१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बहुदलपछि पहिलोपटक सोलुमा एमालेको जित

कसरी पराजित भए पूर्वमन्त्री बलबहादुर ? 
भानुभक्त निरौला

सोलुखुम्बु — बहुदल स्थापनापछि हिमाली जिल्ला सोलुखुम्बुबाट पहिलोपटक नेकपा एमालेले जित निकालेको छ । २०७९ को आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई निर्वाचित भए । सोलुमा ३२ वर्षपछि एमालेले पहिलो पटक जितेको हो ।

बहुदलपछि पहिलोपटक सोलुमा एमालेको जित

मंसिर ४ मा सम्पन्न निर्वाचनमा खसेको कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मतमै सिमित रहे । सत्ता गठबन्धन दलहरू १५ हजार मतले अगाडि भइरहँदा सहज जितको अनुमान गरेर सातौँ पटक चुनावी मैदानमा उत्रिएका ७० वर्षीय केसीले अप्रत्यासित पराजय बेहोर्नु परेको हो ।

सोलुखुम्बुमा सत्ता गठबन्धनको ३४ हजार दुई सय ८५ मत थियो भने नेकपा (एमाले) को १७ हजार चार सय एक मत थियो । ३४ हजार मतविरुद्ध १७ हजार मतका राईले एमालेका पक्षमा जित निकालेका हुन् ।

०४८ सालयताका ७ मध्ये ५ वटा चुनावमा बलबहादुर केसीसँगै प्रमुख प्रतिस्पर्धी भएर पराजय बेहोरेको एमालेले २०७९ मा आएर भने सहज जित हात पारेको छ ।

को को पराजित भए बलबहादुरसँग ?

बहुदल स्थापनापछि पहिलोपटक टिकट लिएर आएका कांग्रेस नेता केसीले २०४८ सालमा नेकपा एमालेका आङइगेले झलक शेर्पालाई पारजित गरेका थिए । २०५१ सालमा पनि दोश्रो पटक टिकट ल्याउन सफल भएका केसीले त्यतिबेला राप्रपा चन्द समूहका सोनाम छिरिङ शेर्पाले झिनो मतान्तरले पराजित गरे । ०५१ को चुनाव जिते लगत्तै उनी नेपालकै पहिलो खेलकुद मन्त्री समेत बने । सत्ता र शक्तिको आडमा २०५६ सालमा पनि तेहेर्‍याएर टिकट ल्याएका केसीले नेकपा एमालेका उम्मेदवार भुपाल किरांतीलाई फराकिलो मतान्तरले पराजित गरे ।

०५६ मा एमाले र माले विभाजित भएको फाइदा केसीले लिएका थिए । ०६२–६३ को आन्दोलनपछि २०६४ मा भएको संविधान सभा निर्वाचनमा पनि कांग्रेसबाट टिकट लिएका केसी पहिलोपटक पराजित भए । उनी तत्कालीन माओवादी उम्मेदवार गोपाल किराँतीसँग भारी मतान्तरले पराजित भए । पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनमा पार्टीका अन्य आकांक्षीहरूलाई पछि पार्दै उनै केसीले पाँचौं पटक टिकट ल्याए अनि एमाले उम्मेदवार आङइमा लामालाई पराजित गरे । २०७० सालमा पनि नेपाली कांग्रेस जिल्ला समितिको एकल सिफारिसमा तत्कालीन पार्टी सभापति आङगेलु शेर्पाको नाममा भए पनि केन्द्रको पहुँका आधारमा केसीले टिकट ल्याएका थिए । वि.सं. २०७४ सालको आम निर्वाचनमा छैटौँ पटक टिकट ल्याउन सफल भएका केसीले एमाले–माओवादी गठबन्धनसँग पराजित भएका थिए । उनलाई नेकपा माओवादी केन्द्रका हेमकुमार राई सुरवीरले हराएका थिए । उनले त्यही चुनाव नै आफ्नो जीवनकालको अन्तिम चुनाव भन्दै निर्वाचनमा होमिएका थिए । त्यही अनुसार नै उनले हरेक मन्चमा आफु अन्तिम पटक चुनाव लडेको भन्दै भोट मागेका थिए ।

