क्रियाशील थिए ।

पाण्डे भने यही क्षेत्रबाट पछिल्ला दुवै संसदीय निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए । उनी अर्थमन्त्रीसमेत भए । लामो राजनीतिक अनुभव बटुलिसकेका पाण्डे एमालेका केन्द्रीय उपाध्यक्ष पनि हुन् । यो क्षेत्रमा सत्तारूढ गठबन्धनले कांग्रेसका विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको थियो । अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा १४ महिने यात्रामा बिट मार्दै चुनावी मैदानमा होमिएका थिए । उनी २४ हजार ९ सय ९० मत ल्याएर तेस्रो स्थानमा रहे ।

चितवन–३ मा सत्ता गठबन्धनले माओवादीका अधिकारीलाई उठाएको छ । मतगणना जारी रहेको यो क्षेत्रमा राप्रापाका पाण्डे शीर्ष स्थानमा छन् । यहाँ एमालेले उम्मेदवार नै कायम राखेन । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका निलम्बित केन्द्रीय सदस्य दिनेश कोइरालालाई उसले समर्थन गरेको थियो । तर, हालसम्म कोइराला चौथो स्थानमा छन् । बरु रास्वपाकी जिता बराल उनीभन्दा अघि देखिएकी छन् । चितवनका सवै क्षेत्रमा प्रमुख दलहरूले यो पटक नयाँ र यसअघि संसद्मा रहेको सांसद संख्याका आधारमा साना भनिने दलहरूबाट राम्रै चुनौती खेप्नुपर्‍यो ।

चितवनको राजनीतिक दलहरूको अवस्था र चुनावी इतिहासबारे अध्ययन गरेर पुस्तकसमेत लेखेका प्रध्यापक राजेन्दप्रसाद्र रेग्मी चितवनका मतदाता सत्ता निकटका दलहरूलाई मन नपराउने मनोभावनामा रहने गरेको बताउँछन् । २०३७ सालको जनमतसंग्रहमा निर्दलभन्दा बहुदल रोजेको जिल्ला हो चितवन । त्यसैगरी, निर्दलीय रूपमा भएका राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा पनि पञ्चायतविरोधी वामपन्थीहरू जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठलाई निर्वाचित गर्ने जिल्ला हो चितवन । बहुदलपछि भएका हरेक निर्वाचनमा फरक–फरक नतिजा आएको छ । २०४८ सालमा सबै क्षेत्रमा वामपन्थीहरू विजयी हुँदा २०५१ सालमा वामपन्थी र कांग्रेसले आधा–आधा क्षेत्रमा जिते ।

२०५६ मा सबै क्षेत्रमा कांग्रेस विजयी भयो । संविधानसभाको पहिलो निर्वाचनमा सबै क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भए । २०७० सालमा २/२ क्षेत्रमा एमाले र कांग्रेस तथा एउटामा राप्रपा विजयी भए । त्यो बेला माओवादीका उम्मेदवारहरू सबै क्षेत्रमा पराजित भए । २०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारहरूले जित हात पारे । यो पटक नतिजा आएको प्रतिनिधिसभाका दुवै क्षेत्रमा नयाँ दलको लहरसामु प्रमुख दल टिक्न सकेनन् । नतिजा आउन बाँकी एउटा क्षेत्रमा पनि राप्रपा अगाडि छ । ‘प्रमुख दलहरू कमजोर भएका कारणले यसो भयो । सरकारमा जाँदा गरेको कामले मतदाताको मन जितेन । कतै त दोहोरिएर तेहरिएर पनि उम्मेदवार उठे । जनताका समस्यामा जिल्लाका दलहरूले राम्रो भूमिका नखेल्दा पनि नयाँ दल र उम्मेदवारप्रति मतदाताको मन सोहरिएको हुन सक्छ,’ कुनै बेला राजनीतिमा सक्रिय रही हाल समाज अध्ययनमा लागेका डिल्लीराम पोखरेलले भने ।

चितवनमा दलहरूको आन्तरिक खिचातानी पनि कम थिएन । माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गएका कारण २०७४ को स्थानीय निर्वाचनदेखि सुरु भएको चितवन कांग्रेसभित्रको किचलो यो पटक स्थानीय हुँदै संसदीय निर्वाचनसम्मै कायम रह्यो । २०७० मा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी उठेका कारण कारबाही भोगेका पार्टीका पूर्वजिल्ला सभापति विकास कोइरालाले पनि यो पटक खुलेरै पार्टी नेतृत्वको आलोचना गरे । कांग्रेसले उठाएका प्रतिनिधिसभाका दुवै उम्मेदवार जिल्लाको राजनीतिमा भिजेका थिएनन् । पार्टी सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवानिकट रहेका कारण टिकट पाएको भनेर चितवन कांग्रेसभित्रै असन्तुष्टि चर्केको थियो । एमालेभित्र पनि फुटको असर पर्‍यो । यी सबैको फाइदा ‘टेलिभिजन कार्यक्रमबाट ख्याति कमाएका, बोल्न सक्ने कला र खुबी भएका लामिछानेले उठाए,’ भन्छन् पोखरेल ।

चितवन–३ मा ५ वर्षअघि निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणको राम्रै काम गरेको दाबी उनका कार्यकर्ताहरू गर्छन् । तर, यसपल्ट उनी एकाएक अन्तिम समयमा गोरखा गएर उठे । कुनै बेला दाहालसँगै राजनीति गरेका पोखरेलले लामिछाने यहाँ आउने थाहा पाएर नै दाहाल गोरखा गएको अड्कल काटेका थिए । चुनावी नतिजा हेर्दा त्यो सही भएको पोखरेलको भनाइ छ ।

‘दाहालले न वर्गको राजनीति गरे, न क्षमता भएकालाई अगाडि बढाउने काम गरे । त्यसैले चुनावमा गाह्रो हुने देखेर उनी सुरक्षित ठाउँतिर लागेका हुन् । राजनैतिक सुधार र संगठन निर्माणमा उनले के गरेका रहेछन् भन्ने हेर्न आज उनले छाडेको ठाउँमा राप्रपाका उम्मेदवारले लिएको अग्रताले नै प्रस्ट पार्छ,’ पोखरेलले भने ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?