१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

महिलाको जिम्मा मतदान

मतदान अधिकृत, सहायक अधिकृत, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबैमा महिला परिचालनले उत्साह
कान्तिपुर टिम

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि कतिपय केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाको जिम्मेवारीसमेत महिलाले लिएका छन् ।मोरङमा विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयका तीनवटै केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ ।

महिलाको जिम्मा मतदान

मतदान केन्द्र (क) मा दीपिका खड्गी, (ख) मा समीक्षा पोखरेल र (ग) मा सीमा यादव मतदान अधिकृत छन् भने १३ प्रहरीको नेतृत्व सई कोपिला भुजेलले गरेकी छन् । तीनै जना मतदान अधिकृतका साथै सहायक मतदान अधिकृत, कर्मचारी र स्वयंसेवक पनि महिला नै खटाइएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए । मतदान अधिकृत खड्गीले यहाँको तीनवटै मतदान केन्द्रमा २ हजार ४ सय ७६ मतदाता रहेको बताइन् । उनले मतदान केन्द्र निर्माण गर्नुका साथै सर्वदलीय बैठकलगायतका सम्पूर्ण तयारी पूरा गरिसकेको बताइन् ।

प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १२ क्षेत्र रहेको मोरङमा मुलुकमै सबैभन्दा बढी ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् । यसमा महिला ३ लाख ६१ हजार १ सय ९३ र पुरुष मतदाता ३ लाख ७४ हजार ३ सय २६ छन् । मतदानका लागि जिल्लाभरि ३ सय ६ मतदानस्थलमा ८ सय ३९ मतदान केन्द्रमा निर्वाचनका लागि सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत ढुंगेलले बताए ।

चितवन भरतपुर मावि मतदान केन्द्र व्यवस्थापन गर्दै म्यादी प्रहरी । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

जिल्लास्थित अस्थायीसहित ८ सय ४१ मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी २ हजार ८२, म्यादी प्रहरी ३ हजार ६ सय १६ जना पहिलो सुरक्षा घेराका लागि, दोस्रो सुरक्षा घेरामा १ हजार ५५ सशस्त्र प्रहरी र तेस्रो घेराका लागि ६ सय ५० नेपाली सेना र अनुसन्धान प्रहरी गरी ७ हजार ७ सय १७ सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काशीराज दाहालले बताए । मोरङमा ५० अतिसंवेदनशील र ११४ संवेदनशील मतदान केन्द्र रहेकाले दोस्रो घेरामा पनि सेना परिचालन गर्ने निर्णय गरेको उनले बताए ।

पाँचथरका तीन मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीले पाएका छन् । यहाँको सुखबोध मावि जोरसालस्थित मतदानस्थलका तीनवटै केन्द्रमा अधिकृत, सहायक अधिकृत, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबै महिला खटाइएको हो । मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार यहाँ प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ कर्मचारी र ६ जनाका दरले १८ सुरक्षाकर्मी गरी कुल ४२ कर्मचारी खटाइएको छ ।

‘अघिल्ला निर्वाचनमा कुनै एउटा मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइन्थ्यो, यस पटक तीनवटै केन्द्रमा सबै जनशक्ति महिला मात्रै छौं, यसले हामीमा उत्साह थपिएको छ,’ सुखबोध मावि मतदान केन्द्र ‘क’ की मतदान अधिकृत निर्मला दाहालले भनिन् । उनीहरूले मतदानस्थल व्यवस्थापनसँगै निर्वाचन प्रक्रियाका लागि आवश्यक संरचना तयार गरेका छन् । यस केन्द्रमा फिदिम नगरपालिका–४ का २ हजार ८ सय मतदाता छन् । योसहित जिल्लाभर ५ महिलालाई मतदान अधिकृत र १५ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरको फिदिमस्थित सुखबोध मावि मतदानस्थलको सुरक्षार्थ महिला प्रहरी । तस्बिर : लक्ष्मी गौतम/कान्तिपुर

