कर्मचारीलाई मर्यादा कायम राखेर काम गर्न आयोगको निर्देशन- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीलाई मर्यादा कायम राखेर काम गर्न आयोगको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले देशभर निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मर्यादा कायम राखेर काम गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मतदान हुँदैछ । मतदान हुनुपुर्व शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान तथा मतगणना कार्यमा खटिएका कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न निर्देशन दिएका छन् । 

प्रमुख आयुक्त थपलियाले मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय रहेको भन्दै जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर मतदान र मतगणनाको काम मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

'व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नुहोस्,' थपलियाले निर्देशन गरेका छन्, 'निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस् ।'

उनले निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग नगर्न र गर्न नदिन निर्देशन दिएका छन ।

आयोगले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै काम नगर्न समेत आग्रह गरेका छन् ।

'तपाईंको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नुहोस्, छातीमा हात राखेर निर्णय गर्नुहोस् । तपाईंको कामले तपाईं आफैं लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ,' उनले भनेका छन्, 'तपाईं जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईहरु सबैलाई विश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु ।'

प्रकाशित : मंसिर ३, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

महिलाले चलाउँदै मतदान केन्द्र

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित थारु छात्राबास मतदान केन्द्र महिलाहरुले सञ्चालन गर्ने भएका छन् । यहाँस्थित क,ख र ग गरी ३ वटा मतदान केन्द्रका मतदान अधिकृत महिला छन् । यस बाहेक २१ सहायक कर्मचारी पनि महिला नै छन् । यो ‘विशेष मतदान केन्द्र’ का सुरक्षा कमान्डर पनि महिला सुरक्षाकर्मी छन् ।

मतदान अधिकृतहरुमा जिल्ला अदालतका शाखा अधिकृतहरु क्रमश: अन्जु परियार, जमुना धिताल र रितिका शर्मा रहेका छन् । शर्माले आफूहरुको सहायकको रुपमा खटिएका कर्मचारीहरु पनि महिला रहेको तथा सुरक्षा अधिकृत पनि महिला नै रहेको बताइन् । ‘२१ सहायक कर्मचारी महिला नै छन्, सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीकी सहायक निरीक्षक श्रीयंका बस्नेतले लिनु भएको छ,’ शर्माले भनिन्, ‘सुरक्षाकर्मीमा पनि आधाजसो महिला सुरक्षाकर्मी नै छन् ।’

आफूले यसअघि पनि यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरी सकेकाले यसपटक पनि समस्या नहुने उनले बताइन् । यो केन्द्रमा कुल २ हजार २ सय ५७ मतदाता रहेको उनले जानकारी दिइन् । ‘हामी सबै अनुभवी छौं,’ उनले भनिन् ‘महिलाले सञ्चालन गरेका केन्द्र भएकाले सरोकारवाला सबैले सहयोग गरेको हुँदा खासै समस्या भएको छैन ।’

४५ मतदान अधिकृत महिला

जिल्लामा आइतबार हुने निर्वाचनका लागि ४५ महिला मतदान अधिकृत खटिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘यस पटक निर्वाचन अधिकृत मात्रै ४५ महिला छन्,’ उनले भने, ‘यस बाहेक सहायक कर्मचारीमा महिला कर्मचारी धेरै खटिएका छन् ।’

जिल्लामा निर्वाचनका लागि करिब ११ हजार जनशक्ति खटिएका छन् । तिनमा ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय कर्मचारी र स्वयंसेवक छन् । ३ लाख ४५ हजार मतदाता रहेको जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी १ सय ६९ मतदानस्थल छन् । ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र छन् ।

प्रकाशित : मंसिर ३, २०७९ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×