१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
अन्तर्वार्ता

‘जनतासँगभन्दा बलियो अरू कुनै गठबन्धन हुँदैन’ 

हामीले अरुसँग गठबन्धन नगरे पनि जनतासँग गठबन्धन गरेका छौँ । जनतासँगको गठबन्धनभन्दा बलियो अरू गठबन्धन कसरी हुनसक्छ ?

नेपालगञ्ज — यसअघि दुईपटक सांसद् र तीनपटक मन्त्री भइसकेका प्रतिनिधिसभामा बाँके–२ का उम्मेदवार मोहम्मद इश्तियाक राई तेस्रोपटक संसद् छिर्न प्रयासरत छन् ।

‘जनतासँगभन्दा बलियो अरू कुनै गठबन्धन हुँदैन’ 

कान्तिपुरकर्मी रुपा गहतराजसँगको कुराकानीमा इश्तियाकले यसपटक पनि निर्वाचित भएर संसद् भवन छिर्ने दाबी गर्दै भने, ‘म जनतासित गठबन्धन गरेर अगाडि बढ्दै छु ।’

तपाईं तेस्रोपटक उम्मेदवार बन्नुभएको छ । मतदाता के भन्छन् ?

म जनता समाजवादी पार्टी नेपालको उम्मेदवार हुँ । बाँके-२ का जनताको विकासको चाहना पूरा गर्ने मेरो लक्ष्य हो । मलाई आजसम्म साथ दिँदै पार्टीका साथीहरुले जिल्लाबाट एकल सिफारिस गर्नुभयो र केन्द्रले पनि त्यसलाई अनुमोदन गर्‍यो । अब जनताले पनि मंसिर ४ मा मेरो उम्मेदवारीलाई अनुमोदन गर्ने कुरामा म आशावादी छु । सुरुमा निर्वाचनमा त्यति खटनपटन गर्न पाइनँ । सरकारबाट हटेपछि भने पूर्णरुपमा निर्वाचनमा केन्द्रित छु । दिनदिनै जसपाका उम्मेदवारहरूप्रति मतदाताको आकर्षण बढिरहेको छ । पार्टी प्रवेश गर्न चाहने साथीहरूलाई समेत समय दिन नसकेको अवस्था छ । धेरैलाई त हामीले अहिले जो जहाँ हुनुहुन्छ‚ त्यहीँबाट सहयोग गर्नुस् भनेका छौँ ।

तपाईंलाई मत किन दिने ?

मैले जहिल्यै पनि जनतासँग सम्भव र गर्न सक्ने कामको मात्र प्रतिबद्धता जनाउँदै आएको छु । पदमा पुग्नकै लागि हावादरी प्रतिबद्धता मैले कहिल्यै गरिनँ । अहिले पनि मैले प्रतिबद्धताभन्दा पनि आफूले नीतिगतरूपमा गर्नसक्ने कामकुरा जनतामाझ राखिरहेको छु । मैले बाँके–२ का लागि राखेको ‘भिजन १० दृष्टि’ मार्फत आफ्ना भावी योजनाहरू जनतामाझ प्रस्तुत गरेको छु । यिनै दृष्टिकोणको सेरोफेरोमा रहेर मैले भोलिका दिनमा काम गर्ने हो । भेरी अस्पतालमा दीर्घरोगीहरूका लागि विशेषज्ञसहितको छुट्टै युनिट, जमुनाहा–हिल्सा सडक योजनालाई कार्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा ५ विद्यालय र ५ स्वास्थ्य संस्थालाई नमुना बनाउन नीतिगत सुधार ल्याउने, व्यावसायिक सुरक्षा, महेन्द्र बहुमुखी क्याम्पसको भवनका साथै शैक्षिक कार्यक्रममा सुधारलगायत काम नै मेरा प्राथमिकता हुन् ।

संसद् त कानुन बनाउने थलो हो । तपाईं विकासका आश्वासन मात्रै किन बाँड्नुहुन्छ ?

सांसद भनेका खासमा ऐन कानुन बनाउनकै लागि हुन् । सांसदहरूले बनाउने ऐन कानुन र नीति–नियमकै आधारमा विकासको खाका कोरिने हो । राम्रो नीति भयो भने दिगो विकास हुन्छ । नीति गलत भयो भने गडबड हुन्छ । यसको मतलब सांसदले विकास निर्माणको काम गर्ने सवालमा मुट्ठी बाँधेर बस्ने भन्ने विल्कुल होइन । मेरो अठोट पनि नीति-निर्माणसँगै सम्बन्धित छन् । नीति त विकासका लागि पनि चाहिन्छ नि ।

विकासमा सांसदको अहं भूमिका हुन्छ । विकासका राम्रा योजनाहरू ल्याएर आफ्नो क्षेत्रमा बजेट सुनिश्चित गर्नसक्ने ल्याकत भएको सांसद भएमा त्यस क्षेत्रका जनताका लागि त राम्रो हुन्छ नै देशकै लागि पनि हित हुन्छ ।

