जुम्ला-१(२) मा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका पछाई विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

जुम्ला-१(२) मा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका पछाई विजयी

डीबी बुढा

जुम्ला — जुम्ला १(२)मा नेकपा एमालेका युवा नेता टेकराज पछाई कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई हराउँदै विजयी भएका छन् । पराजित भएका रोकाया सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । 

उनलाई पछाईले १ हजार १ सय १२ मतान्तरले हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । पछाईले ७ हजार ८ सय १२ मत प्राप्त गरेकोमा रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।

पछाई नेकपा एमाले कर्णाली प्रदेशका नेकपा एमाले कर्णाली प्रदेशका उपसचिव हुन् । प्रदेशसभाको लागि जुम्ला १(२) मा २० हजार ६ सय १६ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सूचना अधिकारी धर्म स्वॉरले स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ र नेमकिपाका बिर्ख रावतले १ हजार २ सय २ मत प्राप्त गरेको जानकारी दिए ।

प्रकाशित : मंसिर ७, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

विकृतिविरुद्ध दलित महिला

डीबी बुढा

जुम्ला — कनकासुन्दरी–४ की वसन्ती स्वर्णकार सामाजिक विकृतिविरुद्धको अभियानमा सक्रिय छिन् । उनी दलित र गैरदलितबीचको छुवाछुतको खाडल पुर्न चाहन्छिन् । त्यो संगै समाजमा हुने बालविवाह, बहुविवाह, छाउपडी प्रथा र जारी प्रथालगायतका विषयमा खरो रूपमा उत्रिन्छिन् । उनी गाउँकी एक अगुवा हुन् । 


चार वर्षदेखि उनी छिमेकी गाउँमा समेत घुमफिर गरेर सचेतना फैलाउँदै आएकी छन् । गाउँगाउँमा दलित सञ्जाल गठन गरेर समाजमा समानताको पक्षमा वकालत गर्न थालेको उनले बताइन् । दलित र गैरदलितबीच कुनै भिन्नता छैन । दलितको पनि रगत रातो हुन्छ, गैरदलितको पनि रगत रातो हुन्छ । दलित र गैरदलितले खाने गाँस, बस्ने, बास र ओढ्ने कपास एउटै खाले हुन्छ । वसन्तीले भनिन्, ‘कसरी दलित तल्लो जातको भए गैरदलित माथिल्लो जातको । यही असमानता हटाउन गाउँगाउँमा पुगिरहेका छौं । दह्रोसँग समानताको पक्षमा आवाज उठाइरहेका छौं । एक हाम्रो एक प्रकारको विद्रोह नै हुनेछ ।’

उसो त उनीहरूले गैरदलितलाई बोलाएर आफ्नो घरमा खाना खुवाउने कार्यको थालनीसमेत गरेका छन । उनीहरू पनि गैरदलितकोमा गएर खाना खाने बस्ने गर्छन् । उनले भनिन्, ‘पछिल्लो पुस्तामा छुवाछुतको खासै समस्या देखिँदैन । तर पुरानो पुस्ताले अझै दलितलाई स्विकारेको अवस्था छैन ।’

अहिले धारा पधेंरा एउटै छन् । हिँड्ने बाटोदेखि कामकाज गर्न सँगसँगै जान्छन् । एकआपसमा सहयोग आदानप्रदानसमेत हुन्छ । अर्की विलुपा सार्कीले भनिन्, ‘पहिले दलितका बालबालिका स्कुल जान हुँदैन भनिरहेका हुन्थे । अहिले सहजै रूपमा स्कुल जान्छन् । पानी पधेंरो गर्न असहज हुन्थ्यो अहिले निकै सहज छ । यो भन्दा ठलो उपलब्धि के नै हुन सक्छ । ’

उनीहरू छुवाछुतविरुद्धको अभियानमा मात्र संलग्न छैनन् । गाउँमा हुने बालविवाह रोक्ने, मदिरा सेवन निषेध गर्नेदेखि छाउपडी हुँदा घरमा बस्नुपर्ने भन्दै दबाब अभियान चलाउँछन् । विलुपाले भनिन्, ‘पहिले समाजमा बोल्न धक लाग्थ्यो । डर त्रास हुन्थ्यो । भद्रभलादमीले केही भन्ने हुन् कि भन्दै मनमा खुलदुली हुन्थ्यो । तर अहिले निर्धक्क आफ्नो विषय राख्ने गरेका छौं । सरकारलाई खबरदारी गर्नेदेखि सामाजिक विकृतिका विषयमा बहससमेत चलाउने भइसकेका छौं । ’

