रौतहट-१ मा नेकपा एसका अध्यक्ष माधव नेपालको अग्रता कायमै

शिव पुरी

रौतहट — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतगणनाको सुरुवातीदेखि नै करिब १ हजार मतले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनलाई चुनौती दिँदै एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइरहेका छन् ।

रौतहट-१ मा नेकपा एसका अध्यक्ष माधव नेपालको अग्रता कायमै

दुवैबीच भारी मतअन्तर भने छैन । रौतहटको २ र ३ मा स्वतन्त्र उम्मेदवार अघि छन् । चारमा सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।

समाजवादीका अध्यक्ष नेपाल रौतहट १ मा ९ हजार ७ सय ३२ मतका साथ अगाडी छन् । त्यहाँ एमालेका अजयकुमार गुप्ताको ८ हजार ८ सय ६४ मत छ । ८ सय ६८ मतले नेपाल अघि छन् । नेपाल र गुप्ताबीच मतगणनाको सुरु देखिनै हजारतलकै मत अन्तर छ । अध्यक्ष नेपालले यही क्षेत्रमा २०५६ सालको संसदीय निर्वाचनमा जितेका थिए । २०६४ मा भएको पहिलो सविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट माओवादी नेता देवेन्द्र पटेलसित पराजित भए । २०७० मा भएको दोस्रो संविभानसभा निर्वाचनमा नेपालले क्षेत्र नम्बर १ बाट चुनाव जिते । त्यस बेला उनको प्रतिद्वन्द्वी गुप्ता नै थिए । गुप्ता पूर्व नगरप्रमुख हुन् ।

रौतहट २ मा स्वतन्त्र पार्टीका किरण साहले ५ हजार ९ सय ४१ मतले अग्रता लिँदा सत्ता गठबन्धन नेपाली कांग्रेसका फिरदोस आलमले ४ हजार ९सय ८० ल्याएका छन् । यो क्षेत्रमा साहले सुरुदेखि नै अग्रता लिइरहेका छन् । कांग्रेसको पकड मानिने यस क्षेत्रमा पूर्वमन्त्री मोहम्मद आफताब आलमका जेठो छोरा फिरदोस उठेका हुन् । आलम अहिले नख्खु जेलमा छन् ।

रौतहट ३ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह ६ हजार २ सय ५३ मत ल्याएर अगाडि छन् । दोस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालको ३ हजार ७ सय ५१ मत ल्याएका छन् । तेस्रोमा नेकपा माओवादीका रविन्द्र पटेलको १ हजार ७ सय ५९ मत छ । सत्तारुढ कांग्रेस, एकीकृत समाजवादी,नेकपा एमाले,जसपाको साथ पाएको जैसवालले साहलाई उछिन्न सकेका छैनन् । एमालेको तत्कालीन पोलीटब्युरो सदस्य समेत रहेका साहले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

रौतहट ४ मा सत्तागठबन्धनका उम्मेदवार कांग्रेसका देवप्रसाद तिमल्सिना ६ हजार ८ सय ९९ मतका साथ अग्रता लिइरहेका छन् । नेकपा एमालेका उद्धव रेग्मीले ६ हजार १ सय २६ मतका साथ तिमल्सिनालाई पछ्याइरहेका छन् । तिमल्सिनाले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

प्रकाशित : मंसिर ६, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?