अहिले सांसद भएकै भरमा ‘यो गर्दिन्छु र त्यो गर्दिन्छु’ भन्दै कतिपय उम्मेदवार हिँडिरहेका छन् । भविष्यमा पूर्वाधार विकास साझेदारी कोष (संसदीय विकास कोष) नै निरन्तर हुन्छ वा हुँदैन भन्ने निश्चित छैन । ठूल्ठूला योजना पूरा गर्नलाई सरकारमा पनि पहुँच हुनुपर्छ । ती सबैको सुनिश्चितता नहुँदै जनतालाई झुक्याउनु हुँदैन भन्नेमा म दृढ छु । मेरा भावी योजनाहरू हेर्नुभयो भने मैले आश्वासन बाँडेको हुँ या यथार्थपरक विषय उठाएको हुँ भन्ने प्रस्ट भइहाल्छ ।

यसअघि चुनाव जितेर आफ्नो क्षेत्रमा के-के गर्नुभयो ?

मैले आफ्नो क्षेत्रका लागि उत्पातै गरें त भन्दिनँ । तर सम्भव भएसम्मका अनि जनताका लागि आवश्यक कामहरू गरेको छु र गर्दैछु । मुख्यरुपमा भेरी अस्पताल, सडक, नाला, हाइमास्ट लाइट, सभाहल, पुलहरूलाई केन्द्रमा राखेँ । मैले भेरी अस्पतालमा आधा अर्बभन्दा बढी लागतमा वातानुकूलित ‘इन्डोर’ भवन बनाउन बजेटको जोहो गरें । जहाँ ५० रूपैयाँको पर्चा काटेर जुनसुकै हैसियतका बिरामीले उपचार गराउन पाउने भएका छन् । त्यस्तै ३९ वटा हाइमास्ट लाइट बजार र आसपास क्षेत्रमा लगाइयो । एकैसाथ नगरभित्र २२ वटा सडकको शिलान्यास गरी निर्माण सम्पन्न गरियो । सायद कुनै गल्ली बचेको होला जहाँ पीसीसी सडक निर्माण नभएको होस् । वडा नं १४ मा अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाइएको छ ।

पछिल्लोपटक लगभग तीन महिना भौतिकमन्त्री हुँदा पनि मैले धेरै काम गरें । जमुनाहा–राँझा सडकखण्डमा अस्फाल्ट ओभर लेको काम भइरहेको छ । यो सडक कालोपत्रे गर्ने विश्वकै उत्कृष्ट प्रविधि हो । पुष्पलाल चोकदेखि सिधनियासम्मको सडकको काम सुरु भएको छ । ट्राफिक लाइट जडान र ओभरहेड ब्रिजको काम १/२ दिनमै सुरु हुँदै छ । वर्षौंदेखि बिग्रिएको नेपालगन्ज–गुलरिया सडक पनि स्ट्रिटलाइटसहित फराकिलो र गुणस्तरीय बनाउने बजेट सुनिश्चित भइसकेको छ । यता राप्ती नदीमा एउटा ‘डबल लेन’ पुलसहित अन्य ७ वटा पुल निर्माण प्रक्रियामा गइसकेका छन् ।

यी सबै कामबारे भनिरहँदा मैले गरेका कामका सम्बन्धमा एउटा कुरा भन्नैपर्ने हुन्छ । मैले सहरी विकास मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका लागि धेरै आयोजना र बजेटको व्यवस्था गरेको थिएँ । जसको तत्कालीन सत्तारूढ दलकै सांसदहरू झपट बोहोरालगायतले संसद्‌मै विरोध गर्नुभयो । सबै बजेट आफ्नो क्षेत्रमा लग्यो भनेर मौन विरोध भयो । यो विरोध त मैले आफ्नो क्षेत्रका लागि गरेरै भएको हो नि । मेरो पहिलो प्राथमिकता जहिल्यै पनि मेरो क्षेत्रका मतदाता नै हुन् । आफ्नो क्षेत्रका मतदाताको समस्यालाई केन्द्रमा राखेर नै मैले काम गर्दै आएको छु ।

यसअघिकै वाचाहरु पूरा नभइरहेका बेला अब के भनेर मत माग्नुहुन्छ ?

मैले पटक-पटक सांसद् र मन्त्री हुँदा गरेका कामहरूको फेहरिस्त सबै मतदातालाई बुझाएको छु तर पनि एकाध काम भने गर्न बाँकी छन् । राप्ती नदी छेउमा किरियापुत्री भवन र स्तरीय घाट बनाउने कुरा मैले भनेको हुँ । जुन त्यो ठाउँ पर्ने पालिकाका प्रमुखले असहयोग गरेपछि बन्न नसकेको हो । मैले आफ्नो सांसद कोषबाट त्यो बनाउन चाहेको थिएँ । तर‚ राजनीतिक स्वार्थमा काम गर्न नै दिइएन । अरू त भनेका सबै काम मैले गरेकै छु । सामाजिक–सांस्कृतिक पक्षमा पनि मैले सकेसम्म गरेको छु । सांसद विकास कोषबाट करिब ७० मन्दिर–मस्जिदको सौन्दर्यकरणका लागि, सामाजिक संरचना निर्माणका लागि सहयोग गरेको छु ।

