काठमाडौं-५ : नरहरिले बसाएको जगमा प्रदीपको उदय- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

काठमाडौं-५ : नरहरिले बसाएको जगमा प्रदीपको उदय

प्रकाश धौलाकोटी

काठमाडौँ — ‘घरदैलोमा धेरै मतदातालाई भेटेँ, नमस्कार गरेँ । र आफ्ना कुरा राख्न खोजेँ । तर, कतिपयले मेरो कुरा सुन्नै चाहनुभएन, मुन्टो बटारेर हिँड्नुभयो । नेताले चुनावको बेला जे पनि बोल्छन्, पूरा गर्ने होइनन्, किन सुन्ने ? भन्ने धारणा बनेको रहेछ,’ मंसिर १ गते काठमाडौंको महाराजगञ्जमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस नेता प्रदीप पौडेलले प्रश्न गरेका थिए, ‘मैले आफ्नो कुरा राख्नै नपाउने हो भने मैले सबै नेता उस्तै हुँदैनन्, वचनको पक्का, इमान्दार र असल पनि हुन्छन् भनेर कसरी बुझाउने ?’ 

चुनावी प्रचारको अन्तिम दिन पौडेलको अभिव्यक्तिमा उत्साहभन्दा धेरै निराशा झल्किन्थ्यो । तर, त्यही मञ्चबाट कांग्रेसका पूराना नेता नरहरि आचार्यले भन्दै थिए, ‘प्रदीप पौडेल नयाँ पुस्ता हुन् । युवा हुन् । यिनको विचार र कार्यशैलीमा नयाँपन छ । यिनले चुनाव जितेर देशमा परिवर्तन ल्याउन सक्छन् । त्यसैले म पनि प्रदीपकालागि भोट माग्न आएको छु ।’

आचार्यले त्यो मञ्चमा मात्रै होइन, अस्वस्थताका बाबजुद चुनावी घरदैलो र मतदाताको भेलासम्म पुगेरै पौडेलका लागि त्यसै गरी भोट मागेका थिए । पौडेललाई जिताउन आचार्यको ठूलै जोडबल थियो । अन्ततः आचार्यले बसाएको राजनीतिक जगबाटै प्रदीप पौडेलले संसद्को यात्रा तय गरेका छन् ।

एकातिर हेभिवेट प्रतिस्पर्धी, अर्कोतिर पूराना दलप्रतिको निराशालाई एजेन्डा बनाएका नयाँ दल र स्वतन्त्र उम्मेदवार । पौडेलले काठमाडौं–५ मा चुनावी परिणाम निकाल्ल धौ धौ पर्ला भन्ने धेरैको अनुमान थियो । तर, तनहुँमा धेरै नेता हुँदा अवसर नपाएर लखेटिएका पौडेलले ‘टुरिष्ट उम्मेदवार’ को आरोप खेप्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पाँच हजार मतान्तरले चुनाव जितेर अनपेक्षित परिणाम निकालेका छन् ।

काठमाडौंका १० मध्ये चार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ उम्मेदवारले जिते । काठमाडौं–५ मा पनि रास्वपाको उम्मेदवारी थियो, स्वतन्त्र उम्मेदवारमात्रै १४ थिए । अझ कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका प्रणयशमशेर जबराले रास्वपाबाट उम्मेदवारी दिएका थिए ।

विश्लेषकहरू त्यतिका चुनौतीमाझ काठमाडौं–५ का मतदाताको निर्णय विवेकपूर्ण देखिएको बताउँछन् । ‘सहरी क्षेत्रमा युवा र स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखियो । तर, त्योभन्दैमा सबै युवाले, स्वतन्त्रले मत पाएनन्,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘त्यसको उदाहरण काठमाडौं–५ पनि हो । त्यसरी हेर्ने हो भने मतदाताले पुराना दलप्रति होइन, दलमा दोहोरिरहने नेतृत्वप्रति वितृष्णा व्यक्त गरेको देखिन्छ ।’

कांग्रेस नेताहरू पौडेलको जितमा पूराना नेता नरहरि आचार्यको भूमिकालाई अर्थपूर्ण भन्छन् । ‘यो क्षेत्रमा नरहरिको छुट्टै प्रभाव रहेछ, नरहरि दाइ आँफै उम्मेदवारझैँ भएर खुलेर मैदानमा आइदिनुभयो, बोलिदिनुभयो,’ पौडेलको अभियानमा नजिकबाट संलग्न भएका एक नेताले भने, ‘प्रदीपजीको जितमा नरहरि दाइको भूमिका निर्णायक भयो ।’

कांग्रेसबाट राष्ट्रियसभा सदस्य, सांसद र मन्त्री तथा पार्टीको प्रवक्ता समेत भइसकेका नेता आचार्य हृदयघात भएर थलिएपछि केही वर्षदेखि राजनीतिमा निष्क्रिय छन् । तर, काठमाडौं–५ उनको राम्रो प्रभाव भएको क्षेत्र हो । उनले ०६४ र ०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए । उनी बिरामी परेपछि ०७४ को निर्वाचनमा कांग्रेसले यहाँबाट प्रकाशशरण महतलाई उठायो । त्यो बेला उपचाररत रहेका आचार्य पनि निस्किएनन्, र महत पराजित भए ।

