जंगलराजको अन्त्य भयो : राउत

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टीका अध्यक्ष सिके राउतले यो निर्वाचनसँगै जंगलराजको अन्त्य भई सुशासन युगको सुरुवात भएको बताएका छन् । 

जंगलराजको अन्त्य भयो : राउत

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक वक्तव्य जारी गर्दै राउतले यस निर्वाचनसँगै देश र मधेसको राजनितीमा नयाँ युगको सुरुवात भएको बताएका छन् । ‘यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो,’ राउतले भनेका छन्, ‘यो जंगलराजको अन्त्य र सुशासनको युगको सुरुवात हो ।’

‘विभेद र अन्यायको युगको अन्त्य र सामाजिक न्यायको युगको सुरुवात हो,’ अध्यक्ष राउतले भने, ‘यो समग्र जनताको जित हो । जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

सप्तरी जिल्लाबाट प्रतिनिधिसभा सदस्यको हैसियतमा आफ्नो पहिलो जिम्मेवारी सप्तरीको राजनैतिक,संस्कृती र संस्कारको पुर्नउत्थान रहेको बताउँदै उनले गजेन्द्रनारायण सिंहले चलाउने गरेको सप्तरी सेवा आश्रम स्वरुपकै एउटा आश्रम संचालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्क स्थलको रुपमा प्रयोग गर्ने बताएका छन् ।

देशको साक्षरता दर करिब ६६ प्रतिसत हुँदा सप्तरीको केवल ५४ दसमलव ५ रहेको बताउँदै राउतले सप्तरी जिल्लालाई शतप्रतिसत साक्षर जिल्ला बनाउन युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन गरी परिचालन गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालकोअन्त्यसम्म पूर्ण साक्षर जिल्ला बनाइएने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियानमा शिक्षा,स्वास्थ्य,रोजगारीसहित किसान आन्दोलनका मागहरू सम्बोधन गर्न गम्भीर रहेको बताउँदै राउतले त्यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उनले आग्रह गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा राउतले सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?