गत वर्ष दलित बस्तीमा बालविवाह हुनै लाग्दा बालक र बालिका सँगै अभिभावक राखेर आआफ्नो घरमा फर्काएको अनुभव उनले सुनाइन् । ‘अहिले तिमीहरूको उमेर भइसकेको छैन । बालविवाह गर्न कानुनले दिँदैनन् । हाम्रो स्वास्थ्यसमेत बिग्रन्छ । भविष्य डामाडोल नै हुन्छ, भनेर सम्झायौं,’ उनले भनिन्, ‘बालबालिका राजी भए । अभिभावक पनि सहमत भए पनि आआफ्नो छोराछोरी बुझेर लगेका थिए ।’

अधिकांश दलित महिला अहिले छाउ भएको समयमा घरमै बस्छन् । प्याडको प्रयोग गर्छन् । समयसमयमा नुहाइधुवाइ गरेर सफासुग्घर हुन्छन् । आफ्नो घरआँगन, गाउँबस्ती नै चिटिक्क पार्छन् । उनले भनिन्, ‘अहिले निर्धक्क आफ्नो विषय राख्छौं । मनमा लागेका कुनै पनि विषय सहजै बोल्छौं । राम्रो कुराको समर्थन गर्दै नराम्रो कुरा सच्याउन तत्काल आग्रह गर्छौं । योजना तर्जुमा गोष्ठीमा भाग लिएर आफ्नो योजना आफैं छान्छौं । महिला अधिकारका विषयमा चासो राख्छौं ।’

उनीहरू नजिकैको स्थानीय सरकारसँग आफ्ना माग राख्दै निरन्तर खबरदारीसमेत गर्छन् । दलित महिलाकै पहलमा गोरुचौर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि दलित नै छन् । जसका कारण दलित विद्यार्थी विद्यालयमा आउजाउ गर्न सहज वातावरण छ । स्थानीय सरकारसँग दलितमैत्री विकास माग्छन् । आफूले चुनेको प्रतिनिधिसँग विकासका विषयमा छलफल चलाउँछन् । गत वर्ष उनीहरूले स्थानीय सरकारसँग दलित सञ्जालको भवन मागे । अहिले त्यो भवनमा सचेतनामूलक कार्यक्रम भइरहन्छन् । उनीहरूको बैठक बस्ने, योजना निर्माण गर्नेदेखि लिएर कामको समीक्षासमेत त्यही भवनभित्र हुने गर्छ । कनकासुन्दरी ४ कै लक्ष्मी बूढा अहिले दलित महिला निकै सक्रिय भएको बताउँछिन् । उनले भनिन्, ‘गाउँटोलको सरसफाइ गर्ने, विवाद समाधान गर्नेदेखि गाउँको शान्ति सुरक्षाको जिम्मेवारीसमेत उनीहरूकै हातमा छ । अहिले सशक्त रूपमा दलित महिला उभिन थालेपछि गैरदलितबाट हुने कुनै पनि भेदभाव हुँदैन ।’ न दलितमाथि गैरदलितले दुर्व्यवहार गर्ने आँट गर्छन् न त कुनै अपमान नै उल्टै सम्मानजक भाषाशैलीको प्रयोग गरेर आदार गर्छन् ।

दलित गैरदलित एउटै घरभित्र बस्छन् । तर दलित अझै चुलोसम्म पुग्न सकेका छैनन् । पहिले विवाह गर्दा भान्सा छुट्टाछुट्टै हुन्थ्यो । अहिले एउटै हुन्छ । गाउँमा विवाद हुन छाडेका छन् । उनले भनिन्, ‘सामाजिक विकृतिविरुद्ध दलित गैरदलित महिला एकै ठाउँमा उभिन्छन् । मर्दापर्दा एकआपसमा सहयोगी भावना राख्छन् । योभन्दा नमुना काम अरु के नै हुन सक्छ र ?’

जिल्लामा दलित सञ्जाल, संघसंगठनले आवाज उठाइरहँदा गाउँमा दलित महिला जुर्मुराएर अघि बढेका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही दलित र गैरदलितबीच कुनै भिन्नता नभएको भन्दै सबै एक भएर अघि बढ्ने योजनाको निर्माण भइरहेको बताउँछन् । उनले भने, ‘जातीय छुवाछुत अन्त्य गर्नेदेखि हरेक प्रकारका असमानता हटाउन स्थानीय सरकार लागि परेको छ, जसका लागि सबैसँगको परामर्श चलिरहेको छ ।’ उनले दलित र महिलामैत्री कामको लागि पालिका सरकार जिम्मेवारपूर्वक लागि परेको समेत बताए ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×