कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
इतिहासमा चुनाव

बलबहादुर राईले लडेको २०१५ सालको त्यो आमचुनाव 

गणेश राई

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तीन दिनमात्र बाँकी छ । मंसिर ४ गतेको चुनावलाई ‘लोकतान्त्रिक उत्सव’का रूपमा सम्पन्न गर्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू घरदैलो, आमसभाको मैझारो गर्दैछन् । 

बलबहादुर राईले लडेको २०१५ सालको त्यो आमचुनाव 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार देशको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना रहेको छ । त्यसमध्ये मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० जना छन् । मतदानकै निम्ति विदेशमा रहेका मतदाता स्वदेश फर्किएका छन् । निर्वाचन आयोगले यसपटक देशभर १० हजार ८९२ स्थानमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ । त्यहीं पुगेर मतदान गर्ने हो ।

हाम्रो भोटले जम्मा ८२५ जनप्रतिनिधि चुनिने छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ र समानुपातिकमा ११० जना निर्वाचित हुने छन् । त्यसैगरी प्रदेशसभा प्रत्यक्षतर्फ ३३० र समानुपातिकामा २२० जना चुनिने छन् । बहुदलीय प्रणाली भएकाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६१ दल र समानुपातिकमा ४७ दल सहभागिता छ । प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार २ हजार ४१२ जना र प्रदेशसभामा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार २ हजार ४०२ र प्रदेशसभा उम्मेदवार ४ हजार ५५ जना छन् ।

२०१५ सालको आमनिर्वाचन

देश नेपालमा पहिलो पटक विसं. २०१५ सालमा आमनिर्वाचन भएको थियो । प्रतिनिधिसभाका निम्ति १०९ प्रतिनिधि चयन भएको थियो । उक्त चुनाव २०१५ फागुन ७ देखि ८० दिनमा सम्पन्न भएको थियो । चुनावमा ७८६ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । उतिखेर देशको जनसंख्या ८५ लाख ५० हजार थियो । जसमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान योग्य नागरिक थिए । देशभर विभिन्न चरणमा सम्पन्न निर्वाचनमा ४२ दशमलब १८ प्रतिशत मत खसेको थियो ।

उक्त आमनिर्वाचनमा देशमा प्रजातन्त्र ल्याउने सशस्त्रक्रान्ति छेडेको नेपाली कांग्रेस पार्टीले ७४ सिट जितेको थियो । उसले कुल मतदानको ३८ प्रतिशत मत हातपारेको थियो । त्यसपछि कांग्रेसका सभापति तथा संसदीय दलका नेता बीपी कोइराला देशको जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।

देशमा भएको त्यो पहिलो आमनिर्वाचनमा उम्मेदवारमध्ये एक थिए, बलबहादुर राई । नेपाली कांग्रेस पार्टीका नेता राई उतिखेर ओखलढुंगा दक्षिण क्षेत्रबाट निर्वाचन जितेर ‘मेम्बर अफ पार्लियामेन्ट’ (एमपी) बनेका थिए । २०४६ साल अघिसम्म उनी ‘एमपी बलबहादुर’ भनेर चिनिन्थे । त्यसपछि ‘मन्त्री बहादुर’ भनेर चिनिए, जो मन्त्रीमण्डलमा ज्येष्ठ सदस्यका हैसियतले १९औं पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए ।

राईको राष्ट्र र समाजमा औपचारिक परिचय छँदैछ । रोचक के छ भने केही प्रमाण फेलापरेका छन्, जसले नेता राईको राजनीतिक संघर्ष बोल्छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुर गाउँस्थित मुखिया–जिम्मावालको वंशका साथमा फेलापरेका ती कागजातअनुसार बलबहादुर राईले समाजमा राजनीतिक संगठन विस्तार पहल गरेका थिए । चुनावमा जानुअघि उनले लेखेको हस्तलिखित पत्रमा छ–

दिनाङ्क, कार्तिक, २०१५

श्री ह. लाल बहादुर राई श्री नरजीत राई श्री मु. पञ्चध्वोज राई र अरु साथीहरूसमेत जय नेपाल ।

