कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धनलाई हराउँदै रौतहट-२ मा स्वतन्त्रबाट साह विजयी

शिव पुरी

रौतहट — प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् ।

सत्ता गठबन्धनलाई हराउँदै रौतहट-२ मा स्वतन्त्रबाट साह विजयी

साहले ३२ हजार ८४२ मत ल्याउँदै विजयी भएको मुख्य निर्वाचनको कार्यालय गौरले जनायो । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए । मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलो पटक विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद आफताव आलमका जेठो छोरा हुन् । लामो समय माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए । पार्टीले टिकट नदिएको र उनको क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका हुन् ।

प्रभुले नै उनलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका हुन् । एमाले जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहले २ हजार १४२ मत पाए । एमालेका मधेशप्रदेश सदस्य समेत रहेका शैलेन्द्र जसपाबाट टिकट लिएर चुनाव लडेका हुन् । उनले अन्तिम समयमा किरणलाई समर्थन गरेका थिए ।

किरण २०७४ को संसदीय चुनावमा पूर्व मन्त्री आफताव आलमसित १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । अहिले आफतावका छोरा फिरदोस सित आमनेसामने भए ।

रौतहटको चारवटै क्षेत्रको प्रतिनिधि र प्रदेशसभाको मतगणना सकिएको जिल्ला निर्वाचनको कार्यालयले जनायो । क्षेत्र नम्बर १ मा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, २ मा स्वतन्त्रबाट किरण साह, ३ मा प्रभु साह र ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिनाले जितेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?