२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

काठमाडौंमा स्थापित दललाई राष्ट्रिय स्वतन्त्र पार्टीको धक्का

काठमाडौं उपत्यकाका १५ प्रतिनिधिसभा सदस्य सिटमध्ये ५ मा रास्वपाको जित
प्रकाश धौलाकोटी

काठमाडौँ — पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् । अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् ।

काठमाडौंमा स्थापित दललाई राष्ट्रिय स्वतन्त्र पार्टीको धक्का

स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् । यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका बहालवाला मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भएका हुन् ।

स्वतन्त्र पार्टीले चुनाव नजितेका क्षेत्रमा समेत उल्लेख्य मत पाएको छ । काठमाडौं–९ मा उपविजेता बनेको छ भने काठमाडौं–१, ३, ५ र १० तथा ललितपुर–१ र २ मा तेस्रो भएको छ । रास्वपाले नेपाली कांग्रेसले जित्दै आएको काठमाडौं–६ र पहिले नेकपा एमालेले जितेका काठमाडौं–२, ७ र ८ तथा माओवादी केन्द्रले जित्दै आएको ललितपुर–३ खोसेको हो ।

काठमाडौं–२ बाट ०७० र ०७४ मा माधवकुमार नेपालले एमालेबाटै चुनाव जितेका थिए । एमाले फुटाएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक यहाँबाट उठेनन् । यहाँ नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पूर्वसभामुख ओनसरी घर्तीदेखि राप्रपाकी कुन्ती पोखरेलसम्म प्रतिस्पर्धी थिए । तर, चुनाव भने स्वतन्त्र पार्टीकी सोबिता गौतमले जितेकी छिन् ।

गौतमले १५ हजार २२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । राप्रपाकी पोखरेल तेस्रो र गठबन्धनकी उम्मेदवार घर्ती चौथो भएका छन् । पोखरेलले ११ हजार १४ र घर्तीले ९ हजार ४४९ मत पाएकी छन् ।

काठमाडौं–२ मा एमालेले जस्तै कांग्रेसले बलियो पकड बनाएको क्षेत्र हो, काठमाडौं–६ । तर, यसपटक यहाँबाट दुई पटक निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान फराकिलो अन्तरले पराजित भएका छन् । यहाँबाट स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर जिते भने नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्वआईजीपी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । कांग्रेसका प्रधानले भने ८ हजार ८०५ मत पाए ।

चुनावअघि काठमाडौं–७ मा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईको चर्चा थियो । तर, चुनाव भने स्वतन्त्र पार्टीका गणेश पराजुलीले जितेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवार मानुषी भने तेस्रो भइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर चुनाव जित्दा नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत पाएका छन् । मानुषीले ६ हजार ६३ मत पाएकी छिन् । यहाँबाट ०७४ मा नेकपा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए । यसपटक एमालेमा टिकट नपाएका रामवीरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ७५३ मत ल्याए ।

त्यस्तै, काठमाडौं–८ मा पनि बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई पराजित गर्दै स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । ०७४ मा एमालेबाट चुनाव जितेका जीवनराम यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार थिए । तर, स्वतन्त्रका विराजभक्तले फराकिलो मतान्तरसहित चुनाव जितेका छन् । उनले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् । जीवनरामले भने ४ हजार ८७७ मतमात्रै ल्याएका छन् ।

उता ललितपुर–३ मा पनि बहालवाला मन्त्री पम्फा भुसाल पराजित भएकी छिन् । यहाँ पनि स्वतन्त्र पार्टीकै तोसिमा कार्कीले जितेकी छिन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेकी मन्त्री भुसालले ८ हजार ७६९ मत मात्रै पाइन् ।

काठमाडौंका दस क्षेत्रमध्ये ०७४ मा एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ गरी छ क्षेत्रमा जितेको थियो । यसपटक एमालेले क्षेत्र नं. ९ मात्रै जितेको छ । यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, कांग्रेसले पहिले क्षेत्र नं. १, ४, ६ र १० गरी चार क्षेत्र जितेको थियो । यसपटक कांग्रेसले पाँच क्षेत्र जितेको छ ।

कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । यीमध्ये सिंह, थापा र केसीले आफ्नो क्षेत्रमा जितको हृयाट्रिक पूरा गरेका छन् । चालिसे र पौडेल पनि संसदीय यात्राको पहिलो प्रयासमै संसद्मा प्रवेश पाएका छन् ।

को हुन् स्वतन्त्रबाट चुनाव जितेका नेता ?