म काठमाण्डूबाट धमाधम आउँदैछु. हाम्रो सिनियर कमिटिको अघि बसेर यही २५ गते मानेभंज्याङमा हुने भएको छ साथै क्रान्ति दिवस पनि म २४ गते मानेभंज्याङ आइपुग्छु. तपाईहरू अरु साथीहरूसमेत २४ गते नै मानेभंज्याङ आउनुस् २५ गते .. सकि त्यसै दिन म ओखल्ढुंगा फिर्छु मार्ग १ गते राजनैतिक सम्मेलन ओखल्ढुंगामा हुने भएको छ र आसा राखिएको छ प्रधान मन्त्री र अन्ने मन्त्रीहरू पनि आउनु हुनेछ विशेष भेटमा ।

तपाईंहरूको साथी

बलबहादुर राई

(बलबहादुर राईको हस्ताक्षरसहितको पत्र दस्तावेज)

चुनावमा बलबहादुर राईले एक पानाको अपिलपत्र छपाएर बाँडेका थिए । जसमा कांग्रेसको रुख चिन्हमुनि ‘बलबहादुर राईजीको संक्षिप्त जीवनी’ लेखिएको व्यहोरा यस्तो छ :

पूर्व ३ नम्बर तलुवा मोली डाँडा गाउँको एक प्रतिष्ठित कुलमा जन्म भएको हो र वहाँका पिताजीको नाम छ नवलसिङ राई ।

वहाँ बालखकाल पढन र परोपकारी काममा खुबै दिल दिनुहुन्छ । १९९५ सालमा ओखल ढुङ्गा जङ्गी परेटमा जागीर खाई ९८ सालमा धनकुटा श्री जङ् पल्टन र पछि ६ थुम मालमा जागीरे हुने भो । त्यसपछि ०२ सालमा १३ थुम मालको जागिर खाई जनसेवा गर्नुभयो ।

२००७ सालदेखि नै नेपाली कांग्रेसको जनक्रान्तिको आन्दोलनमा सक्रिय भाग लि काम गर्नु भयो । ०८ सालमा जिल्ला सल्लाहकारमा बसी सुधार कामहरू गर्नु भयो । पछि ग्राम पञ्चायत गठन गर्ने काममा पूर्व ३ नम्बर जिल्लामै अफिसर भै पञ्चायत गठन गर्नु भयो । ०११ सालको केन्द्रीय सल्लाकार सभाको माननीय सदस्य हुनुभै देश र जनताको सुधार गर्नु भयो । ०११ सालको बाड पीडित भएको जनताको निमित्त केन्द्रबाट पैसा गहुँ, चामल, कपडाका निकाशा गर्नु भयो र जिल्ला बाड पीडित समितिमा बसी बाड पीडित जनतालाई पैसा वितरण गर्नु भो ।

हाल वहाँ नेपाली कांग्रेस पूर्व ३ नम्बर जिल्लाको उपाध्यक्ष र केन्द्रीय तजबीज कमिटिका सदस्य हुनु हुन्छ । वहाँमा देश सेवा जनसेवाको भावना छ । त्याग छ तपस्या छ सबै कामको पूर्ण अनुभव छ ।

वहाँलाई नेपाली कांग्रेसका तर्फबाट १८ नं. माने भन्ज्याङ क्षेत्रमा खडा गरेको छ । योग्य व्यक्ति बलबहादुर राईलाई तपाइँहरूको अमूल्य भोट रूपमा तस्बीर (चिन्ह) भएको बाकसमा भोट खसाली दिनु होस र जनताको सेवा गर्ने मौका दिनु होस ।

श्री “पशुपति–छापाखाना” नेपाल ।

(बलबहादुर राई संक्षिप्त जीवनी दस्तावेज)

६४ वर्षअघिको त्यो एकपाना अपिलपत्र अब अर्थात् ४ मंसिरमा हुन गइरहेको आम निर्वाचन–२०७९ सँग समानता राख्छ । फरक यत्ति हो कि उतिखेर उम्मेदवारको फोटो थिएन र अहिले फोटोसहित उम्मेदवारको संक्षिप्त परिचयसहित मोबाइल नम्बर, इमेल र बारकोड समावेश गर्न सक्छन् ।

