कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीमा कांग्रेस नेताको घरमा कार्यकर्ताहरूको नाराबाजी- ‘अन्तर्घाती मुर्दावाद’

दीपक परियार

पोखरा — कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा अन्तर्घातका कारण यसपटकको चुनावमा पराजय बेहोर्नुपरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले पूर्व जिल्ला सभापति कृष्ण केसीको घर अगाडि नाराबाजी गरेका छन् ।

कास्कीमा कांग्रेस नेताको घरमा कार्यकर्ताहरूको नाराबाजी- ‘अन्तर्घाती मुर्दावाद’

कांग्रेस कार्यकर्ताले बिहीबार साँझ पोखरा–१३ बाँझापाटनस्थित केसीको घरमा पुगेर नाराबाजी गरेका हुन् ।

उनीहरूले एमालेसँग ७० लाख रुपैयाँ लिएर केसीले अन्तर्घात गरेको आरोप लगाएका छन् । यस क्रममा उनीहरूले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी पार्टी छोड्’ भन्दै नाराबाजी गरिरहेका छन् ।

कास्की–१ मा केसी प्रतिनिधिसभा सदस्य उम्मेदवारको आकांक्षी थिए । उनको सट्टामा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाए ।

आफूले टिकट नपाएपछि उनले बराललाई असहयोग गर्दै आएका थिए । कास्की १ मा बरालले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गरिरहेका छन् । मतगणना भइरहँदा उनी गुरुङसँग पराजित हुने अवस्था देखेपछि कांग्रेस कार्यकर्ताहरू विरोधमा उत्रिएका हुन् ।

यता कास्की–१(२) मा पनि कांग्रेसका दीपक गुरुङ ‘माइला’ एमालेका बेदबहादुर गुरुङसँग पराजित भइसकेका छन् । कास्की–१(१) मा पनि एमालेका खगराज अधिकारीले सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पछाडि पारेका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिएको वडामै सत्ता गठबन्धनका उम्मेदवारलाई मत नआएर हार्ने स्थिति हुनुमा केसीकै अन्तर्घात कारण रहेको कास्कीका कांग्रेस कार्यकर्ताहरूले आरुोप लगाउँदै आएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?