पर्सामा वीरगन्ज महानगरपालिका–५ स्थित थारू छात्रावास मतदान केन्द्र महिलाले नै सञ्चालन गर्दै छन् । क, ख र ग गरी ३ वटा मतदान केन्द्रका मतदान अधिकृत महिला छन् । यसबाहेक २१ सहायक कर्मचारी पनि महिला छन् । यो ‘विशेष मतदान केन्द्र’ का सुरक्षा कमान्डर पनि महिला सुरक्षाकर्मी नै छन् । यहाँ मतदान अधिकृत जिल्ला अदालतका शाखा अधिकृतहरू क्रमश: अञ्जु परियार, जमुना धिताल र रीतिका शर्मा छन् । ‘२१ सहायक कर्मचारी महिला छन्, सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी सहायक निरीक्षक श्रीयंका बस्नेतले लिनुभएको छ,’ शर्माले भनिन्, ‘सुरक्षाकर्मीमा पनि आधाजसो महिला छन् ।’

आफूले स्थानीय तह निर्वाचनमा पनि मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेकाले यस पटक समस्या नहुने उनले बताइन् । यो केन्द्रमा कुल २ हजार २ सय ५७ मतदाता रहेको उनले बताइन् । ‘हामी सबै अनुभवी छौं,’ उनले भनिन्, ‘महिलाले सञ्चालन गरेका केन्द्र भएकाले सरोकारवाला सबैले सहयोग गरेकाले खासै समस्या भएको छैन ।’

पर्सामा ४५ जना महिला मतदान अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । जिल्लामा निर्वाचनका लागि खटिएका ११ हजार जनशक्ति खटिएका छन् । तिनमा ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय कर्मचारी र स्वयंसेवक छन् । ३ लाख ४५ हजार मतदाता रहेको नुवाकोटमा १ सय ६७ स्थायी र २ अस्थायी गरी १ सय ६९ मतदानस्थल छन् । ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र छन् ।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित भरतपुर मावि मतदानस्थलका चारवटै मतदान केन्द्रको जिम्मा महिलाले लिएका छन् । मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला छन् । चितवन–२ मा पर्ने उक्त मतदानस्थलका चार केन्द्रमा ३ हजार ४ सय २९ मतदाता छन् । चार मतदान अधिकृतसहित ३२ कर्मचारी र २३ सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार तीन निर्वाचन क्षेत्र रहेको चितवनमा जिल्लाभर १ सय ६२ मतदानस्थलमा ४ सय ६० मतदान केन्द्र छन् । पूरै महिलाले मात्रै सम्हालेको मतदानस्थल भरतपुर मावि मात्रै रहेको कार्कीले बताए । चितवनका मतदान केन्द्रमध्ये ३३ वटा अतिसंवेदनशील र ९० वटा संवेदनशील रहेका कारण सुरक्षा व्यवस्था त्यहीअनुरूप मिलाएको कार्कीको भनाइ छ ।

निर्वाचनका लागि जिल्लाभर ३ हजार ६ सय ८० कर्मचारी र एक केन्द्र बराबर ६ जना सुरक्षार्की खटेको कार्कीले जानकारी दिए । भरतपुर माविमा खट्ने चारमध्ये एक मतदान अधिकृत विष्णुमाया विकले यसअघि तीन पटक मतदान अधिकृत भएर निर्वाचन गराए पनि मतदानस्थलमा सबै महिला खटिएर मतदान गराउन लागेको अनुभव पहिलो भएको बताइन् । चितवन महिला मतदाता धेरै भएको जिल्ला हो । कुल ४ लाख ८ हजार ३ सय ४२ मतदाता रहेकामा महिलाहरू मात्रै २ लाख ९ हजार ३ सय ९ जना छन् ।