उतिखेर नेपाली कांग्रेसले २०१५ सालको आमचुनावमा ‘भोटपत्र’ जारी गरेको थियो । रुख चिन्हसहित ‘८५ लाख नेपालीको कल्याण गर्नसक्ने पार्टी नेपाली कांग्रेस नै छ’ भन्दै चारपानाको भोटपत्रमा ‘नेपाली कांग्रेसले के के गर्छ’ भनेर ११ बुँदा र ‘के के गर्‍यो ?’ भनेर १० बुँदामा उल्लेख गरेको पाइन्छ । भोटपत्रको मुनि महामन्त्री सूर्यप्रसाद उपाध्यायको नाम अंकित छ ।

(२०१५ सालमा नेपाली कांग्रेसको भोटपत्र दस्तावेज)

त्यसबखत बलबहादुर राई चुनावकै निम्ति एक्कैचोटि ओखलढुंगा पुगेका थिएनन् । उनले २००९ र २०१० सालमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ लगायतका थुम–थुममा पुगेर सर्वसाधारणलाई नेपाली कांग्रेसको सदस्य बनाएका थिए । मानेभन्ज्याङ उदैपुर गाउँका तालुकदार ६५ वर्षीय पञ्चध्वोज ब्राङखेलचो राई, ४५ वर्षीय सोक्मटारका वीरर्सिं जिमी लगायतलाई सदस्य बनाएका थिए । त्यतिखेर बलबहादुर राई ३२ वर्षका थिए । उनी कांग्रेस उपशाखा मानेभन्ज्याङका मन्त्री थिए भने केन्द्रीय चेयरमैन तथा महामन्त्री महेन्द्र विक्रम शाह थिए । ती प्रयास बहुदलीय व्यवस्था स्थापना गर्नका निम्ति गरिएका थिए ।

(कांग्रेसको सदस्यता रसिद दस्तावेज)

विसं. १९७७ फागुन ६ गते ओखलढुंगाको मोली गाउँमा जन्मेका बलबहादुर राईको २०६७ असार २० गते निधन भएको थियो । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि जेलमा परे । एक वर्ष जेल परेपछि उनको अंश सर्वस्वहरणमा पर्‍यो । त्यसपछि भारत प्रवासमा गएका थिए । २०२५ सालमा आममाफी पाएर फर्किएपछि २०२९ सालमा फेरि पक्राउ परेका थिए । नेपाली कांग्रेसले पञ्चायतविरुद्ध सशस्त्र क्रान्ति गरेको थियो । त्यसमा बलबहादुरसमेतले जेलनेल भोग्दै आएका थिए । २०४६ सालमा ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो र प्रजातन्त्र बहाली भयो । त्यसपछि बलबहादुर राई ओखलढुंगा जिल्ला क्षेत्र नं.२ बाट २०४८, २०५१ सांसद निर्वाचित भएर दुई पटक मन्त्री बनेका थिए । नेता राई २०६२/६३ को जनआन्दोलनको मोर्चामा नेतृत्व गरेका थिए ।

(हुलाक टिकटमा अंकित बलबहादुर राईको तस्बिर)

निचोड, निर्वाचनलाई लोकतन्त्रको कुन्जी भनिन्छ । लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान राजनीति सफल देश निर्माणका निम्ति नभई निश्चित दलका निश्चित नेताका निम्ति पदीय सोपान भइरहेको स्थिति छ । १०४ वर्षको जहानियाँ राणाशासन ढालेर ०७ सालमा प्रजातन्त्र आयो । २०१५ सालमा आमनिर्वाचन भयो । ०१७ साल पुस १ गते प्रजातन्त्र निमोठिएर ३० वर्षसम्म पंचायती व्यवस्था लादियो । २०४६ सालमा प्रजातन्त्र आयो । फेरि २०५१ सालबाट सुरु भएको जनयुद्धको जगमा २०६२/६३ को जनआन्दोलन भयो । फलतः साढे दुईसय वर्षको राजतन्त्र ढल्यो र गणतन्त्र आयो । आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलाई संविधान न राजनीतिक दल र तिनका नेता कसैले वास्ता गर्न सकेका छैनन् । देश नेपाललाई देश बनाउने नेता अहिलेसम्म देशले पाउन सकेको छैन । लाग्छ, अबको हुने आम चुनावहरूले त्यस्ता नेता जन्माउने छ, जसले देश बनाओस् ।

प्रकाशित : मंसिर १, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?