संखुवासभामा अझै सुरु भएन मतगणना- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

संखुवासभामा अझै सुरु भएन मतगणना

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभमा अझै मतगणना सुरु हुन सकेको छैन । विकट मतदान केन्द्रका मतपेटिका मतगणनास्थल खाँदबारी ल्याउन ढिलाइ हुँदा मतगणनाको काम सुरु हुन नसकेको हो । सहायक मुख्य निर्वाचन अधिकृत ईन्द्रप्रसाद सापकोटाका अनुसार भोटखोलाको गोलाबजारमा संकलन गरिएको मतपेटिका ल्याउन ढिलाइ हुँदा मतगणना हुन नसकेको हो । 

सोमबार दुर्गम भोटखोला गाउँपालिकाका ३ वटा मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट सोमबार सदरमुकाम खाँदबारी ल्याइएको थियो । विकट मानिएको च्याम्ताड्ड मतदान केन्द्रको मतपेटिका हिँडाएर ल्याउँदा ढिलाइ भएको हो । किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याइए पनि गोला बजारमा संकलन गरिएको ११ केन्द्रको मतपेटिका मंगलबार सोमबार मध्यरातिमात्र आइपुगेको छ । च्याम्ताड्ड मतदान केन्द्रका कर्मचारी १५ घण्टा हिँडेर गोलाबजार आएका थिए ।

मंगलबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको सापकोटाले बताए । १ सय ६४ केन्द्रको मतपेटिका संकलन भइसकेको उनले बताए । उनका अनुसार विकटता र कच्ची सडक भएकाले मतपेटिका समयमै ल्याउन नसकिएको हो । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्ने तयारी गरिएको छ । तारजाली लगाएर सीसीटीभी क्यामराको निगरानीमा मत गन्ने तयारी गरिएको छ । संखुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभामा हेलिकप्टरबाट मतपत्र ल्याइयो [फोटोफिचर]

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाका दुर्गम भोटखोला गाउँपालिकाका ३ वटा मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट सोमबार सदरमुकाम खाँदबारी ल्याइएको छ ।  ३ दिनसम्म पैदल हिँडाएर ल्याउनु पर्ने भएपछि चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट मतगणनास्थल खाँदबारी ल्याइएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोटखोला गाउँपालिकाको हटियागोलामा संकलन गरिएको मतपेटिका भने अझै ल्याइएको छैन । त्यहाँ भोटखोलाका ११ वटा मतदान केन्द्रको मतपेटिका संकलन गरिएको छ । भोटखोलाको च्याम्ताङ मतदान केन्द्रको टोली आएपछिमात्रै सबै मतपेटिका खाँदबारी ल्याइने छ ।

मतगणना जिल्ला समन्वय समितिको सभाहलमा हुने छ । च्याम्ताङ मतदान केन्द्रको मतपेटिका सोमबार राति ८ बजेसम्ममा हटिया गोलामा आइपुग्ने अनुमान गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए । १ सय ६४ मतदान केन्द्रमध्ये १ सय ५३ केन्द्रको मतपेटिका सदरमुकाम खाादबारीमा संकलन भइसकेको छ । सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना गरिने छ । संखुवासभामा करिव ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।


प्रकाशित : मंसिर ५, २०७९ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×