कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

तेह्रथुम प्रदेशसभा-२ बाट माओवादी केन्द्रका चापागाईं विजयी

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका-५ छातेढुंगाका ३९ वर्षीय दुर्गाप्रसाद चापागाईं तेह्रथुम प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चापागाईं ८ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएका हुन् । 

तेह्रथुम प्रदेशसभा-२ बाट माओवादी केन्द्रका चापागाईं विजयी

नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वालाई २ सय ९४ मतले पछि पार्दै चापागाईं निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार कन्दङ्बाले ८ हजार १ सय मत प्राप्त गरेका छन् । २०५२ सालदेखि देखि नै माओवादी राजनीतिमा लागेका चापागाईंसँग माओवादीमा विद्यार्थी, पार्टीको जनसंगठन परिचालन, नीति निर्माण बनाउने तथा लडाकुका रूपमा सशस्त्र विद्रोहमा सहभागीको अनुभव छ । शान्ति प्रक्रियापछि उनी पार्टीको जिल्ला ईन्चार्ज तथा अध्यक्षसमेत भएका थिए ।

आफूभन्दा झण्डै दोब्बर बढी उमेरका कन्दङ्बालाई पछि पार्दै चापागाईं जिल्लाको राजनीतिमा उदाएका छन् । उनको क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गरी तीन गाउँपालिका छन् । ०७० मा चापागाईंले संविधानसभा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यसबखत उनले जिल्लामा तेस्रो मत प्राप्त गरेका थिए । ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा तीनवटै स्थानीय तहमा एमाले विजयी भएको थियो । तर गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने मेन्छ्यायेम गाउँपालिकाबाहेक अन्य दुईमा गठबन्धनको सहयोगमा कांग्रेस विजयी भएको थियो । आफै पार्टी अध्यक्ष र निवर्तमान प्रदेशसभा सदस्य रहेका कन्दङ्वाले अघिल्लो पटकको त्यो बिरासत जोगाउन सकेनन् ।

आफ्नो क्षेत्रमा युवा मतदाता थपिएको र कसलाई मत दिंदा काम गर्न सक्छ ? भनेर निर्णय गर्न सक्ने अवस्थामा धेरै मतदाता पुगेकाले आफ्नो जित भएको चापागाईंको प्रतिक्रिया छ । ‘म यसअघि टेष्ट नभएको उम्मेदवार भएकाले पनि मेरो पक्षमा धेरै मतदाता लागे’ चापागाईंले भने । उनले अब जिल्लाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।

एमालेको पकड रहेको यो क्षेत्र अध्यक्ष केपी शर्मा ओली, कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, सीपी मैनाली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको जन्मस्थान समेत हो ।

प्रकाशित : मंसिर ८, २०७९ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?