त्यसो त यसपटक पनि काठमाडौं–५ मा कांग्रेसलाई चुनाव जित्न सहज थिएन । स्थानीय निर्वाचनको परिणामअनुसार काठमाडौं–५ मा एमाले नेता पोखरेल नै सहज अवस्थामा थिए । वडाध्यक्षको मत हेर्दा यहाँ एमालेको १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, नेकपा एकीकृत समाजवादीको १ हजार ८२७ र माओवादी केन्द्रको १ हजार १६८ मत थियो । त्यसआधारमा पोखरेल गठबन्धनभन्दा एक हजार ८५५ मतले अघि थिए ।

तर, युवामाझ लोकप्रिय पौडेलको उम्मेदवारीले क्षेत्रमा जनलहर सिर्जना भएको नेताहरू बताउँछन् । तनहुँको शुक्लामा जन्मिएका प्रदीप पौडेलले काठमाडौं आएर पढे । यतैबाट विद्यार्थी राजनीति गरे । पछि पार्टी राजनीतिमा सक्रिय हुँदासम्म अब उनी काठमाडौंको बानियाँटारका स्थायीबासी हुन् । तर, उनले राजनीतिक कार्यथलोकोरुपमा भने तनहुँलाई नै रोजेका थिए । नेविसंघबाट अस्कल क्याम्पसको स्ववियू सभापति बनेका पौडेल ०६४ सालमा नेविसंघको केन्द्रीय सभापति थिए । ०६७ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका उनी अहिले तेस्रो पटक केन्द्रीय सदस्य छन् । उनी ०७० र ०७४ मा पनि तनहुँबाट टिकटका दाबेदार थिए ।

नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै लोकप्रिय केन्द्रीय सदस्य हुँदासम्म पनि तनहुँबाट उनले मौका पाएनन् । तनहुँको राजनीतिक शक्ति संघर्षका कारण उनको टिकट खोसिने गरेको थियो ।

तनहुँमा कांग्रेसभित्र त्रिपक्षीय शक्ति संघर्ष छ । नेता रामचन्द्र पौडेल ०४८ देखि निरन्तर तनहुँ–१ बाट चुनाव लड्छन् । सभापति शेरबहादुर देउवानिकट नेता शंकर भण्डारी र गोविन्द भट्टराई पनि त्यही क्षेत्रका बासिन्दा हुन् । त्यही शक्ति समीकरणमा केन्द्रमा कृष्णप्रसाद सिटौलासँग नजिकिएका पौडेलले तनहुँ–२ बाट टिकटको दाबी गर्थे । तर, सभापति देउवाले उनको सट्टा त्यो क्षेत्रबाट शंकर भण्डारीलाई मौका दिए । संघ नपाएपछि प्रदेशमा टिकट पाएका पौडेल ०७४ को चुनावमा तनहुँ–२ (१)बाट प्रदेशसभा सदस्यमा पराजित भए ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा देउवा समुहबाट महामन्त्रीको प्रत्यासी बनेका पौडेल यसपटक पनि तनहुँबाटै टिकटका आकांक्षी थिए । ‘मेरो प्राथमिकता तनहुँ–२ हो, तर त्यहाँ नभए मलाई पार्टीले जहाँ उभ्याए पनि हुन्छ भनेको छु,’ टिकट वितरणको रस्साकस्सी चलिरहेका बेला पौडेलले इकान्तिपुरसँग भनेका थिए, ‘जतिसुकै जोखिमयुक्त ठाउँ किन नहोस् ? पार्टीले मौका दियो भने म उभिन्छु ।’

जोखिम मोल्न तयार भएका पौडेललाई कांग्रेसले काठमाडौं–५ मा उभ्याएको थियो । सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुबाट एसएलसी गर्दा र अस्कल क्याम्पसबाट बीएससीसम्म पढेर राजनीति गर्दादेखिको काठमाडौं–५ सँगको संसर्ग परीक्षणको बेला भएको थियो ।

२३ असोजमा पार्टीबाट टिकट लिएर मनोनयन दर्ता गराएका पौडेलले २६ असोजमा नेता नरहरि आचार्यलाई भेटेर आशिर्वाद लिएका थिए । ‘यहाँका मतदाता शिक्षित छन्, विवेकशील छन् । तिमीले जित्छौ । बरु जितेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सँधै नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्नू, मेरो शुभकामना छ,’ प्रदीपलाई आचार्यले भनेका थिए ।

नभन्दै काठमाडौं–५ का मतदाताले पौडेललाई जिताएका छन् । बौद्धिक नेता नरहरि आचार्यले बसाएको राजनीतिक जग पौडेलको जितको आधारमात्रै होइन, अब राजनीतिक कार्यथलो समेत बनेको छ । पौडेललाई पार्टीको महामन्त्रीकालागि अघि सार्ने नेता कृष्णप्रसाद सिटौला झापा–३ मा दोस्रोपटक पराजित हुँदा पौडेलले भने पहिलो पटक संसद्को यात्रा तय गरेका छन् ।

पौडेलले १४ हजार २३७ मत ल्याएर जितेका छन् भने यहाँ एमालेका पोखरेलले १० हजार १७५, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणले ५ हजार ४७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेतीले ३ हजार १५५, स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७६१, हेमराज थापाले २ हजार ४४०, सुशान्त श्रेष्ठले १ हजार ७११, शैलेस डंगोलले १ हजार १२२ र रन्जु न्यौपानेले ६ सय मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटमा प्रभु साह लगातार चौथोपटक विजयी

शिव पुरी

रौतहट — रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे ।

साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

निर्वाचन अधिकृत मेघनाथ चापागाईंका अनुसार स्वतन्त्र उमेदवार साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए ।

माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका थिए । सत्ता गठबन्धनले सघाउने भने पनि साह विरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकट कार्यकर्ताहरूको आरोप छ ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×