काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी

काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये चारवटामा उम्मेदवारी दिएको माओवादी केन्द्रले कुनै पनि जित्न सकेन ।
सुदीप कैनी

काठमाडौँ — काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदिप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै काठमाडौं, २, ६, ७, ८ मा स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी भए । २०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेसले ४ वटा क्षेत्रमा मात्रै सफलता प्राप्त गरेको थियो । २०७४ मा १ देखि १० सम्म क्रमश: प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगन थापा, ईश्वर पोखरेल भिमसेन दास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र केसी निर्वाचित भएका थिए। नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए । यसपटकको निर्वाचनमा तीमध्ये सिंह, थापा, कृष्णगोपाल श्रेष्ठ र केसी पुन:निर्वाचित भएका हुन् ।

यसपटक क्षेत्र नम्बर १ मा सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बने । मिश्रले ७ हजार १८ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले एमाले उम्मेदवार मणिराम फुयाललाई हराएकी छन् । उनले १५ हजार २ सय २९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । पूर्व सांसद राईलाई हराउँदै क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे विजयी भए । चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गर्दा राईले ११ हजार १ सय ९६ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा गगन थापाले २०७४ कै प्रतिस्पर्धी राजन भट्टराईलाई हराएका हुन् । थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल एमाले नेता ईश्वर पोखरेललाई हराउन सफल भए । उनले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मत ल्याए ।

काठमाडौं क्षेत्र नम्बर ६ मा एमाले उम्मेदवार एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हराउँदै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी बनेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत प्राप्त गर्दा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत मात्रै प्राप्त गरे । उक्त क्षेत्रका पूर्वसांसद प्रधानले ८ हजार ८ सय ५ मत मात्रै प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ७ मा पनि स्वतन्त्र पार्टीले जित निकालेको छ । पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत मात्रै पाएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका पूर्वसांसद मानन्धरले ७ सय ५३ मत मात्रै प्राप्त गरे ।

क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई करिब दोब्बर मतान्तरले पराजित गर्दै विराजभक्तले जित निकालेका हुन् । उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार तेस्रो र एमाले उम्मेदवार चौथो भएका छन् । उक्त क्षेत्रका पूर्वसांसद जीवनराम श्रेष्ठले ४ हजार ८ सय ७७ मत मात्रै ल्याए । उनी सत्ता गठबन्धनतर्फका उम्मेदवार थिए । काठमाडौं ९ मा एमाले उम्मेदवार तथा पूर्व सांसद श्रेष्ठ ११ हजार ९ सय ५६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त पाएका छन् ।

काठमाडौं १० मा भने एमाले उम्मेदवार हिमेश केसीलाई पराजित गर्दै राजेन्द्र विजयी बनेका छन् । उनले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा हिमेशले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

श्रेष्ठ, धमला र पाण्डेको त्रिपक्षीय प्रतिस्पर्धा

सुदीप कैनी

काठमाडौँ — निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले अहिले काठमाडौं–९ का उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । यो क्षेत्रमा एमालेका ६४ वर्षीय कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ४७ वर्षीया कल्पना धमला र साझा पार्टीका ३३ वर्षीय उम्मेदवार मिलन पाण्डेबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

तीनै जनाले आफ्नो जितको सुनिश्चितता दाबी गरे पनि स्वतन्त्रमै १० जनासहित अन्य उम्मेदवारले प्राप्त गर्ने मतले अन्तिम नतिजा तलमाथि हुन सक्ने स्थानीय बताउँछन् ।

०४८ सालदेखि लगातार ७ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिसकेका पूर्वमन्त्री श्रेष्ठ यसपालि चौथो जितको खोजीमा छन् । ०४८, ०५१ र ०७४ को आमनिर्वाचनमा उनी विजयी भएका थिए । राजाको सक्रिय शासनकालमा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ ०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास, शिक्षा, स्वास्थ्यलगायत मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । यो क्षेत्रमा गत वैशाखको स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा एमाले अनुकूल देखिँदैन । सत्ता गठबन्धनको कांग्रेसले ८ वडामा विजय प्राप्त गर्दा एमालेले ६ वडा जितेको थियो । गठबन्धन दलका वडाध्यक्ष उम्मेदवारले २१ हजार १ सय ७६ मत पाउँदा एमालेको पक्षमा १९ हजार २ सय ८२ मात्रै मत पुगेको थियो । यो परिणाम गठबन्धन उम्मेदवार पूर्वमन्त्री धमलाको पक्षमा देखिन्छ ।

तर, यो क्षेत्रमा माओवादीको जनमत कमजोर छ । धादिङकी धमलालाई धेरैले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा बुझेका छन् । यस क्षेत्रमा बलियो रहेको गठबन्धनको एक घटक कांग्रेसकै पूरा मत पाउनेमा माओवादीको जिल्ला नेतृत्व नै आशंका गर्छ । ०६४ को संविधानसभा निर्वाचनमा धादिङबाट निर्वाचित धमला बाबुराम भट्टराई नेतृत्वको सरकारकी विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् । संविधानसभाको दोस्रो निर्वाचनमा पराजित उनको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो । गठबन्धनको पूरा मत पाए उनको जित सहजै देखिन्छ । तर, स्वतन्त्र र युवा उम्मेदवारतर्फ आकर्षित हुन सक्ने मत जोगाउन उनलाई पनि सजिलो नरहेको स्थानीयको तर्क छ ।