तपाईंविरुद्ध बलियो गठबन्धन छ, कसरी प्रतिस्पर्धामा गर्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानेर तपाईंले बलियो गठबन्धन भन्नुभएको होला तर बलियो भइदिएको भए उनीहरू गठबन्धन नै गर्थेनन् होला । फेरि हामीले अरुसँग गठबन्धन नगरे पनि जनतासँग गठबन्धन गरेका छौँ । जनतासँगको गठबन्धनभन्दा बलियो अरू गठबन्धन कसरी हुनसक्छ ? यसअघिको संसदीय निर्वाचनमा पनि म एक्लै थिएँ । कांग्रेस–राप्रपा र एमाले–माओवादी गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै मैले जित निकालेको थिएँ । मतदातामाथि विश्वास नहुनेले, कमजोर उम्मेदवार हुनेले र जसरी पनि आँफै हुनुपर्छ भन्ने मपाइँ भएकाहरूले गठबन्धन गरेका हुन् । अर्को कुरा मेरो क्षेत्रमा गठबन्धन कमजोर पनि छ । कोही पूर्व, कोही पश्चिम लागेका छन् । माथिबाट गठबन्धन गरिदिएकै भरमा मतदाता लतारिएर जाँदैनन् नि । उनीहरूले पनि आफ्नो विवेक प्रयोग गर्छन् होला नि । कसले काम गरेको छ ? कसले काम गर्न सक्छ ? को जनतामा लोकप्रिय छ ? कसले जनताको सुख–दु:खमा साथ दिएको छ ? यी कुरा मतदाताले पक्कै मूल्यांकन गरेका हुन्छन् । यहाँका मतदाता जसले जे भन्यो त्यही गर्ने खालका छैनन् । राम्रो र नराम्रो मूल्यांकन गरेर मताधिकारको सदुपयोग गर्न सक्षम छन् ।

तपाईंको विचारमा देशलाई सुशासन र विकासको तीव्र गतिमा अघि बढाउन के कस्ता कानुनहरुको अभाव भएजस्तो लाग्छ ?

सुशासन, पारदर्शिता र जवाफदेहिताजस्ता महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरूबाट पर्याप्त चासो र चिन्ता नहुँदा नै अहिलेको अवस्था आएको हो । यी तीन क्षेत्रमा सुधार ल्याउने हो भने अहिले विकासमा व्याप्त अवरोधहरू आफै कम भएर जानेछन् । धेरैका लागि यो राजनीतिक पसल चलाउने हतियार बन्न पुगेको छ । हामीले यसमा गम्भीरतापूर्वक सोच्नुपर्ने भएको छ । राज्य पद्धतिलाई प्रविधिमैत्री बनाउने र प्रभावकारी ‘डकुमेन्टेसन’ मा ध्यान दिने हो भने सुशासनका सवालमा हामी धेरै हदसम्म फड्को मार्न सक्छौँ । त्यस्तै राजनीतिज्ञहरू जवाफदेही अनि कर्मचारीतन्त्र पारदर्शी हुने हो भने पनि सुशासनको लक्ष्य भेट्टाउन गाह्रो छैन । विकास निर्माणका सवालमा भने अहिले सार्वजनिक खरिद् ऐनलगायत विद्यमान धेरै कानुन परिमार्जनको खाँचो छ । म यी कानुनहरू परिमार्जनका लागि विषेष पहल गरिरहेको छु ।

तपाईंको प्रतिस्पर्धा कुन दल वा उम्मेदवारसँग छ ?

मेरो प्रतिस्पर्धा कसैसँग छैन । तर अन्य उम्मेदवारहरू मसँग प्रतिस्पर्धामा आउन खोजिरहनुभएको छ । जनताको सुरुदेखिकै मुड हेर्दा अन्य उम्मेदवारहरूबीच दोस्रो को हुने भन्ने प्रतिस्पर्धा छ । मैले उठाएका सवाललाई जनताले विश्वास गर्नुभएको छ । म सुरुदेखि नै धार्मिक तथा सामाजिक सद्भाव, एकतालाई अनि जनसेवा र विकास निर्माणलाई आफ्नो कर्म बनाएर अघि बढेको मान्छे हुँ । म योभन्दा दायाँबायाँ लाग्दैन भन्नेमा जनता विश्वस्त छन् । सामाजिक सद्भाव खल्बल्याउन खोज्ने, धार्मिकरूपमा जनताको कित्ताकाट गर्न खोज्ने, सामन्तवाद र निरंकुशताको पक्षपोषण गर्ने अनि विकासका काममा अवरोध गर्न खोज्नेहरूविरुद्ध मेरो उम्मेदवारी हो । जनता नकारात्मक सोच भएकाहरूका पछाडि लागेर प्रतिगमनलाई प्रोत्साहन पक्कै गर्दैनन् । मैले विगतमा गरेका कामहरू जनताले देखेकै छन् । निर्वाचनमा जित्न यिनै आधारहरू काफी छैनन् र ?

प्रकाशित : मंसिर १, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?