विराजभक्त श्रेष्ठ

काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ४१ वर्षे श्रेष्ठ प्रदेशसभामा सांसद्का रूपमा अनुभव बटुलिसकेका नेता हुन् । ०७४ मा विवेकशील साझाबाट समानुपातिकमा वाग्मती प्रदेशसभा सदस्य बनेका उनी यसपटक स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन प्रचारमा ‘मतदान होइन, मत लगानी गरौँ, आउने पुस्ताको भविष्य सुनिश्चित गरौँ’ भन्ने नारा लिएर मातदातामाझ गएका थिए ।

काठमाडौंको इन्द्रचोकमा जन्मिएका उनले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन् । पढाई सकेपछि सामाजिक अभियन्ता र सफल उद्यमीकोरुपमा चिनिएका श्रेष्ठले विभिन्न होटल र रेष्टुरेण्टहरू सञ्चालन गरेका छन् ।

प्रदेशसभामा नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको काम काजको भाषाको मान्यता दिने कानुन बनाउन नेतृत्वदायी भूमिका खेलेका उनले इन्द्र चोक पुननिर्माण, शंखधर स्वास्थ्य नागरिक पार्क निर्माण लगायत योजना भित्राए । त्यसअघि उनी काठमाडौंमा भएका गुठी विधेयकविरुद्धको आन्दोलन र अकुपाई टुँडिखेललगायतका आन्दोलनबाट चिनिएका हुन् ।

विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका श्रेष्ठ तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले कारवाही गरेर निकालिएपछि स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।

सोबिता गौतम

काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी २७ वर्षे गौतम अधिवक्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी उनी हालसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी हुन् ।

सम्भवतः उनी नै आगामी संसद्की सबैभन्दा कान्छी सदस्य रहनेछन् । नेपालमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएको विषयलाई चुनावी मुद्दा बनाएकी उनले चुनावको बेला मतदातामाझ पुगेर परिवर्तनको आशा जगाउने काम गरेकी थिइन् ।

नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता र प्रस्तोताका रूपमा काम गरेकी उनी पछिल्लो समय विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर समेत काम गरिसकेकी छिन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सल्लाहकारका रूपमा समेत काम गरेकी छिन् । नेपाल युवा संस्था सञ्जाल (आयोज)को निबर्तमान बोर्ड सदस्य रहेकी उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा इन्टर्नसिप गरेकी थिइन् ।

शिशिर खनाल

काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ४३ वर्षे खनाल काठमाडौं बनस्थलीका हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । त्यसपछि केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत रहे । अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए ।

शैक्षिक क्षेत्रमा खनालको विशेष परिचय छ । उनी टिच फर नेपालका सहसंस्थापक हुन् । यो संस्थाले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयमा करिब ५० हजार विद्यार्थीहरूलाई पढाउँदै आएको छ ।

टिच फर नेपालले विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ । जसमा छनोट भएका युवाहरूले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ ।

सार्वजनिक शिक्षा सुधारमा उदाहरणीय भूमिका खेलेका खनाल सार्वजनिक शिक्षा सुधार र दिगो सहरी विकासलगायत एजेन्डा लिएर मतदातामाझ पुगेका थिए ।

गणेश पराजुली

काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४३ वर्षे पराजुली खोटाङमा जन्मिएका हुन् । पढ्नका लागि काठमाडौं आएका उनी अहिले एक सफल युवा व्यवसायीका रूपमा छन् । बालाजु नजिक चमतीमा हिमालयन हृयान्डिक्राफ्ट इण्डष्ट्रिज सञ्चालन गरेका उनले प्रत्यक्षरुपमा करिब ४० जनालाई रोजगारी दिएका छन् । हाल उनी गाँजामा आधारित विभिन्न रेशाजन्य निर्यातमूलक सामानहरू उत्पादन गरी निर्यात गर्दै आएका छन् ।

अहिले उनले उद्योग, होटल तथा हस्पिटालिटी, कफी शप लगायत क्षेत्रमा लगानी गरेका छन् । व्यवस्थापन संकायमा स्नातकसम्म अध्ययन गरेका उनी अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा समेत संलग्न रहेर सामाजिक कार्यहरूमा सक्रिय थिए । उनी देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्ने विषयलाई चुनावी मुद्दा बनाएर मतदातामाझ गएका थिए ।

तोसिमा कार्की

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३३ वर्षे तोसिमा कार्की चिकित्सक हुन् । चिकित्सा क्षेत्रको सुधारका लागि भएका आन्दोलनमा सहभागी हुँदै आएकी उनी हाल नेपाल मेडिकल काउन्सिलकी सदस्य समेत हुन् ।

काउन्सिलको सदस्यका रूपमा उनले सुविधा लिएको विषयलाई लिएर परेको उजुरीमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम रहने फैसला गरिदिएको थियो । उनको उम्मेदवारीका विषयमा मुद्दा परेपछि तोसिमाको थप चर्चा चुलियो ।

ललितपुरको नख्खुमा जन्मिएकी उनले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट शल्य चिकित्सा विषयमा स्नात्तकोत्तर गरेकी छिन् । उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापकसमेत थिइन् । उनी निर्वाचनमा स्वास्थ्य क्षेत्रको सुधार र स्वस्थ समाज निर्माणको मुद्दालाई अघि सारेर मतदातामाझ पुगेकी थिइन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?