२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मतदान केन्द्र नजिक दलको भोज

मतदाता भन्छन् ‘खाने सबैको हो, भोट चाहिँ मन लागेकालाई दिने हो, कसले थाहा पाउँछ’
विनोद भण्डारीे

रंगेली, मोरङ — मोरङको धनपालथान गाउँपालिका–७ कदमाहाका आशीषकुमार मण्डल नवजीवन आधारभूत विद्यालय केन्द्रमा आइतबार भोट खसाल्नेबित्तिकै अघिल्तिरको पसलमा चियानास्ता खान छिरे । उनलाई पसले प्रेम मण्डलले सोधे, ‘भोट हाम्रै पार्टीलाई दिएको पक्का हो नि ?’ भनेकैलाई भोट दिएको उनले विश्वास दिलाए ।

मतदान केन्द्र नजिक दलको भोज

त्यसपछि प्रेमले उनलाई अघाउन्जेल चना, चिउरा र मुरीको नास्ता खुवाए । उक्त पसलमा राप्रपालाई भोट हाल्ने मतदातालाई नि:शुल्क चिया नास्ताको व्यवस्था गरिएको थियो । उक्त पसलका साहु प्रेमका अनुसार राप्रपाका नेताहरु शनिबार साँझ यहाँ आएर पार्टीलाई भोट दिने मतदातालाई चिया नास्ता खुवाउन ८ हजार रुपैयाँ दिएका थिए । त्यही रकमले राप्रपाका मतदातालाई आइतबार दिनभरि चिया र नास्ता खुवाएको प्रेमले बताए । उनले भने, ‘खर्च नपुगेमा थप रकम पछि दिने मौखिक सहमति छ ।’

उक्त केन्द्रमा भोट खसालेकी भगवती नुनिया पनि लगत्तै नजिकको पसलमा भोज खान छिरिन् । उनलाई पनि त्यो पसलका साहु रामचन्द्रले जसपाको छाता चुनाव चिह्नमा मत दिएको हो भन्दै केरकार गरे । उनले दिएकै हो भनेपछि पेटभरि खुवाएर पठाए । रामचन्द्रका अनुसार पार्टीले त्यसका लािग आवश्यक रकम उपलब्ध गराएको हो । राप्रपा र जसपाले मात्र होइन, कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि आफ्ना पार्टीका उम्मेदवार र पार्टीलाई मतदान गर्नेलाई नि:शुल्क खाजाको व्यवस्था गरेको वडासदस्य समेत रहेका विश्वनाथ नुनियाले बताए । ‘यसपटकको चुनावमा मात्र यस्तो व्यवस्था गरेको होइन, हरेक पटक सबै पार्टीले आफ्ना मतदातालाई भोट हाल्ने दिन मतदान केन्द्रकै नजिक भोज दिने गरेको छ,’ उनले भने । उनका अनुसार चुनावको अघिल्लो दिन मासुसहितको व्यवस्था गर्छन् र निर्वाचनका दिन चना, चिउरा, मुरी र चिया नि:शुल्क खुवाउँछन् ।

धनपालथान–४ कर्सिया बजारको सरस्वती मावि मतदात केन्द्र वरिपरि पार्टीका उम्मेदवार र दललाई मतदान गर्नेका लागि यस्तै भोजनको व्यवस्था थियो । त्यहाँ माओवादी केन्द्रले व्यवस्था गरेको पसलमा साहुले मतदातालाई ‘चिया नास्ता खाएपछि भोट त अरु पार्टीका उम्मेदवारलाई दिन हुँदैन नि’ भनेर सम्झाउँदै थिए । मतदाता पनि त्यसो गर्दैनौ नै भन्दै आश्वस्त पारिरहेका थिए । एक मतदाताले भने, ‘आज बिहानदेखि सबै दलको भोज खाइसकें । खाने सबैको हो, भोट चाहिँ मन लागेकालाई दिने हो, कसले थाहा पाउँछ ।’

रंगेली–७ को अभिजीतदत्त आधारभूत विद्यालय केन्द्र अघिल्तिरको खाजा पसलमा दिइएको भोजमा मतदाता झुम्मिएका देखिन्थे । दल र उम्मेदवारले शनिबार साँझ टाठाबाठा मतदाताका लागि मासुसहितको खानपिन व्यवस्था गर्नु र निर्वाचनका दिन सामान्य मतदातालाई नि: शुल्क चिया नास्ताको व्यवस्था गर्नु परम्परा झै भएको स्थानीय इश्वर पोखरेलले बताए । ग्रामीण क्षेत्रका विपन्न र अशिक्षित मतदातालाई हरेक निर्वाचनमा दल र उम्मेदवारले मासु चिउरा, मदिरा, चना, मुरी र चियाले प्रभावित परेर आफूलाई मत दिन प्रभावित पार्नु सामान्य झै भएको पोखरेलको बुझाइ छ । ‘मतदानको पूर्वसन्ध्या र भोलिपल्ट मतदान केन्द्रकै सेरोफेरोमा मतदातालाई फकाउन भोज दिनु उहिलेदेखिको परम्परा हो,’ उनले भने, ‘अशिक्षित मतदाताको के कुरा, पढेलेखेका पनि यस्तो भोजमा सहभागी भइरहेका हुन्छन् ।’

प्रतिनिधिसभाका ६ र प्रदेश सभाका १२ क्षेत्र रहेको मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् । उनीहरुका लागि जिल्लाभरी ३ सय ६ मतदानस्थलमा ८ सय ३९ मतदान केन्द्र थिए । सीमावर्ती क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र नं ५ का अधिकांश मतदान केन्द्रमा मतदातालाई दल र उम्मेदवारले शनिबार राति र आइतबार बिहानदेखि नि:शुल्क भोजन र खाजाको व्यवस्था गरेको मोरङको कदमाहाका वसन्त मण्डलले बताए । उनले भने, ‘निर्वाचनमा खटिएका सुरक्षाकर्मीकै सामुन्ने उम्मेदवार र दलले मतदातालाई खानपीनको आयोजनबाट प्रभावित गर्दा पनि अनुगमन संयन्त्रले बेवास्ता गर्दै आएका छन् ।’ फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्वीटरबाट चुनाव प्रचार भइरहेको यो आधुनिक युगमा दल, नेता र मतदाताको आनीबानी परिवर्तन हुन नसक्नु दुखद भएको मण्डलले बताए । उनले भने,‘यो चुनावी कुरिती हो, यसले कुनै पनि कोणबाट राम्रो सन्देश जाँदैन, यस्तो खर्च दल र नेताले अन्तत: जनताबाटै उठाउने हो ।’


प्रकाशित : मंसिर ५, २०७९ ०२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?