मधेसमा मतगणना ढिलाइ- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा मतगणना ढिलाइ

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा
मत सदर र बदरको विषयमा विवाद
कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिलाइ
मधेस ब्युरो

जनकपुर — सर्वदलीय बैठक बस्न ढिलाइले मधेस प्रदेशका आधाजसो निर्वाचन क्षेत्रमा सोमबार साँझसम्म मतगणना हुन सकेको छैन । सोमबार बिहान सप्तरी–२ र धनुषा–३ मा मतगणना थालिएको छ । मधेसमा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये सोमबार साँझसम्म १४ वटामा गणना सुरु हुन सकेको छैन ।

धनुषामा सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा सुरु गर्न ढिलाइ भएको थियो । चार निर्वाचन क्षेत्र रहेको धनुषाका तीन क्षेत्रमा मतगणना अबेर सुरु भएको छ । धनुषा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय बिदेह नगरपालिकाको तिनकौरियामा मतगणना सुरु गर्न सर्वदलीय बैठक अपराह्न बोलाएपछि साँझदेखि मतगणना सुरु भएको हो ।

पर्सामा मतगणना ढिलो गरी सुरु भएको छ । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस मतदान केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सोमबार दिउँसो १ बजेबाट मात्र सुरु भएको छ । त्यसैगरी, पोखरियास्थित जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक विद्यालयमा क्षेत्र नं ३ को दिउँसो साढे ३ बजे र क्षेत्र नं ४ को ३ बजे मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले आइतबार राति मतपेटिका संकलन हुन ढिलाइ भएको तथा सोमबार बिहान सर्वदलीय बैठकमा पार्टी प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना ढिलो गरी सुरु भएको बताए । पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेको पर्सामा २ लाख ३८ हजार ६ सय १६ मतदान भएको छ । जुन ६६ दशमलव ८६ प्रतिशत हो ।

मतपेटिका जिम्मा लिनेदेखि दलको बैठकको ढिलासुस्तीले रौतहटको क्षेत्रनम्बर १, २ र ३ को मतगणना सोमबार साँझ सुरु भएको छ । आइतबार चारवटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भए पनि जिल्ला निर्वाचनको कार्यालयले रातभरजस्तै मतपेटिका बुझ्ने काम गरेको थियो । यही कारण मतगणनामा ढिलाइ भएको थियो । जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले सोमबार बिहानसम्म मतपेटीको बुझ्ने काम भएको र त्यो सकिनासाथ सर्वदलीय बैठक बोलाउदा दलका प्रतिनिधिहरू आउन ढिला गरेकोले मतगणना प्रभावित भएको बताए । क्षेत्र नम्बर ४ को मतगणना दिउँसो १ बजे सुरु भएको थियो । १,२ र ३ को सर्वदलीय बैठक बस्न ढिला भएको निर्वाचनको कार्यालयले जनायो । जिल्लाको चारवटै निर्वाचन क्षेत्रको ५ सय २३ वटै मतदान केन्द्रको मतपेटिका राति अबेरसम्म मतगणस्थल पुर्‍याइएको थियो ।

जिल्ला निर्वाचनको कार्यालयका अनुसार स्थानीय तहभन्दा अहिलको निर्वाचनमा कम (६२.४७ प्रतिशत) मत खसेको छ । ४ लाख १५ हजार ४५५ मतदाता रहेको यस जिल्लामा २ लाख ५९ हजार ५२८ मत मात्र खसेको निर्वाचनको कार्यालयले जनायो । जिल्लाको कुल चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १ सय ४० जना उम्मेदवारहरू चुनावी मैदानमा थिए । मतगणनास्थलमा भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सर्वदलीय बैठकमा मतगणनाको प्रक्रियाको बारेमा दल र निर्वाचन अधिकृतको कार्यालयबीच साझा धारणा बन्न नसकेपछि सिरहामा पनि मतगणनामा ढिलाइ भएको छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजे बोलाएको सर्वदलीय बैठकमा दलहरूले प्रत्येक वडाहरूको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले भने निर्देशिकाअनुसार दुई वटा वडाहरू मिसाएर मिश्रित रूपले गणना गर्नुपर्ने धारणा राखेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो ।

दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि दलहरूले मतगणना कार्य बहिष्कार गरेका छन् । दलहरूको सहभागिताविना निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रक्रिया नै अगाडि बढाउन सकेका छैनन् । दल र कार्यालयबीच दिउँसो १ बजेबाट पुनः बैठक बसेको थियो । तर पनि सहमति हुन सकेको छैन । ‘वडागत रूपले छुट्टाछुट्टै मत गणना गर्नुपर्छ भनेर हामी सबै दलहरूले साझा प्रस्ताव मान्यौं तर निर्वाचन अधिकृतले मान्नुभएन’, कांग्रेसका प्रतिनिधि सन्तोष उपाध्यायले भने, ‘उहाँहरूले निर्देशिका देखाउनुभयो, निर्देशिका भनेको त विवाद उत्पन्न भएपछि पो देखाइने हो ।’ सिरहा क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयको प्रवक्ता तथा सहायक निर्वाचन अधिकृत अनिल रेग्मीले निर्वाचन निर्देशिकामा दुई वा दुईभन्दा बढी वडाहरूको मतपेटिकाभित्र रहेका मत मिसाएर मतगणना गर्नुपर्छ भन्ने प्रावधान राखिएको हुनाले प्रक्रियामा विवाद उत्पन्न भएको जानकारी दिए । रेग्मीले विवाद समाधानका लागि प्रयास भइरहेको जानकारी दिए ।

सिरहाका चार वटै क्षेत्रको मतगणना प्रक्रियाबारे अहिले सर्वदलीय बैठक भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन् । सिरहा क्षेत्र नम्बर १ को लहानस्थित दुलिचन्द अतिथि सदनमा, २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवनमा, ३ को सदरमुकाम सिरहा बजारस्थित चन्द्र माध्यमिक विद्यालयमा र क्षेत्र नम्बर ४ को मतगणना मोहन माध्यमिक विद्यालय मिर्चैयामा हुने भएको छ ।

सिरहामा २ सय २१ मतदानस्थल र ५ सय ५ मतदान केन्द्र थिए । ४ क्षेत्र रहेको सिरहामा ४ लाख २२ हजार ७ सय १२ मतदाता थिए । तीमध्ये सिरहा क्षेत्र नम्बर १ मा ७० हजार ५ सय २४, क्षेत्र नम्बर ३ मा ७३ हजार ७ सय ९ र क्षेत्र नम्बर ४ मा ६५ हजार ५ सय २४ मत खसेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । मतगणना सुरु गर्नुपर्ने भए पनि सिरहा क्षेत्र नम्बर २ मा कति मत खस्यो भने यकिन तथ्यांक क्षेत्र नम्बर २ निर्वाचन कार्यालयसँग छैन । कार्यालयका मतको तथ्यांक संकलन गर्ने कृष्णकुमार महतोले अहिलेसम्म तथ्यांक इन्ट्री गर्ने कार्य भइरहेको जानकारी दिए ।

महोत्तरीमा पनि सोमबार साँझसम्म मतगणना सुरु भएको छैन । सर्वदलीय बैठकले मतगणना कसरी गर्ने भन्ने विषयमा सम्झदारी गर्न नसक्दा मतगणना सुरु हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । मतपेटिका काहाँबाट खोल्ने, कस्ता मतलाई सदर र बदर गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा मतगणनामा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ । महोत्तरी क्षेत्र नं २ मा कस्तो मत सदर र बदर गर्ने भन्ने विषय नमिल्दा गणना सुरु हुन ढिला भएको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत सुनिल चौहानले जानकारी दिए । दलबीच कुरा नमिल्दा केही समयलाई सर्वदलीय बैठक नै स्थगित गरिएको चौहानले बताए । क्षेत्र नं १ मा सदर र बदर मतको विषय र प्रदेशमा कुन क्षेत्रको मतपेटिका पहिले खोल्ने भन्ने विषयमा कुरा नमिल्दा गणना सुरु हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

