१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाल्पामा महिलाकै जिम्मामा मतदान केन्द्र 

माधव अर्याल

पाल्पा — पाल्पाको क्षेत्र नम्बर २ को तानसेन नगरपालिका वडा नम्बर २ को रेडक्रस सोसाइटी परिसरको दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् । मतदान केन्द्र (क) मा करदाता सेवा कार्यालयकी प्रमुख गीता पाण्डेय र (ख) मा त्रिभुवन बहुमुखी क्याम्पसकी उपप्राध्यापक मीना ढकाल मतदान अधिकृत खटिएका छन् । 

पाल्पामा महिलाकै जिम्मामा मतदान केन्द्र 

मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टका अनुसार महिला एक्लैले पनि काम गर्न सक्छन् भन्ने विश्वासका साथ दुई केन्द्रमा महिलामात्रै खटाइएको बताए । उनका अनुसरा यसलाई नमुना मतदान केन्द्रका रुपमा लिइएको छ । महिला मतदान अधिकृत र सहायक अधिकृत धेरै स्थानमा खटाइएपनि यहाँ सहायक मतदान अधिकृत र सहायक कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरीलगायत स्वयंसेवकसमेत महिला नै रहेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

पाण्डेयसँग सहायक मतदान अधिकृत भवानी पंगेनी र ढकालसंग सहायक मतदान अधिकृत ममता ज्ञवाली खटिएकी छन् । मतदानमा खटिएका महिला कर्मचारीलाई व्यवस्थापनमा सहज होस् भनेर नजिकैको केन्द्रमा महिला कर्मटारी खटाइएको हो । यसअघिको निर्वाचनमा पनि करदाता सेवा कार्यालयकी प्रमुख पाण्डेयले मतदान अधिकृतको जिम्मेवारी पूरा गरिसकेकी हुन् ।

महिला मात्र रहेको केन्द्रमा आठ/आठ जना महिला कर्मचारी छन् । चार जना स्वयंसेवक छन् । सीता थापाको नेतृत्वमा जनपद र म्यादी गरी १६ जना सुरक्षाकर्मी खटिएका छन् । यो केन्द्रलाई जिल्ला सुरक्षा समितिले सामान्यको सूचीमा राखेको छ । महिला केन्द्रमा निर्माण सर्वदलीय तथा सर्वपक्षीय बैठक राखेर निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैले सहयोग र साथ दिने प्रतिबद्धता जनाएको बताएका छन् ।

सबै महिला कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउने गरी सहयोग जुटेको मतदान अधिकृत पाण्डेयले बताइन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नम्बर २ रहेको रेडक्रस सोसाइटीको क केन्द्रमा ७ सय २८ र ख केन्द्रमा ७ सय ६९ गरी १ हजार ४ सय ९७ मतदाता रहेका छन् । जिल्लामा १ सय १८ मतदान केन्द्रमा २ सय ४६ र दुई अस्थायी गरी २ सय ४८ मतदान केन्द्रमा २ लाख १ हजार ३ सय २६ जना मतदाता छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?