चुनावमा किन अशान्त हुन्छ बाजुरा ?

अर्जुन शाह

धनगढी — विगतका निर्वाचनमा झैं बाजुरा आइतबार पनि दिनभर अशान्त र तनावग्रस्त रह्यो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुुढा प्रहार, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएकालगायत घटना आइतबारको मतदानमा पनि दोहोरियो । प्रहरीको गोली लागेर एक जनाको ज्यानै गएको छ ।

चुनावमा किन अशान्त हुन्छ बाजुरा ?

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगा नगरपालिका–८ स्थित गिरिखेल्ने प्रावि, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र २ र त्रिवेणी नगरपालिकाका १ र ७, जगन्नाथ गाउँपालिका ४, सदरमुुकाम मार्तडीमा रहेको बडिमालिका ९ लगायतका मतदानस्थलमा विवाद हुँदा आइतबार घण्टांै मतदान अवरुद्ध भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको थियो ।

त्रिवेणी नगरपालिका–७ दम्थास्थित केन्द्रमा मतदान सकिनै लाग्दा प्रहरीले चलाएको गोली लागेर स्थानीय करिब २५ वर्षीय सञ्जीव अयडीको मृत्यु भएको छ । त्यहाँ भएको झडपमा एक प्रहरीसहित तीन जना घाइते भए । घाइतेहरूलाई उपचारका लागि सेनाको हेलिकोप्टरले काठमाडौं लगेको छ । प्रहरीले गोली चलाउनुको कारण अझै खुलाएको छैन । केहीले मतपेटिका खोस्न खोज्दा प्रहरीले गोली चलाएको दाबी गरिरहेका छन् भने प्रहरीसँग विवाद हुँुदा गोली चलाएको केहीले बताएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक–१ स्थित मतदानस्थलको क केन्द्रमा अपराह्नतिर प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भयो । आगलागीको कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताए । कुल ८ सय ४० मतदाता रहेको त्यस केन्द्रमा ५ सय २८ मत खसेको थियो । सर्वदलीय समझदारीमा त्यहाँको मतदानलाई निरन्तरता दिइएको थियो । जिल्ला निर्वाचन कार्यालय प्रमुख अवस्थीका अनुसार बुुढीनन्दा–५ छातीकोटस्थित मतदानस्थलको मतदान स्थगित गरिएको छ । छातीकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडपपछि मतदान अवरुद्ध भएको हो ।

सदरमुकाम मार्तडीस्थित मालिका माविका प्रधानाध्यापक शुुभराज पाध्याय बाजुराको चुनाव देखेर दिक्क र खिन्न लागेको सुुनाउँछन् । ‘नेता–कार्यकर्ताको असहिष्णुता, जसरी पनि चुनाव जित्ने मानसिकता, निर्वाचनका मर्यादा र नीतिनियम उल्लंघन गर्न उद्यत हुने परिपाटीले बाजुरामा यस्तो नियति दोहोरिने गरेको हो । मत ९५/९८ प्रतिशत खसेको हुन्छ तर मतदाताले आफ्नो मत खसाल्न पाउँदैनन्,’ उनले भने, ‘यसमा बाजुराका प्रमुख पार्टी जिम्मेवार छन् ।’ मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल आफ्नो पकड भएको मतदानस्थलमा दलका कार्यकर्ताले फर्जी मत हाल्न खोज्ने प्रवृत्तिका कारण झडप हुने गरेको बताउँछन् ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मत खसालिएको थियो । जिल्लाका अन्य कतिपय मतदान केन्द्रमा पनि सोही हाराहारीमा मतदान भएको तथ्यांक छ । त्यतिबेला बुढीगंगा नगरपालिकाका वडा २, ३, ५ र ९ का मतदानस्थल एमाले कार्यकर्ताले नियन्त्रणमा लिएर मतदान गराएका थिए भने वडा ४ र ७ मा कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर एकलौटी मत खसालेका थिए । बुथ कब्जाका कारण त्यहाँ दोहोर्‍याएर मतदान गरिएको थियो । उच्च सुुरक्षाका बीच पुुन: मतदान गराउँदा केही ठाउँमा झडप भएको थियो । ०५४ को स्थानीय निर्वाचनको मतगणनाका क्रममा गोली चल्दा साविक कुल्देवमाडौं गाविस हालको बुढीगंगा ४ साहुुबाडाका कक्षा ७ मा अध्ययनरत बालक धनबहादुर खातीलाई गोली लागेको थियो । उपचारका क्रममा चार महिनापछि उनको मृत्यु भएको थियो । सोही ठाउँका ५५ वर्षीय आइते सेरालाको पनि गोली लागेर मृत्यु भएको थियो ।

०७४ को स्थानीय निर्वाचनमा देशकै सबैभन्दा बढी मत बाजुरामा खसेको थियो । त्यही सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि ८० प्रतिशत मतदान भएको थियो । ‘बुुथ कब्जा गरेर फर्जी मत खसालिने गरेकाले उच्च मतदान दर देखिएको हो,’ बाजुरा क्याम्पसका प्रमुख सुरेशराज पण्डितले भने ।

मानव विकास र गरिबी सूचकांकमा सबैभन्दा कमजोर जिल्ला बाजुरामा प्रमुख राजनीतिक दल एमाले र कांग्रेसका कार्यकर्ता आफ्नो पकडमा रहेको मतदानस्थललाई नियन्त्रणमा लिएर एकलौटी मत खसाल्न उद्यत हुने गरेका छन् । दलका कार्यकर्ताले आफ्नो पहुँच रहेको केन्द्रमा मतदाता नामावलीमा उल्लेख भएका सबै मत खसाल्ने प्रयत्न गर्छन् । कमजोर पक्षलाई मतदानस्थलबाट लखेटेर एकलौटी मतदान गर्ने चलन गत स्थानीय निर्वाचनसम्म पनि कायमै थियो । गरिबीका कारण जीविकोपार्जनका लागि यहाँका अधिकांश पुरुष रोजीरोटीका लागि भारततिरै हुन्छन् । तर उनीहरूका नाममा पनि मतदान भइरहेको हुन्छ । फर्जी मत खसाल्न रोक्ने मतदान अधिकृत वा अन्य कर्मचारीलाई धम्की दिएर चुप लाग्न बाध्य पारिन्छ ।

अधिकारकर्मी अग्नि शाही बाजुरामा मतदान शान्तिपूर्ण रूपमा हुन नसक्नुमा राजनीतिक दलका नेता–कार्यकर्ताको मात्रै नभई प्रहरी, प्रशासन र कर्मचारी संयन्त्रको पनि कमजोरी रहेको बताए । यसपालि निर्वाचन आयोगले बाजुरालगायत केही जिल्लामा विशेष सुरक्षा दस्तासमेत परिचालन गरेको थियो । बाजुरामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापा चुनावी मैदानमा छन् ।

प्रकाशित : मंसिर ५, २०७९ ०५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?