१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह

काठमाडौँ — सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह

गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । शनिबार गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए ।

उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताए । सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका थिए ।

गृहसचिव सिंहले भनेका छन्, ‘मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सुरक्षा व्यवस्थालाई पनि चुस्तदुरुस्त राखिएको छ । सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु निर्वाचनको लागि सम्पूर्ण रुपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ । सबै ठाउँमा निर्वाचनलाई कुनैपनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु ।'

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आइतबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?