भिजेका मतपत्रमा मतदान गर्नुपरेको मतदाताको गुनासो- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिजेका मतपत्रमा मतदान गर्नुपरेको मतदाताको गुनासो

नारायण शर्मा

पूर्वी नवलपरासी — खुल्ला चौरमा राखिएका भिजेका मतपत्रमा यहा मतदान गराइएको मतदाताले गुनासो गरेका छन् । कर्मचारीले दिने मतपत्र लगेर स्वस्तिक छाप लगाइने टेबुल शीतले भिजेका कारण मतपत्र पनि भिजेको र मसी लत्पतिएको पाइएको मतदाताले बताएका हुन् ।

स्वस्तिक छाप लगाउने टेबुल र मतपेटिका शनिबार दिउँसैबाट रातभरि खुल्ला चौरमा राखिएका कारण शीतले भिजेको हो । ‘मतपत्र राख्ने टेबुल पुछ्ने कपडा पनि छैन । टेबुल शीतले भिजेर पानी पानी छ, त्यसैमा भोट हालियो,’ कावासोतीका मतदाता हरि पोखरेलले बताए ।

मतपत्र राख्ने टेबुल भिजेको छ भनेर जानकारी गराउँदा कर्मचारीले ‘केही हुन्न चाँडो भोट खसालेर निस्कनुस्’ भनेर हप्काएको उनले सुनाए । निर्वाचन कार्यालयले कर्मचारीको कमि–कमजोरीका कारण त्यस्तो भएको र सुधार्न लगाइएको जानकारी दियो ।

शीत नपुछेरै मतदान गराइएपछि मतदाताले विरोधसमेत गरेका छन् । ४ वटै मतपत्र लिइसकेपछि ल्याप्चे लगाउने र हातमा लागेको मसीसमेत पुछ्ने व्यवस्था नभएका कारण औंलामा लागेको मसी मतपत्रमा परेको शिव उच्च माविकी मतदाता अपुपा भुसालले सुनाइन् । निर्वाचन ऐनमा चुनाव चिह्नबाहेक अन्यत्र मसी वा संकेत देखिएमा त्यो मतपत्र बदर हुने व्यवस्था छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ‚ ढुक्कसँग मतदान गरौं : निर्वाचन आयुक्त भण्डारी

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान गरेपछि आयुक्त भण्डारीले निर्वाचन व्यवस्थापन राम्रो भएको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । 

निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गरेका हुन् । उनले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मतदान सहज र व्यवस्थित ढंगले गरेको बताए । उनले निर्वाचनका लागि शान्ति, सुरक्षाको व्यवस्था पनि व्यवस्थित पारिएको जानकारी दिए ।

आयुक्त भण्डारीले भने, ‘निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढंगले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ । कुनै पनि ठाउँमा दुर्घटना भए आयोग त्यहीँ ३० मिनेट भित्रमा पुगिसक्छ । खुसीसँग मतदान गरौँ ।’

निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×