कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
अन्तर्वार्ता

'देउवाले जिम्मेवारी हस्तान्तरण नगरे सांसदले निर्णय लिनुपर्छ'

अहिलेको अवस्थमा गठबन्धन एक ठाउँमा रहन्छ । गठबन्धनका बीचबाट आवश्यक दायरा बढाउने कुरामा हामीले परिपक्व ढंगले सोच बनाएर छलफल गर्ने हो । मेरो विचारमा सरकार बनाउनकै लागि त गठबन्धनको बहुमत आउने देख्छु ।

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलोपल्ट संसदीय राजनीतिमा प्रवेश गर्दैछन् । ०७० र ०७४ को निर्वाचनमा पराजित शर्मा तेस्रोपटक फराकिलो मतान्तरका साथ चुनाव जितेका हुन् । चुनाव जित्नसाथ अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताइरहेका शर्माले अब त्यो यात्रा पनि पूरा हुनसक्ने संभावना व्यक्त गरेका छन् ।

'देउवाले जिम्मेवारी हस्तान्तरण नगरे सांसदले निर्णय लिनुपर्छ'

शर्मासँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप:

पहिलोपल्ट संसदमा आउँदै हुनुहुन्छ । तपाईंको क्षेत्रका मतदाताले भारी मतान्तरले जिताएर पठाउँदै गर्दा र आमरुपमा कांग्रेसले पाएको जनादेशलाई हेर्दा तपाईंले कसरी मूल्याकंन गर्नुभएको छ ?

आम मतदाताले कांग्रेससँग रुपान्तरणको खोजी गरेका छन् । त्यसका लागि ठूलो हृदय राखेर कांग्रेसले विषयलाई बुझ्नुपर्ने पहिलो चुनौति छ । त्यसपछि आँफैभित्र ठूलो रुपान्तरणसहित बृहत् जिम्मेवारी बोध गरेर अघि बढ्नुपर्छ । कांग्रेसको नेतृत्वमा ठूल्ठूला परिवर्तन भएका छन् । व्यवस्था परिवर्तन भएका छन् । अब व्यवस्था होइन, मुलुकलाई सुव्यवस्थातिर लैजानुपर्ने छ । त्यसका लागि ठूला कुरा होइन, सुधार गर्नुपर्ने साना कुरा छन् । अब हामीले ठूलो परिवर्तन गरेका थियौं, त्यसको श्रेय जनताले दिएका छन् । तर, अब त्यति भनेर मात्रै पुग्दैन । त्यसका लागि साना सुधार्नुपर्ने कुराहरु के–के छन् ? घोषणापत्रमा हामीले सबै कुरा मिहिन ढंगले राखेका छौं । सिंहदरबार प्रवेश गर्दैगर्दा हामीले घोषणापत्र पल्टाउन जरुरी छ ।

कांग्रेसले अहिले जुन परिणाम ल्याएको छ, त्यसले पार्टी र राष्ट्रिय राजनीतिकै दिशानिर्देशका लागि कस्तो सन्देश दिए जस्तो लाग्छ ?

एकढंगको प्रतिकूलताका बीचबाट हामी चुनावमा गएका हौं । सबै दल एक्लाएक्लै चुनावमा जान सकेको भए योभन्दा अझै राम्रो परिणाम आउँथ्यो होला । त्यो हुन सकेन । ०७४ को निर्वाचनमा हामीलाई सत्ताको ‘म्यानडेट’ थिएन । जसलाई ‘म्यानडेट’ दिएको थियो, त्यो जनमत नै खण्डित भएपछि कांग्रेसले जिम्मेवारी लिएको हो । प्रतिकूल राजनीतिक वातवरण बीचमा चुनावमा जाँदै गर्दा हामीलाई सच्चिने जनादेश पनि दिएको छ । सरकारमा छँदा भएका कमिकमाजोरीलाई आत्मआलोचना गर्दै सुधार गरेर जान्छौं भनेर हामीले घोषणापत्रमै भनिसकेका छौं । राम्रा कामलाई अघि बढाउने, कमजोरीलाई सुधार गर्दै मुलुकको अवस्था परिवर्तन गर्नेदिशामा अभिमत प्रकट भएको छ ।

यसपटक पुराना दल मात्रै आएनन् । भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिकै खेलाडीका रुपमा उदाउँदै छ । त्यस्तै नयाँ क्षेत्रीय दलपनि उदाएका छन् । यो उपस्थितिलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?

