कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१५ स्थानमा मतदान स्थगन, प्रहरीको गोलीले एकको मृत्यु

७१ ठाउँमा विवाद, ३२ ठाउँमा हवाई फायर गरिए पनि सर्वदलीय सहमतिबाट अधिकांशमा मतदान सञ्चालन
मातृका दाहाल

काठमाडौँ — बुथ कब्जा, मतपत्र आगजनी र हूलहुज्जत घटनाका कारण आइतबार १५ ठाउँमा मतदान स्थगन भएको छ । बाजुरामा भने प्रहरीको गोली लागेर एक जनाको मृत्यु र केही घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयले छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

१५ स्थानमा मतदान स्थगन, प्रहरीको गोलीले एकको मृत्यु

प्रहरी प्रधान कार्यालयका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–७, दम्था मतदानस्थलमा आइतबार प्रहरीले चलाएको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको छ । मतदान गरिएका मतपेटिका खोस्ने प्रयास गरिएपछि प्रहरीले गोली चलाएको र गोली अयडीलाई लागेको प्रहरीको भनाइ छ । प्रहरी सहायक हबल्दार कृष्णबहादुर कुँवरलाई हूलबाट ढुंगा प्रहार गरी घाइते बनाएर हतियार लुटेपछि अर्का प्रहरीले गोली चलाएको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए । उनले लुटिएको हतियार अझै फेला नपरेको जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित भगवती माध्यमिक विद्यालय, सुर्खेतको सिम्ता बहुमुखी क्याम्पस र बाजुराको छतारादेवी मस्टेश्वरीको मतदान र नवलपरासीको देवचुलीमा मतदान स्थगित भएको छ । अर्बेनीस्थित भगवती माविको मतदानस्थलमा प्रदेश र संघका मतपत्र एकअर्काे बाकसमा खसाएको भेटिएपछि मतदान स्थगन गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । ‘संघका ५५/६० मतपत्र प्रदेशको बाकसमा खसाएको भेटिएपछि विवाद भयो,’ उनले भने, ‘त्यस ठाउँमा मंगलबार मतदान गर्ने सहमति भएको छ ।’

सिम्ता बहुमुखी क्याम्पसमा मतदान अधिकृतको कमजोरीले मतदान स्थगित भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘संघ र प्रदेशका छुट्टाछुट्टै मतपत्र दिनुपर्नेमा करिब एक सय जनाले प्रदेशका लागि पनि संघकै मतपत्रमा छाप लगाएर खसाएको भेटियो,’ उनले भने, ‘त्यहाँ मतदान मंगलबार गर्ने गरी तयारी थालिएको छ ।’ बाजुराको छतारादेवी मस्टेश्वरीको स्थगित मतदान पनि मंगलबार नै हुने भएको छ । बुथ कब्जा र फर्जी मतदान प्रयास भएपछि त्यहाँ मतदान स्थगित गरिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. ४ को शान्ति सिर्जना आधारभूत विद्यालय, बाजुराको बुढीनन्दा नगरपालिकास्थित नन्देश्वरी मावि पिपलचौरलगायत गरी १५ मतदानस्थलमा आइतबार मतदान स्थगन भएको छ ।

‘स्थगन भएका मतदानस्थलमा आवश्यक तयारी गरी दुई दिनभित्र पुन: मतदान गराउने उपयुक्त प्रबन्ध मिलाउँछौं,’ थपलियाले भने ।

३५ जिल्लाका ७१ मतदानस्थलमा भने विवादले अवरुद्ध भए पनि सर्वदलीय सहमति गरेर केही समयमै मतदान गराइएको थियो । मुलुकभरका ३२ मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार बाजुराका १२ मतदानस्थल, दोलखाका ८, हुम्लाका ३, रौतहटका २ तथा सिरहा, डोटी, दार्चुला, ताप्लेजुङ, बझाङ, चितवन, स्याङ्जा र अछामका एक/एक मतदानस्थलमा हवाई फायर गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी माध्यमिक विद्यालय, खप्तड छेडेदह गाउँपालिका–१ स्थित काँडाभवानी मावि, स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित वडा कार्यालय, त्रिवेणी नगरपालिका–७, नाटेश्वरी आवासीय विद्यालय खिर्पाटा, वडा १ स्थित छतारादेवी आवासीय विद्यालय, वडा ५ स्थित

