ढकालले हराए पूर्वअर्थमन्त्री र अर्थशास्त्री

काठमाडौँ — चितवन १ बाट प्रतिनिधिसभामा पटक पटक प्रतिनिधित्व गरेका तथा अर्थमन्त्री समेत भइसकेका सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोग छाडेर राजनीतिमा होमिएका अर्थशास्त्री विश्वनाथ पौडेलले एकसाथ पराजय ब्यहोरेका छन् । अर्थतन्त्रका ‘विज्ञ’ दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले हराएका हुन् ।

ढकालले हराए पूर्वअर्थमन्त्री र अर्थशास्त्री

पाण्डे यसअघि २०७४ र २०७० सालको चुनावमा यहीं क्षेत्रबाट विजयी भएका थिए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी अर्थमन्त्री भएका थिए । त्यस्तै पौडेलले १४ महिनासम्म राष्ट्रिय योजना आयोग सम्हाल्दै गर्दा नेपाली कांग्रेसबाट पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल राजनीतिमा होमिने भएसँगै योजना आयोग छाडेका थिए ।

यी दुवैलाई हराएका ढकाल पनि सेयर बजारका एक ‘खेलाडी’ हुन् । सेयर बजारको विकास र विस्तारका लागि भन्दै उनले नियामकलाई पटक पटक विभिन्न सुझाव दिई झकझक्याउँदै आएका थिए । नियामकले सेयर बजारका समस्या सम्बोधन गर्न नखोजेको भन्दै उनले नेपाल स्टक एक्स्चेन्जअगाडि अनसन समेत बसेका थिए । रवि लामिछानेले पार्टी खोलेसँगै चितवनबासी ढकाल सो पार्टीबाट राजनीतिमा होमिएका हुन् ।

चितवन १ को मतगणना सुरु भएदेखि नै ढकाल अग्रस्थानमा रहँदै आए । दोस्रोका लागि भने पाण्डे र पौडेलबीच प्रतिस्पर्धा भइरह्यो । मतगणना सकिँदा ढकालले कुल ३४ हजार १८९ मत ल्याए र विजयी भए । दोस्रोमा रहेका पाण्डेले २६ हजार ६०८ तथा तेस्रोमा रहेका पौडेलले २४ हजार ९९० मत प्राप्त गरेको चितवन निर्वाचत अधिकृत रेशमराज सिग्देलले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?