१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अहिलेसम्म अपेक्षा गरेअनुसार मतदान भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

गणेश राई

काठमाडौँ — पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले निर्वाचनमा अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताएकी छिन् । ‘हामी अहिले बिहानको समयमा ललितपुरको गाउँ क्षेत्र पर्यवेक्षण गरेर पाटक दरबार क्षेत्र आइपुगेका छौं,’ निर्वाचन अवलोकन तथा पर्यवेक्षणमा रहेकी कार्कीले कान्तिपुरसित भनिन्, ‘बिहानको समयमा मतदान कम भएको पाएका छौं । दुई–तीन सयको हाराहारीमा मात्र मत खसेका छन् । दिउँसो मतदाता बढ्न सक्ने अनुमान छ ।’ 

अहिलेसम्म अपेक्षा गरेअनुसार मतदान भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

कार्कीलगायत पूर्वनिर्वाचन प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीसहितको टोलीले ललितपुर क्षेत्रको १४ मतदान स्थानको अवलोकन गरेको हो । ‘हाम्रा मतदाताहरू परिपक्व भाका छन्,’ उप्रेतीले भने, ‘दलहरू पनि परिपक्व भाका छन् ।’

उप्रेतीले निर्वाचनको व्यवस्थापन एकदमै राम्रो भएको बताए । ‘मतदाताहरू ढुक्कसँग मत हाल्ने नआत्तिकन मतदान केन्द्रमा आइराखेको देखिन्छ,’ पहिलो संविधानसभा र दोस्रो संविधानसभामा निर्वाचन प्रमुख आयुक्त रहेका उप्रेतीले भने, ‘भरेसम्म हालौँला भन्ने हिसाबले एकै ठाउँमा जम्मा भएको देखिँदैन । अहिले (मध्यान्ह १२) लगभग यति प्रतिशत मत खस्यो भन्ने अवस्था छैन । एक ग्रुप बिहान अलिक हतार गरेर आएको थियो । आलोपालो गर्ने श्रीमान पुरुष गएर महिला आउने आलोपालो गर्ने समय भएकोले बीचमा चाप कम छ । बेलुकासम्म राम्रै मत खस्ला ।’

निर्वाचन शान्तिपूर्ण सम्पन्न हुने उल्लेख गर्दै उप्रेतीले भने, ‘कहीं केही त्यस्तो खालको कसैले अफवाह फैलाएर कसैले सुन्ने र मान्नेवाला छैन । निर्वाचन राम्रोसँग सम्पन्न हुन्छ । लोकतन्त्र अब संस्थागत हुँदै गएको छ ।’ तीन निर्वाचन क्षेत्र रहेका ललितपुरमा ३ लाख ५० हजार ४१० मतदाता रहेका छन् । जसनिम्ति १ सय ३१ मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् ।

पूर्वप्रधानन्यायधीश सुशीला कार्की पूर्वनिर्वाचन प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीसहितको टोली ललितपुरको पाटन दरबार क्षेत्र मतदान केन्द्रमा निर्वाचन अवलोकन गर्दै । तस्बिर : गणेश राई/कान्तिपुर

प्रकाशित : मंसिर ४, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?