‘जनतामा जनआन्दोलनको उत्साह सकिएछ’

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडस्थित देवी मावि मतदानस्थलमा वैशाखको स्थानीय निर्वाचनमा पाँच वटा मात्र मतदान केन्द्र थिए । मतदाताको भीड बिहानैदेखि थियो । उक्त भीड देखेका निर्वाचन कर्मचारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि थप चार मतदान केन्द्र बढाएर ९ वटा बनाए । तर, आइतबारको निर्वाचनमा जुन उत्साहको अपेक्षा गरिएको थियो, ठीक त्यसविपरीत न्यून संख्यामा मात्र मतदाता उपस्थित भए । 


देवी माविमा जस्तै जिल्लाका ७ सय ६८ वटै मतदान केन्द्रमा आइतबार मतदान गर्नेको संख्या न्यून रह्यो । मतदान गर्नेमध्येका पनि अधिकांश वृद्धवृद्धा थिए । जिल्लामा ‘हेभिवेट’ उम्मेदवारहरू भए पनि मतदातामा भने त्यसको प्रभाव देखिएन । निर्वाचन पर्यवेक्षण गर्ने क्रममा जिल्लाका करिब दुई दर्जन मतदानस्थल पुगेका झापाका अध्यक्ष रूपक खनाल भन्छन्, ‘हामी पुगेका सबै मतदान केन्द्रमा मतदाताको उपस्थिति एकदमै न्यून थियो । झापा–३ को बाह्रदशी गाउँपालिकाको कार्यालय परिसरमा बनाइएको मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म मतदाता नै थिएनन् । कर्मचारीहरू अचम्म मान्दै गफिँदै थिए ।’

वरिष्ठ अधिवक्ता लीला उदासीले जनतामा ०४६ तथा ०६२/६३ को जनआन्दोलनको उत्साह र विश्वास सकिएको अर्थ्याए । उनले भने, ‘०४६ को आन्दोलनपछि जनतामा एक किसिमको उत्साह जागेको थियो । राजनीतिक दलहरूले राम्ररी सरकार चलाउन नसके पनि जनताले राजनीतिक दलप्रतिको विश्वास गुमाएका थिएनन् । ०६२/६३ को आन्दोलनले पुनः जनतामा विश्वास र अपेक्षा जगाउने काम गर्‍यो । तर, फेरि पनि राजनीतिक दलहरूले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको आज (आइतबार) को चुनावी उपस्थितिमा देखियो ।’

उनले यो पटक राजनीतिक दलका उम्मेदवारले ‘एजेन्डा बिनै’ भोट मागेकाले पनि जनतामा भोट दिनुपर्छ भन्ने उत्साह नजागेको धारणा राखे । ‘उम्मेदवारले न त कुनै एजेन्डा देखाएर जनतालाई आशा जगाए । न त भ्रष्टाचारबारे कसैले बोले,’ उनले थपे, ‘स्विस बैंकमा जम्मा भइरहेको नेपाली पैसा र राष्ट्रिय उत्पादनबारे कुनै दलले केही नबोलेको आक्रोशका रूपमा मतदाताको न्यून उपस्थितिलाई बुझ्न सकिन्छ ।’

दलहरू जनता र मुलुकको भविष्य बनाउनेभन्दा पनि को ठूलो, को सानो हुने होडबाजीका रूपमा यस पटकको चुनावलाई लिएकाले पनि जनतामा मत खसाल्ने उत्साह नजागेको उनको भनाइ छ । पूर्वप्राध्यापक चिन्तामणि दाहालले पार्टीहरूको गठबन्धन राजनीतिप्रति जनताको आक्रोश भएको धारणा राखे । उनले भोट किन दिने ? भन्ने प्रश्नको उत्तर नपाएकाले मतदातामा चुनावी उत्साह नभएको बताए । उनले यसबाट राजनीतिक दलहरूले ठूलो शिक्षा लिनुपर्ने सुझाए ।

प्रकाशित : मंसिर ६, २०७९ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×