प्रतिनिधि तथा प्रदेससभा निर्वाचन २०७९ मा सत्ता गठबन्धनबाट सोलुखुम्बुमा माओवादी केन्द्रले पाउने कि नेपाली कांग्रेसले पाउने भन्ने हानाथाप भइरहेका बेला अन्तिम समयमा सोलुको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो । टिकट वितरणको अन्तिम रात शेखर कोइराला समूहको तीव्र दबाबमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राई सुरवीरले पाएको टिकट खोसेर संघको टिकट बलबहादुर केसीले लिएका थिए । उनकै पार्टी नेपाली कांग्रेसको जिल्ला समितिले पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पाको नाम प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको थियो भने केसीलाई समानुपातिक तर्फ सिफारिस गरेको थियो । उनले आफ्नै पार्टीको निर्णय विपरित माओवादी समेतलाई चिढ्याएर टिकट ल्याएका थिए ।

कसरी तेश्रो पटक चुनाव हारे बलबहादुरले ?

पूर्वमन्त्री बलबहादुर केसीले यो पटक हारमा ह्याट्रिक नै गरे । सोलुमा गठबन्धनको साझा उम्मेदवार बलबहादुर केसीले हार्ने सायदैले आकलन गरेका थिए । तर एमालेले चामत्कारिक ढंगले नतिजा आफ्नो पक्षमा पार्‍यो । यसका पछाडि कांग्रेसका मतदाता सहरबाट गाउँमा नजानुदेखि सामाजिक संजालमा चलेको 'नो नट अगेन' अभियान र एमालेले चलाएको पूस्तान्तरणको अभियान पनि केसीको हारको कारण बन्यो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा ५१ हजारभन्दा बढी मत खसेको थियो । अहिले ४० हजार मात्रै मत खस्यो । बाँकी ११ हजार मतदाता सहरबाट जिल्ला नै आएनन् । जिल्ला नआएका ११ हजार मतदातामध्ये ९० प्रतिशत कांग्रेस समर्थित रहेको विश्लेषण हुन थालेको छ । ‘स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारहरूले गाडीमा हजारौँ मतादाता ल्याएको र एमालेका अधिकांश मतदाता गाउँमै रहेकाले पनि यो पटक चुनावमा कांग्रेसको भोट कम आएको हो,’ कांग्रेसका एक जिल्ला नेताले भने ।

त्यस्तै पछिल्लो समय नेतृत्व हस्तान्तरणका लागि सामाजिक संजालमा चलाइएको 'नो नट अगेन' अभियानले पनि सोलुमा पनि जरा गाड्न सफल भएको बताइन्छ । युवाहरूले सामाजिक सञ्जालमा केसीको फोटोसहितको ब्यानर नै राखेर भोट नहाल्न अपिल गरे । त्यस्तै एमालेले जिल्लामा नेतृत्व पुस्तान्तरणको एजेण्डा जबर्जस्त स्थापित गराउन सक्यो ।

‘सोलुमा ४८ सालदेखि एउटै व्यक्तिलाई चार पुस्तासम्मले भोट हाल्नु पर्ने स्थिति विद्यमान थियो,’ एमाले जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाले भने, ‘हामीले आम मतदातामा पुस्तान्तरणको एजेण्डालाई मतमा बदल्न सफल भयौं ।’ यसका साथै केसीलाई कांग्रेसको जिल्ला समितिले प्रत्यक्षतर्फ चुनाव जित्न नसक्ने भन्दै समानुपातिकमा सिफारिस गरेको थियो । तर उनले जबर्जस्ती प्रत्यक्षमा टिकट ल्याउनु पनि हारको अर्को कारण रहेको बताइएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?