लमजुङमा मतान्तर घटाउँदै देव गुरुङ

आश गुरुङ

लमजुङ — नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरिरहेको लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले मतान्तर घटाउँदै लगेका छन् ।

लमजुङमा मतान्तर घटाउँदै देव गुरुङ

स्थानीय तह चुनावमा एमालेले ‘क्लिन स्वीप’ गरेको पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिका र सत्ता गठबन्धनले जितेको दूधपोखरी गाउँपालिकामा मतगणना भइरहँदा पृथ्वीसुब्बा देव गुरुङभन्दा १ हजार ९ सय ९ मतले अगाडि थिए । त्यतिबेला कूल १७ हजार ९ सय २८ मतगणना भएको थियो ।

क्व्होलासोंथर र दूधपोखरीको मतगणना सकिँदा पृथ्वीसुब्बाले १ हजार ८ सय मतले अग्रता लिए । उनले दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाबाट ६ हजार २२ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार देवप्रसादले ४ हजार १ सय ३१ मत पाए । क्व्होलासोथरमा पृथ्वीसुब्बाले ४ हजार १ सय ९० मत भए भने देवप्रसादले १ हजार ३ सय ४२ मत पाए । दूधपोखरीमा देवप्रसादले २ हजार ७ सय ८९ मत पाए भने पृथ्वीसुब्बाले १ हजार ८ सय ३२ मत पाए ।

त्यसपछि कांग्रेसले प्रमुखसहित बहुमत जितेको मध्यनेपाल नगरपालिका र झिनो मतान्तरले एमालेले प्रमुखसहित बहुमत जितेको दोर्दी गाउँपालिकाको मतगणना सक्दा एमाले उम्मेदवार पृथ्वीसुब्बाले १ हजार ५ सय ८८ मतले अग्रता कायम गरेका छन् । एमालेका एक नेताका अनुसार मध्यनेपाल र दोर्दीमा एमालेले सोचेजस्तो मत आएन । दूधपोखरीमा पनि कम आयो । दूधपोखरी र दोर्दीमा एमालेको पक्षमा कम मत खस्दा प्रदेशसभा सदस्यका एमाले उम्मेदवार जमीन्द्रमान घले कांग्रेसका टकबहादुर गुरुङ भन्दा १ हजार ७ सय १७ मतले पछाडि परेका छन् ।

क्व्होलासोंथार, दूधपोखरी र दोर्दी गाउँपालिका साथै मध्यनेपाल नगरपालिकाको मतगणना सक्दा कूल ३१ हजार ५ सय ९२ मत गणना भएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले १४ हजार ७ सय ६७ मत पाएका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले १३ हजार १ सय ७९ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार ३ वटा गाउँपालिका र एउटा नगरपालिकाको मतगणना सकिएसँगै सुन्दरबजार र राइनास नगरपालिकाको मतगणना सुरु भएको छ । सत्ता गठबन्धनले जितेको राइनासमा कांग्रेससँग मिलेर माओवादीले उपप्रमुख जितेको थियो । उक्त पालिकामा कांग्रेसको बहुमत छ । लमजुङमा सबैभन्दा बढी माओवादी केन्द्रका कार्यकर्ता रहेको मानिने उक्त ठाउँ र देवप्रसाद गुरुङले मनाङबाट बसाइँ सरेर घरजग्गा लिएको ठाउँ सुन्दरबजार नगरपालिकाको मतगणना सुरु भएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार राइनास र सुन्दरबजारमा भारी मतान्तरमा देवप्रसाद गुरुङले अग्रता कायम गर्ने अनुमान छ । एमाले एक नेताका अनुसार राइनासमा देवप्रसाद गुरुङले पृथ्वीसुब्बालाई जिल्लामै सबैभन्दा बढी मतान्तरले अग्रता कायम गर्नेछन् । सुन्दरबजारमा भने पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गर्ने ती नेताले बताए । सुन्दरबजारमा गठबन्धनले अग्रता कायम गर्न नसकेमा पृथ्वीसुब्बाका लागि जित्न सहज हुने दुवै पक्षको बुझाइ छ ।

सत्ता गठबन्धन हुँदा पनि बेंसीसहर नगरपालिका र मर्स्याङदी गाउँपालिका एमालेले जितेको ठाउँ हो । यस ठाउँबाट पृथ्वीसुब्बा गुरुङले देवप्रसाद गुरुङलाई मतान्तर बढाउने माओवादी नेताहरूको आकलन छ । हालसम्म पृथ्वीसुब्बा गुरुङले प्राप्त गरेको मतले राइनास नगरपालिकामा देवप्रसाद गुरुङले पाउने मतलाई बराबरी गरेर पनि अझै बाँकी रहने र सुन्दरबजार, बेंसीसहर नगरपालिका र मर्स्याङदी गाउँपालिकामा मतान्तर बढाउँदै चुनाव जित्ने पृथ्वीसुब्बा गुरुङको आकलन छ । पृथ्वीसुब्बा गुरुङसँग भएको मतलाई राइनासको मतले कटाउन नसकिए देवप्रसाद गुरुङले आफू पराजित हुने मनस्थिति बनाएको उनी निकट स्रोत बताउँछ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए । निर्वाचनमा ८० हजार ४ सय ४८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रकाशित : मंसिर ६, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?