२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एमाले जिल्ला नेता मतदान केन्द्रमा कर्मचारी

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रे निर्वाचनमा खटिएका कर्मचारी नै प्रमुख राजनीतिक दलको जिल्ला कमिटी सदस्य  रहेको पाइएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर–१२ स्थित गणेश मा.वि सिखरपुर (क) मतदान केन्द्रका लागि सहयोगी कर्मचारी खटाइएका धुलिखेल–८ का मोहनबहादुर गजुरेल एमाले जिल्ला कमिटी सदस्य हुन् ।

एमाले जिल्ला नेता मतदान केन्द्रमा कर्मचारी

गत पुसमा सम्पन्न १०औं अधिवेशनबाट जिल्ला कमिटी सदस्य निर्वाचित उनी पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को जिल्ला सहइञ्चार्जको भूमिकामा छन् ।

नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा राजपत्रअनकिंत द्वितीय श्रेणी कार्यरत उनी एमालेको निर्वाचन अभियानमा सक्रिय थिए । चुनावी घरदैलोलगायतमा सक्रिय उनले सामाजिक सञ्जालमा पनि एमालेको पक्षमा प्रचारसमेत गर्दै आएका थिए ।

मतदान केन्द्रमा खटाइएको विवरण र एमालेको जिम्मेवारीमा रहेको विवरण ।

उनको आबद्धताबारे निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधे पनि उनलाई जिम्मेवारीबाट हटाइएको भने छैन । गजुरेलले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको जिकिर गरेको क्षेत्र नं १ का निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले बताए ।

‘राजनीतिक दलको जिम्मेवारी पदमा रहेको भन्ने खबर प्राप्त भएपछि हामीले उहाालाई स्पष्टीकरणका लागि बोलाएका थियौं,’ निर्वाचन अधिकृत खनालले भने, ‘आफू कुनै पनि राजनीतिक दलसाग आबद्ध नभएको र यदि भएको पाइए जुनसुकै कारबाही तयार छु भनेर उहाँले स्पष्टीकरणमा भन्नुभएको छ, त्यही कारण उहाँलाई जिम्मेवारीबाट हटाइएको छैन ।’

काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि गजुरेलले स्पष्टीकरणमा पनि आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध र कुनै पनि जिम्मेवारी पदमा नरहेको बताएको जानकारी दिँदै संलग्नता खुले तुरुन्तै कारबाही गर्ने बताइन् । राजनीतिक दलको जिम्मेवारी पदमा रहेका व्यक्ति निर्वाचन कर्मचारीका रूपमा खटाइएको बारेमा कुनै जानकारी प्राप्त नभएको काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले बताए ।

प्रकाशित : मंसिर ३, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?