मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको ध्यानाकर्षण- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको ध्यानाकर्षण

लोककल्याणकारी विज्ञापनमा कडाइ हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेस काउन्सिल नेपालले निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले जनाएको छ ।

स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्न अङ्कित झन्डा/ब्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुने हुँदा त्यस्तो कार्य नगर्न/नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ‚’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

'कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको उल्लेख गर्दै काउन्सिलले सूक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।

‘स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ‚’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लंघनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन/वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

प्रकाशित : मंसिर १, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

लोकतन्त्र जोगाउन गठबन्धनले जित्नुपर्छ : चित्रबहादुर केसी

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले धरापमा परेको लोकतन्त्र संस्थागत गर्नका लागि बुढ्यौलीमा पनि निर्वाचनमा होमिएको बताए ।

सत्ता गठबन्धनको उम्मेदवारको रुपमा केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हुन् । उनले लोकतन्त्र जोगाउन कांग्रेससहितको गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए । बुधबार साँझ गठबन्धनका उम्मेदवारले बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा केसीले जसले संसद् पटक–पटक भत्कायो, उनीहरूबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा समावेश गरेका दल र समूह व्यवस्थाविरोधी भएको पनि आरोप लगाए । ‘ओलीले राजावादी, धार्मिक अतिवादी र विखण्डनवादीको साथमा गठबन्धन गरेर व्यवस्था विरोधी गठबन्धन बनाएका छन्,’ केसीले भने, ‘फेरि लोकतन्त्र र संसद् नै विघटन गर्नेलाई मत दिने कि रक्षा गर्नेलाई दिने भन्ने फैसला जनताले गर्नेछन् ।’ गणतन्त्र आइसक्यो, अब आर्थिक सामाजिक क्रान्ति गर्ने र स्थायी सरकार दिने भनेर वाम गठबन्धनमा लाग्दा ओलीले धोका दिएपछि वर्तमान गठबन्धन बनेको उनले बताए ।

उनले लोकतन्त्रलाई खतरामा लैजान विदेशी शक्ति र छिमेकी राष्ट्र पनि लागेको टिप्प्णी गरे । ‘नेपालमा लोकतन्त्र देख्न नचाहने छिमेकीले पनि उनको अभियानलाई साथ दिएका छन्,’ केसीले भने, ‘यो उमेरमा सांसद हुन मन थिएन, एकपटक राष्ट्रियताविरोधी, संसद्विरोधी र लोकतन्त्र विरोधीको कुकृत्यविरुद्ध संसद्मा बोल्न मन लागेपछि उम्मेदवार भएँ । उनले संसद्मा पुगेर षड्यन्त्रकारीविरुद्ध आवाज उठाउने बताए । पाँचदलीय गठबन्धनले पनि आफूलाई उठ्न आग्रह गरेको भन्दै निर्वाचनमा गठबन्धनकै बहुमत आउने बताए ।

लोकतन्त्र र गणतन्त्र जोगाउन राजनीतिक दल, सञ्चार क्षेत्र र जनता पनि सचेत बन्नुपर्ने केसीको सुझाव थियो । ‘दलहरू व्यपारी बन्नुभएन, सच्चा सेवामा लाग्नुपर्छ, मिडियाले लोकतन्त्रको पक्षमा लेख्नुपर्छ,’ केसीले भने, ‘जनता पनि अब जागरुक बनेर सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ ।’ नेपालमा अझै पनि दल, मिडिया र आमनागरिकमा परिपक्वता नभएको उनले बताए । संसद् भंग गर्ने, संसद् चल्न नदिने अनि उनीहरू नै संसद्मा जान खोज्नेलाई जनताले चिन्नुपर्ने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

प्रकाशित : मंसिर १, २०७९ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×