पाल्पामा मतपेटिका संकलनमा ढिलाइ हुँदा मतगणना हुन सकेन - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा मतपेटिका संकलनमा ढिलाइ हुँदा मतगणना हुन सकेन 

माधव अर्याल

पाल्पा — दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको छैन । क्षेत्र नम्बर १ र २ को दुर्गम भेगबाट मतपेटिका ल्याउन राति १ बजेकाले संकलन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । 

उनका अनुसार दुर्गमबाट आउनै ढिलाइ भएको र कर्मचारीले मतपेटिका संकलन गर्न समय लागेका कारण पनि सर्वदलीय बैठक बस्न समयमा नसकेको हो । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गोपालप्रसाद ढकालका अनुसार ११ बजे सर्वदलीय बैठक हुनेछ । क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले बिहान साढे १० बजे सर्वदलीय बैठक बोलाइएको बताए ।

सर्वदलीय बैठक बसेर दलको प्रतिनिधि जुट्नासाथ मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बिष्टले बताए । मतपेटिकाहरू मतगणनास्थलमा सोमबार बिहान ५ बजेमात्र मतदान अधिकृतहरुले बुझाएका छन् । क्षेत्र नम्बर १ को रामपुर नगरपालिकास्थित नापी कार्यालय भवन र क्षेत्र नम्बर २ को तानसेनस्थित बालमन्दिर भवनमा मतगणना हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६ महिनाअघि भएको स्थानीय चुनावको भन्दा करिब ९ प्रतिशत कम मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा ६० दशमलव ९० प्रतिशत मतदाता सहभागी भएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मतदाताले मत खसालेका थिए ।

यसआधारमा स्थानीय चुनावमा मतदान गरेका करिब ९ प्रतिशत मतदाताले यसपटकको निर्वाचनमा मतदान गरेननन् । स्थानीय चुनावमा योग्य ठहरिएका कुल मतदाताको सूचीमै यसपटक ६ हजार बढी थपिएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनमा एक लाख ९९ हजार ६ सय ९० मतदाता रहेका थिए । दोहोरो नाम हुनेको हटाउने, मृत्यु, बसाइसराइँलगायतका घटाएर २ लाख १ हजार ३ सय २६ मतदाता पुगेका थिए ।


प्रकाशित : मंसिर ५, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुर क्षेत्र नम्बर १ को मतगणना सुरु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर क्षेत्र नम्बर १ को मतगणना सोमबार बिहान ९:१५ बाट सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सर्वदलीय बैठक बसेर चाँगुनारायण नगरपालिका-७ विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटीमा मतगणना सुरु भएको छ । 

१ लाख २ हजार ५२८ मतदाता भएको क्षेत्र नम्बर १ मा ७४ हजार १९ मत अर्थात्, ७२ दशमलव १९ प्रतिशत मत खसेको छ ।क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभाको दुई स्थान र प्रदेशसभा १ र २ को दुई स्थानमा मतगणना सुरु भएको छ ।

त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर १ मा राति २ बजेबाट मध्यपुर थिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा मतगणना भइरहेको छ ।

९१ हजार ९११ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६५ हजार ९१९ मत अर्थात्, ७१ दशमलव ७२ मत खसेको छ । क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ भने प्रदेश सभा १ र २ तर्फको मतगणना गर्ने तयारीमा रहेको जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×