संखुवासभामा हेलिकप्टरबाट मतपत्र ल्याइयो [फोटोफिचर]


संखुवासभा — संखुवासभाका दुर्गम भोटखोला गाउँपालिकाका ३ वटा मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट सोमबार सदरमुकाम खाँदबारी ल्याइएको छ । ३ दिनसम्म पैदल हिँडाएर ल्याउनु पर्ने भएपछि चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट मतगणनास्थल खाँदबारी ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोटखोला गाउँपालिकाको हटियागोलामा संकलन गरिएको मतपेटिका भने अझै ल्याइएको छैन । त्यहाँ भोटखोलाका ११ वटा मतदान केन्द्रको मतपेटिका संकलन गरिएको छ । भोटखोलाको च्याम्ताङ मतदान केन्द्रको टोली आएपछिमात्रै सबै मतपेटिका खाँदबारी ल्याइने छ ।
मतगणना जिल्ला समन्वय समितिको सभाहलमा हुने छ । च्याम्ताङ मतदान केन्द्रको मतपेटिका सोमबार राति ८ बजेसम्ममा हटिया गोलामा आइपुग्ने अनुमान गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए । १ सय ६४ मतदान केन्द्रमध्ये १ सय ५३ केन्द्रको मतपेटिका सदरमुकाम खाादबारीमा संकलन भइसकेको छ । सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना गरिने छ । संखुवासभामा करिव ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।