यस क्षेत्रमा मतमा बलियो कांग्रेसको आफ्नै उम्मेदवार नरहेको र मतदाताले ‘नो नट अगेन’ अभियान पनि चलाइरहेकाले साझा पार्टीका पाण्डे पनि बलियो देखिएका छन् । ०७४ मा उनी यसै क्षेत्रमा उम्मेदवार थिए । तर, ४ हजार ९ सय ४६ मत मात्रै पाएका थिए । पाण्डेभन्दा १७ हजार बढी मत पाएका श्रेष्ठलाई टक्कर दिन अहिले पनि पाण्डेलाई मुस्किल रहेको एमालेका स्थानीय नेता–कार्यकर्ता दाबी गर्छन् । यता वैकल्पिक पार्टीका रूपमा स्थापित विवेकशील हुँदै साझा पार्टीमा लागेका पाण्डेले भने कम्युनिस्ट जनमतसमेत आफूतर्फ आकर्षण भइरहेको तर्क गरे । ‘कृष्णगोपाल अंकल ३१ वर्षदेखि चुनावमा उठिरहनुभएको छ, मतदाताले नयाँ मान्छे खोजिराखेका छन्,’ उनले थपे, ‘घरदैलोमा जाँदा मतदाताबाट निकै उत्साह मिलेको छ । ०७४ देखि नै स्थानीयसँग घुलमिल भएको, कोभिड महामारी र शिक्षामा यही क्षेत्रमा काम गरिरहेकाले जनसमर्थन पाउनेमा ढुक्क छु ।’

इन्जिनियर पृष्ठभूमिका पाण्डेले नीतिगत सुधार, सामाजिक क्षेत्र र स्थानीय मुद्दालाई आफ्ना मुख्य एजेन्डा बनाएका छन् । दिनदिनै धारामा खानेपानी, विद्यालय सुधार, उद्यम विकास, संस्कृति संरक्षण, धरहरादेखि स्थानीय सम्पदा जोडेर पर्यटन रुट, घरेलु उद्योगको प्रवर्द्धन र पारदर्शी संघ, प्रदेश र स्थानीय तह बनाउन पहल गर्ने उनका प्रतिबद्धता छन् ।

गत निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गर्दै कांग्रेसका ध्यानगोविन्द रञ्जित (१४ हजार ८ सय २ मत) लाई हराएका थिए । यो क्षेत्रमा एमालेको जनाधार बलियो मानिने गरिए पनि पटक–पटक सांसद चुनिएर उल्लेखनीय काम गर्न नसकेको भन्दै श्रेष्ठको आलोचना हुने गरेको छ । गठबन्धन उम्मेदवार धमलाले पनि श्रेष्ठप्रति मतदाताको आक्रोश रहेको पाएको दाबी गरिन् । ‘आठौं पटक चुनाव लड्दै हुनुहुन्छ । पटक–पटक मन्त्री भइसक्नुभयो,’ धमलाले भनिन्, ‘संविधानमाथिको कुठराघात गर्ने केपी ओलीको रक्षक बन्नुभयो । यसलाई जनताले आफ्नो मतको दुरुपयोगका रूपमा अर्थ्याएका छन् ।’ श्रेष्ठप्रति असन्तुष्ट मत आफूले पाउनेमा विश्वस्त छिन् धमला । ‘गठबन्धनको एकता पनि बलियो छ, मत ट्रान्सफर हुन्छ,’ उनले भनिन्, ‘मेरो प्रतिस्पर्धामा कोही देखिएको छैन, स्वतन्त्रहरू संसद्मा गएर केही उपलब्धि हुँदैन, प्रतिनिधिसभा भनेको पालिकाजस्तो होइन ।’

उनले संविधान रक्षा, विभिन्न राजनीतिक मुद्दा र मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने एजेन्डा बनाएकी छन् । संस्कृति र सम्पदा संरक्षण गरी यो क्षेत्रलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने, खानेपानी, ढल र फोहोरमैला व्यवस्थापन, काठमाडौं छिर्ने मुख्य नाकामा आकाशे पुल बनाउने, रोजगारी, विद्यालय नमुना बनाउने, राष्ट्रियस्तरको रंगशालालगायत विकासे योजनालाई पनि गठबन्धनले अघि सारेको छ ।

काठमाडौं–९ मा एमालेका चुनावी संयोजक अवन्ती सिग्देलले गठबन्धनको कुनै प्रभाव र औचित्य नै नरहेको आरोप लगाए । ‘स्थानीय चुनावमा प्राविधिक कारणले एमालेको हार भएको हो, जनमतमा कुनै कमी आएको छैन,’ उनले थपे, ‘गठबन्धनप्रति मतदाताको कुनै आकर्षण देखिँदैन, निर्वाचन क्षेत्र पनि नचिनेका मान्छे उम्मेदवार बनेका छन्, स्वतन्त्र भनेर धेरै जना आएका छन्, उनीहरूको झन् कुनै आधार नै देखिँदैन, यहाँ श्रेष्ठज्यूको प्रतिस्पर्धी कोही पनि छैन ।’ विगतमा गरेको कामले पनि श्रेष्ठलाई स्थानीयले रुचाएको उनले दाबी गरे । श्रेष्ठले स्थानीय विकास निर्माण, पर्यटन विकास, आयआर्जन र स्वरोजगारलाई जोड दिएका छन् । यो क्षेत्रमा ७२ हजार १ सय ७३ मतदाता छन् ।

प्रकाशित : कार्तिक २९, २०७९ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×