ब्रह्मदेव आवासीय विद्यालय मैतोला, बडिमालिका नगरपालिका–५ हवाई फायर गरिएको थियो । बाजुराकै कैलाशेश्वरी आवासीय विद्यालय मना, जगन्नाथ गाउँपालिका–२, बालविकास आवासीय विद्यालय हुनी, बुढीगंगा नगरपालिका–१, धुरालसैन माविस्थित डुग्री, बुढीनन्दा नगरपालिका–१०, सत्यदेवी मावि पान्डुसैन र खप्तड छेडेदह गाउँपालिका–३, धनाल्त आवासीय विद्यालय गरी १२ ठाउँका मतदानस्थलमा प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो । ती ठाउँमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, मतपेटिका तोडफोड र हूलहुज्जत भएको प्रहरीले जनाएको छ ।

दोलखाको तामाकोसी गाउँपालिका–४, गोल्मेश्वर मावि डाँडागाउँ, वडा २ स्थित अमर मावि भरतेचौर, वडा ३ स्थित कालापानी मावि जफे, बैतेश्वर गाउँपालिका–२, जनज्योति मावि पुतलीकाठ, कालिञ्चोक गाउँपालिका–१, वडा कार्यालय, वडा नं. ७ स्थित सूर्योदय आधारभूत विद्यालय र जिरी नगरपालिका–९ स्थित कालिका मावि रहेको चिपचिपेमा हवाई फायर भएको हो । यी क्षेत्रमा पनि सत्ता गठबन्धन र एमाले कार्यकर्ताले हूलहुज्जत एवं फर्जी मतदानको प्रयास गरेका थिए । हुम्लाका सर्केगाड गाउँपालिका–३ को देवकोटा आवासीय विद्यालय उनापानी, सोही पालिकाको वडा १ स्थित सरस्वती मावि जैर र खार्पुनाथ गाउँपालिका–५, मानधारा मावि भकुन्डामा तोडफोड र फर्जी मतदान प्रयास भएपछि प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा राखेको थियो । त्यस क्रममा हवाई फायर पनि गरिएको थियो ।

रौतहटका गरुडा नगरपालिका–६ स्थित आधारभूत विद्यालय अमरपट्टी र गुजरा नगरपालिका–४ स्थित कनकपुरटोलस्थित विद्यालय भवनको मतदानस्थलमा हूलहुज्जत भएपछि हवाई फायर गरिएको थियो ।

यसैगरी सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय, डोटीको शिखर नगरपालिका–८ गोपघाटस्थित राधाकृष्ण मावि, दार्चुलाको शैल्यशिखर नगरपालिका–५ स्थित मालिकार्जुन मावि आगर, बझाङको छबिस पाथिभेरा गाउँपालिका–१ स्थित मस्टा आधारभूत विद्यालय गुरेलथुम र अछामको साँफेबगर नगरपालिका–१० स्थित घुघुरकोटको वडा कार्यालयमा रहेको मतदानस्थलमा पनि हवाई फयर भएको हो । बझाङमा एक प्रहरी पनि घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छिटपुटबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘बाजुरामा एक जनाको मृत्यु, केही जिल्लामा झडप र सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग र हवाई फायरबाहेक समग्रमा मतदान शान्तिपूर्ण रूपमा सकिएको छ,’ उनले भने, ‘विगतका घटनालाई हेर्दा पनि यो निर्वाचन शान्त वातावरणमा सम्पन्न भएको हाम्रो निष्कर्ष हो ।’

निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका र म्यादी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । गृहले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील सूचीमा राखेर सोहीअनुसार सुरक्षा रणनीति बनाएको थियो । उच्च जोखिममा रहेका मतदानस्थलमा सेना, प्रहरी र सशस्त्रले थप जनशक्ति खटाएर निगरानी बढाएका थिए ।

मतदान गराउन करिब २ लाख ४७ हजार कर्मचारी खटाइएको थियो । निर्वाचनमा १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र थिए । कैदी, कर्मचारी, सुरक्षाकर्मी र वृद्धाश्रममा रहेकाका लागि १ सय ४१ अस्थायी मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित : मंसिर ५, २०७९ ०३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?