लोकतन्त्रको सौन्दर्य भनेकै परिवर्तन हो । परिवर्तनको प्रकृति कुनै सामाजिक हुन्छ भने कुनै राजनीतिक तथा साँस्कृतिक हुन्छ । ठूला दलहरुले परिवर्तनलाई बुझ्ने कुरामा सामर्थ्य राखेनन् भने जनताले अर्को झन्डा उठाउँछन् भन्ने सन्देश अहिले प्रकट भएको छ । संसारमा सबै अनिश्चित छन्, तर परिवर्तन र मृत्यु निश्चित छ । मृत्यु र परिवर्तनलाई टार्न सकिन्न । हिजोको दिन व्यवस्था परिवर्तनको युग थियो, अहिले अवस्था परिवर्तनको माग छ । अवस्था परिवर्तनको झन्डा हामीले राम्रोसँग उठाउन सकेनौं भने अर्कोले उठाउँछ भन्ने कुराको यो राम्रो संकेत हो ।

निर्वाचनले ल्याएको यो परिवर्तनलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । चाहे त्यो कांग्रेस वा गठबन्धनबाट उठेको होस्, बाहिर सडकबाट नै किन नउठेको होस् । दलहरुको काम छैन । यिनले सबै बिगारे भन्नेहरु पनि आज दल खोलेरै संसदीय अभ्यासमा आउन लागेका छन् । यो लोकतन्त्रको सुन्दर पक्ष हो । संसदीय पद्दतिको जित हो । ०६४ र ७० को निर्वाचनले संविधान बनाउँन जनादेश दिएको थियो । ०७४ को निर्वाचनमा जनताले संविधान कार्यन्वयन गर्न आदेश दिए । यसपटक व्यवस्थाभित्रको अव्यवस्था अन्त्य गर्न आदेश दिएका छन् । स्वतन्त्र रुपमा व्यक्तिले उठाएका वा राजनीतिक दलहरुभित्रै अव्यवस्था अन्त्य गर्न उठाएका आवाजहरुलाई आत्मसाथ गरेर अघि बढ्न सक्दा नै हामी सहिमार्गमा पुग्न सक्छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनु नै पुराना र ठूला पार्टीको विकल्प जनताले खोजेका हुन् भन्ने कुरालाई मान्न सकिन्छ ?

होइन, मान्छेको उमेरजस्तो दलको स्थिति हुन्न । पुराना रुखमा झरेका पातमात्रै हेरेर हुन्न । नयाँ पलाएका पातहरुतिर पनि फर्कनुपर्छ । कांग्रेसभित्र घोषणापत्र निर्माण गर्दाकै बखतमा नेतृत्वमा नविनता भनेर हामीले राखेका छौं । जनताको म्यान्डेट पनि त्यहि नविनताको खोजीमा छ । हामी अब जाने त्यहि बाटोतिर हो । हिजो व्यवस्था परिवर्तन गर्न हामीले नेतृत्व गरेका थियौं होला । हिंसामा गुज्रेको मुलकलाई शान्तिमार्गमा ल्याउन नेतृत्व लिएका थियौं होला, संविधान बनाउने नेतृत्व कांग्रेसले गरेको थियो होला तर भनेर मात्रै अब चल्दैन । आम जनतामा परिवर्तनको जुन खोज छ, त्यसलाई 'टाईअप' गरेर हिडाउन सक्नुपर्छ ।

अबको पाँच वर्षपनि अहिलेकै नेतृत्व सत्ताको केन्द्रमा रहने बलियो संभावना देखिँदै छ । तपाईंले भनेजस्तै यहि नेतृत्वबाट परिवर्तनको अपेक्षा कसरी गर्न सकिन्छ ?

परिवर्तनको पहिलो कुरा नै राजनीति हो । अर्को कोणबाट हेर्ने हो भने नेतृत्व र व्यवस्थापकीय कुरा हुन् । अब यिनले नेतृत्व गर्छन् वा अवस्था खराब गर्छन् वा कुनै युवा आयो भने परिवर्तन गर्छ भन्ने कुरा व्यवस्थापकीय कुरामा धेरै भरपर्छ । युवाले नेतृत्व लिएर पनि अवस्था परिवर्तन हुन सकेन भने हाम्रो पनि आलोचना हुन्छ । त्यसैले नेतृत्वलाई मात्रै हामीले प्रधान विषय मानेका छैनौं, एजेण्डा र व्यवस्थापकीय कुरालाई पनि सँगसँगै अघि बढाएका छौं ।

जनताले अपेक्षा गरे अनुसारको एजेण्डा अघि बढाउन सकियो भने त नेतृत्व कसले गर्नुपर्छ भन्ने अनुहार प्रष्ट नै आईहाल्छ । अब समाज एकातिर, हामी अर्कोतिर हुने अवस्था खडा गर्ने होइन । संसदीय राजनीतिमा गणितको गणना अवश्य हुन्छ, तर ‘हेड काउन्ट’गर्दागर्दै समाजको मनोविज्ञानलाई उपेक्षा गर्न मिल्दैन । उपेक्षा गर्‍यौं भने राजनीतिक अंकगणित एकातिर र समाजको मनोविज्ञान अर्कोतिर पर्न जान्छ । ड्राभईर परिवर्तन गरियो तर साधनको अवस्था ठिक छैन भनेपनि गाडी अघि बढ्न सक्दैन । त्यसले दुवैको तालमेलबाट हामी अघि बढ्न खोजिरहेका छौं ।

झापाबाट निर्वाचित हुनसाथ गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने कुरा तपाईंले गर्दै आउनुभएको थियो । अब त्यो समय आयो होइन ?

