एमालेका सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

प्यूठानमा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । थापालाई आयोगले स्पष्टीकरण सोधेको यो दोस्रोपटक हो ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई रु दुई हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको जनाएको छ । केही दिनअघि मात्रै युट्युब लगायत सामाजिक सञ्जालमा मीनबहादुर बुढा (भेलुबाजे) ले थापाले पैसा दिएर प्रचार गर्न लगाएको प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत 'विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने' व्यवस्था छ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।'

थापाले चुनावी प्रचारको क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित : मंसिर २, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

स्वच्छ, निष्पक्ष निर्वाचन गराउन आयोग लागिरहेको छ : आयुक्त तुलाधर

कृष्ण थापा

नुवाकोट — निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग लागिपरेको आयुक्त जानकीकुमारी तुलाधरले बताएकी छन् ।

नुवाकोटमा आइतबार पत्रकारसँगको अन्तरक्रियामा आयुक्त तुलाधरले उक्त धारणा राखेकी हुन् । उनले बढीभन्दा बढी मत बदर हुनबाट संचार क्षेत्रले मतदातालाई सुसूचित गराउन सकेको बताइन् ।

उनले नुवाकोटमा निर्वाचनसम्बन्धी अवस्था, भइरहेका गतिविधि, मतदानस्थलको अनुगमन गरेकी थिइन् । आयोगले जिल्लाका संचारगृहलाई उपलब्ध गराउने विज्ञापन, आचारसंहिता उल्लंघन, कैदीबन्दीले प्रयोग गर्न पाउने मताधिकार, मतदान केन्द्र निर्माण गर्दा अपांगतामैत्री तथा सुत्केरी, गर्भवती, जेष्ठ नगारिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आयुक्त तुलाधरले आवश्यक निर्देशन दिएकी छिन् ।

प्रकाशित : मंसिर २, २०७९ २०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×