चुनाव सकिएको ३ दिनपछि हुम्लामा हेलिकप्टरबाट सदरमुकाम पुग्यो मतपेटिका [तस्बिरहरू]- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

चुनाव सकिएको ३ दिनपछि हुम्लामा हेलिकप्टरबाट सदरमुकाम पुग्यो मतपेटिका [तस्बिरहरू]

जनकबहादुर शाही

हुम्ला — निर्वाचन सम्पन्न भएको तीन दिनपछि हेलिकप्टरमा हुम्लाको दक्षिणी क्षेत्रका सबै मतपेटिका सदरमुुकाम सिमकोट ल्याइएको छ ।  बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सर्केगार्डदेखि सिमकोटमा पेटिका ल्याइएको हो। बुधबार दिउँसो १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने कार्य पूरा भएको मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बताए । 


दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाकाको आउन बाँकी ३४ वटा मतदान केन्द्रका १७० वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको हो । लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका ढुवानी गर्न सहमति दिए पनि मंगलबार डोल्पाका मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले हुम्लाका मतपेटिका ढुवानी गर्न नभ्याएको मुख्यनिर्वाचन अधिकृत सापकोटाले बताए । जिल्लाका ५९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगेपछि बुधबार नै सर्वदलीय बैठक बसी साँझ ७ बजेबाट मतगणना गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित : मंसिर ७, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

उद्धारका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण कालिकोटबाटै फर्कियो

जनकबहादुर शाही

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका–६ को मेलछाममा आइतबार साँझ गएको पहिरोमा परी सख्त घाइते भएका घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर अवतरण गर्न नसकेपछि कालिकोटबाटै फर्किएको छ ।

कालिकोटबाट बाजुरा हुँदै हुम्ला जाने क्षेत्रको हवाइ रुटमा खराब मौसम हुँदा हुम्ला जिल्लाका विभिन्न ठाउँमा पहिरोका कारण भएका घाइतहरूको उद्धारका लागि सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण हुम्ला आउन नसकेर कालिकोटबाटै फिर्ता भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारको बताइन् ।

पहिरोमा परी घाइते हुनेमा ३८ वर्षीय देउच्या सार्की, ३६ वर्षीया अंगती सार्की, १४ वर्षीया मनिका सार्की, १२ वर्षीया निरुता सार्की र ३ वर्षीय तवेन्द्र सार्की रहेका छन् ।

पहिरोबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर भएकाले उद्धारका लागि सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण हुम्ला आउन नसकेको प्रजिअ परियारले बताइन् ।

आइतबार राति पहिरोमा घर पुरिएर चंखेली गाउँपालिका –६ को मासीधारा गाउँको देनबाडामा एउटै परिवारका ४ सदस्यको मृत्यु भएको छ । सदरमुुकाममा बिजुली, इन्टरनेट र मोबाइलको नेटवर्क नहुँदा घटनाबारे यकिन विवरण लिन समस्या भएको प्रजिअ परियारले बताएकी छन् ।

प्रकाशित : आश्विन २४, २०७९ २०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×