आयो । गगन थापालाई सांसदको रुपमा निर्वाचित हुँदै संसदीय दलको नेता बनाउने र देशको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्न म चाहन्छु ।

त्यसको संभावना कस्तो देख्नुहुन्छ ?

त्यसका दुईटा संभावना छन् । पहिलो पार्टी सभापति शेरबहादुर देउवाले आफैले सम्मानसाथ नेतृत्व हस्तान्तरण गर्न सक्नु हुन्छ । उहाँले आफ्नो जीवनकालमा धेरै उल्लेख्य काम गर्नुभएको छ । समावेशी आयोग बनाउनेदेखि, हलिया, कमैया मुक्तिदेखि मधेस व्रिदोहलाई सम्हालेर चुनाव गराउने, प्रतिगनमबाट बचाउन सबै दललाई ल्याउने, तीनै तहका निर्वाचन गर्ने काम साना होइनन । जो राम्रा काम भएका छन् । तीनलाई सम्मान गर्नुपर्छ । नराम्रो गरेकालाई भएन भन्नुपर्छ, आलोचना गर्नुपर्छ । अब यो समय भनेको रुपान्तरण र परिवर्तनको हो ।

हामीले आँफैलाई रुपान्तरण गर्न सकेनौं भने परिवर्तनको झन्डा बोक्ने अरुनै भईदिन्छन् । त्यसैले अहिलेको जनमतले दिएको परिवर्तनको झन्डा बोक्न नेतृत्व अर्कोलाई सुम्पिन्छु भन्दा उहाँको उचाई र व्यक्तित्वको ओजन बढेर जान्छ । त्यस्तो बेला उहाँले आफ्नै सहयोगी, आफ्नै टिमका जोसुकेलाई नेतृत्व सुम्पन सक्नुहुन्छ । गिरिजाप्रसादसँग मैले नेतृत्व लिँदा लडेर लिएको हो भन्ने सभापतिजीले अब गगन र विश्वप्रकाशहरुले लड्दै छन् भनेर आफू अभिभावक भएर नेतृत्व सुम्पन सक्नुहुन्छ । होइन, बदलिएको परिवेश र परिस्थितिलाई आत्मसाथ नगर्ने हो भने कांग्रेसलाई बदलिएको बनाउन अब निर्वाचित सांसदहरुले पनि निष्कर्ष निकाल्ने विकल्प छ । निर्णय गर्नुपर्ने हुन्छ । आफ्नो भूभाग र जनताको भावनालाई आत्मसात् गर्नका लागि राष्ट्रिय राजनीतिमा सांसदहरुले निर्णायक पहल गर्नुपर्छ । त्यसले मात्रै मात्रै पार्टीलाई बदल्न सक्छौं ।

त्यस्तो संभावनाको दृश्य कस्तो देखिरहनु भएको छ ?

जनताले दिएको जनादेश अनुसार हामीले गर्नुपर्ने जरुरी काम के हो ? कुन विषयसँग हामी मिल्नुपर्छ । पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको नेताको विकल्पका बारेमा छलफल गर्नु कांग्रेस सांसदको कर्तव्य नै हो । संभवाना छ कि छैन भन्ने कुराबाट होइन, छ भनेरै अघि बढ्ने हो । संभावना नै छैन भन्ने हो भने त ढुक्क भएर बसिदिए भईहाल्यो नि !

राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेससँगको सम्बन्ध र भावी सरकारमा एकैठाउँमा रहन सक्ने संभावना कस्तो छ ?

अहिले हामी नतिजाको प्रारम्भिक अवस्थामै छौं । अहिल्यै सहकार्य गरेर गईहाल्ने वा के गर्ने भन्ने कुरा परिपक्व ढंगले छलफल गर्नुपर्ने विषय हुन्छ । अहिलेको अवस्थमा गठबन्धन एक ठाउँमा रहन्छ । गठबन्धनका बीचबाट आवश्यक दायरा बढाउने कुरामा हामीले परिपक्व ढंगले सोच बनाएर छलफल गर्ने हो । मेरो विचारमा सरकार बनाउनकै लागि त गठबन्धनको बहुमत आउने देख्छु ।

प्रकाशित : मंसिर ७, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?