सर्लाहीका दुई क्षेत्रमा स्वतन्त्र अगाडि- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

सर्लाहीका दुई क्षेत्रमा स्वतन्त्र अगाडि

ओमप्रकाश ठाकुर

सर्लाही — चार निर्वाचन क्षेत्र रहेको सर्लाहीका दुई क्षेत्रको प्रतिनिधिसभामा दलहरूलाई पछाडि पार्दै दुई स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् । सर्लाहीको क्षेत्र–१ र ४ को प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका हुन् । 

सर्लाही क्षेत्र–१ को पछिल्लो मत परिणामअनुसार गठबन्धन दललाई चुनौती दिँदै एमालेबाट बागी बनेर स्वतन्त्र उठेका मानबहादुर खड्का सबैभन्दा अग्रस्थानमा छन् । उनले मंगलबार बिहानसम्ममा २ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । उनलाई सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामप्रकाश चौधरीले पछ्याइरहेका छन् । चौधरीले १ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । यस्तै जसपा–एमाले गठबन्धनबाट जसपाका निवर्तमान सांसद प्रमोद साहले भने १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ४ मा पनि दुई गठबन्धन दललाई पछि पार्दै स्वतन्त्रबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले अग्रता बनाएका छन् । कांग्रेसका तर्फबाट निवर्तमान सांसद रहेका सिंहलाई पार्टीले उम्मेदवार बन्न रोकेपछि सिंहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार सिंहले २ हजार २ सय ५९ मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका नागेन्द्र कुमारले २ हजार २ सय ५४ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीबाट बागी बनेका नेता शिवपुजन रायकी छोरी मधुमाला कुमारीले १ हजार ६ सय ३३ मत ल्याएकी छन् ।

सर्लाहीको क्षेत्र नम्बर २ मा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव अग्रस्थानमा छन् । माओवादीको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राय १ हजार १ सय १३ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई मित्रवत् प्रतिस्पर्धामा रहेका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पछ्याइरहेका छन् । महतोले ८ सय ४२ मत प्राप्त गरेका छन् । यस्तै क्षेत्र नम्बर ३ मा झिनो मतले एमालेका हरि उप्रेतीले अग्रता लिएका छन् । उप्रेतीले २ हजार ५ सय १२ मत प्राप्त गरेका छन् भने उनलाई माओवादीका नरेन्द्र साहले पछ्याइरहेका छन् । साहको २ हजार ४ सय ३१ मत छ ।

प्रकाशित : मंसिर ६, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा अधिकारकर्मी महावीर विश्वकर्माको निधन

रमेशकुमार पौडेल

चितवन — सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ ।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए । उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए । चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए ।

सो दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डीएसपी पण्डितले बताए । अन्य चारजनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×