नुवाकोटका दुईवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्र छन् । नुवाकोट–१ को पञ्चकन्या गाउँपालिका–१ बानियाँटारस्थित इन्द्रायणी मावि (क) मतदान केन्द्रमा अधिकृतदेखि सुरक्षा निकायसमेत महिला मात्रै छन् । यो केन्द्रमा ९ सय १४ पुरुष र ९ सय महिला मतदाता छन् । त्यसैगरी विदुर नगरपालिका–४ को निर्वाचन क्षेत्र नं. २ को नुवाकोट आदर्श बहुमुखी क्याम्पसको (क) मतदान केन्द्रमा पनि महिला मतदान अधिकृतसहित सुरक्षा निकायसमेत सबै महिला राखिएको छ । यो केन्द्रमा महिला १ हजार ३ सय ९४ र पुरुष १ हजार २ सय ६९ गरी २ हजार ६ सय ६२ मतदाता छन् । सबै मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

निर्वाचनका लागि २ हजार ३ सय ४ जना कर्मचारी खटिएका छन् । नुवाकोटमा १ सय ३२ मतदानस्थल र २ सय ८८ स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र छन् । २ लाख ३९ हजार ७ सय २६ जना मतदाता छन् । नुवाकोट जिल्लामा कार्यरत १ हजार ७ सय २२ जना सुरक्षाकर्मी तथा कर्मचारीले प्रत्यक्ष नभई समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउने भएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीस्थित मतदान केन्द्रमा खटिएका महिला कर्मचारी । तस्बिर : नवीन पौडेल/कान्तिपुर

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२ मा रहेको शिव माध्यमिक विद्यालयको ‘ङ’ केन्द्रमा सबै महिला कर्मचारी मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए । ‘मतदान केन्द्र पनि समावेशी बनाउन एउटा केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारी सबै महिला मात्र खटाएका छौं,’ उनले भने, ‘यसले महिला कर्मचारीको मनोबल उच्च भएको महसुस गरेका छौं । कर्मचारी पनि खुसी छन् ।’यो केन्द्रमा मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा खटिएका ८ जना महिला कर्मचारी छन् । ‘हामी पुरुषसरह सबै जिम्मेवारी बहन गर्न सक्षम छौं । यो अवसरका लागि सबैलाई धन्यवाद ।’ मतदान अधिकृत गुरुङले भनिन्, ‘सबैभन्दा व्यवस्थित तवरले निर्वाचन सम्पन्न गराउन हाम्रो टिम लागिपरेको छ ।’ जिल्लामा ३ सय २ मतदान केन्द्रमा २ हजार ४ सय १६ कर्मचारी खटिएका छन् ।

नवलपरासी पश्चिमका दुई मतदान केन्द्र महिलामैत्री बनाइएको छ । निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत रामग्राम नगरपालिका–१ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ । मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ । मतदानस्थलमा १६ जना महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ जना महिला सुरक्षाकर्मी खटाइएको छ । पश्चिम नवलपरासीमा १ सय २० मतदानस्थल र २ सय ८७ मतदान केन्द्र छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा ३८ मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा महिलालाई दिइएको छ । मतदानका लागि कायम गरिएको ३ सय ५ केन्द्रमध्ये ३८ केन्द्रमा महिला मतदान अधिकृत नियुक्त गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत १९ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत १९ जना महिला कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । भीमाद नगरपालिका–८ वडा कार्यालय पोखरीछाप (ख) की मतदान अधिकृत गीतादेवी लम्सालले केन्द्र निर्माणको सम्पूर्ण काम पूरा भएको बताइन् ।

-देवनारायण साह (मोरङ), लक्ष्मी गौतम (पाँचथर), शंकर आचार्य (पर्सा), रमेशकुमार पौडेल (चितवन), कृष्ण थापा (नुवाकोट), नवीन पौडेल (नवलपुर), सम्झना रसाइली (तनहुँ)

प्रकाशित : मंसिर ४, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?