३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मोरङ ५ : स्वतन्‍त्र उम्मेदवार मण्डलले दुई गठबन्धनलाई यसरी हराए

विनोद भण्डारी

(विराटनगर) — मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन सहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका छन् ।

मोरङ ५ : स्वतन्‍त्र उम्मेदवार मण्डलले दुई गठबन्धनलाई यसरी हराए

मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन । यो क्षेत्रमा प्रदेश सभा सदस्यमा भने सत्ता गठबन्धनमा कांग्रेसका गयानन्द मण्डल र अमृत अर्याल विजयी भएका छन् ।

योगेन्द्रलाई एमालेले उक्त क्षेत्रवाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

यो क्षेत्रमा कांग्रेस र एमालेको आ–आफनो उम्मेदवार नहुँदा आक्रोशित दुई दलका कार्यकर्ताले मण्डललाई समर्थन गर्दा उनको जीत निश्चित भएको हो । सत्ता गठबन्धनमा कांग्रेसले यो क्षेत्र माओवादी केन्द्रलाई छाडेर प्रदेश सभाका दुवै क्षेत्र आफनो पक्षमा राखेको थियो । त्यसैगरी एमालेले जसपालाई छाडेर प्रदेश सभाको एक क्षेत्र आफ्नो पक्षमा राखेको थियो ।

मण्डल यो क्षेत्रका रैथाने पनि हुन् । तत्कालीन अमाहीवरीयाती तथा हालको धनपालथान २ स्थायी घर भएका योगेन्द्र मुलुककै ठुलो लघुवित्त संस्था मध्येको जीवन विकास समाजका सञ्चालक हुन् । उनका दाजु मुसहरु मण्डल भने एमालेबाट धनपालथान गाउँपालिका प्रमुखमा दुई पटक पराजीत भएका थिए ।

विज्ञान संकायमा स्नातक गरेका ५१ वर्षीय योगेन्द्र क्षेत्र नम्बर ५ का परिचित समाज सेवी हुन् । उनले जीवन विकास समाजको नाममा विपन्न परिवारको घर निर्माण गर्ने, रोजगारी दिने र विपन्न परिवारका सन्तानलाई गुणस्तरीय शिक्षा दिन धनमपालथानमा विद्यालय स्थापना गरेर कक्षा १० सम्म अंग्रेजी माध्यमबाट न्यूनतम शूल्कमा पढाइ सञ्चालन गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा कृषि कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् ।

२०६४ सालदेखि यो क्षेत्रमा जोडिएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार मण्डल स्वतन्त्र उम्मेदवारसँग ४ हजार ३ सय ३४ मतान्तरले पराजित हुनुलाई यहाँ गठबन्धन कार्यान्वयनु नहुनु र लामो समयदेखि एकै दल र एकै नेता जनता समक्ष आउनु नै यस क्षेत्रका बुद्धिजिवीले ठहर गरेका छन् ।

त्यही क्षेत्रमा पर्ने जनता क्याम्पस रंगेलीका सहायक प्रमुख सुरेन्द्र बस्नेतका अनुसार मुलुकभरी जनताले नयाँ नेतृत्व खोजेको समयमा मोरङ ५ मा डेढ दशकदेखि एकै दल र एकै अनुहारलाई मन नपराउनु स्वाभिक हो । 'चिनिएका नेता र दलसँग जनता आक्रोशित छन्,' उनले भने,' मण्डल पनि त्यसकै शिकार भए ।'

उनी २०६४ सालको संविधान सभा निर्वाचनपछि समानुपातिकबाट यो क्षेत्रबाट सभासद बनेका थिए । त्यसपछि २०७० को संविधान सभा र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी यो क्षेत्रबाट विजयी भए ।

स्थानीय इश्वर पोखरेलले भने,'इमान्दारिताका साथ गठबन्धन कार्यान्वयन नहुनुपनि मण्डलको हारको अर्को कारण हो ।' उनले लामो समयदेखि मण्डल यो क्षेत्रमा निर्वाचन लड्दै आउँदा मतदाताले सधैं उही नेता भन्ने प्रचार गरेको पनि पाइएको जानकारी दिए । चुनाव प्रचार प्रसारका क्रममा अधिकांस स्थानमा जनताले मण्डललाई विरोध समेत गरेको पोखरेलको भनाइ छ ।

प्रकाशित : मंसिर ८, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?