अन्तर्वार्ता

'एमालेको संगठन र मैले गरेका काम नै मेरो जित्ने आधार हुन्'

'प्रधानमन्त्री बन्नुहोस्, गगनजीलाई शुभकामना छ'

ताप्लेजुङ — एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यसअघि ताप्लेजुङबाट तत्कालीन एमाले र माओवादी गठबन्धनबाट चुनाव जितेका योगेशलाई यस पालि भने कांग्रेस र माओवादीसहितको गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्नछ ।

'एमालेको संगठन र मैले गरेका काम नै मेरो जित्ने आधार हुन्'

अघिल्लो पटक योगेशका लागि भोट माग्न पुगेका एमाले अध्यक्ष ओलीले भनेका थिए, 'योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर फर्काउँछु ।' ओलीले योगेशलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि बनाए ।

ताप्लेजुङमा विपक्षीले संस्कृति मन्त्री हुँदा पाथीभरा क्षेत्रको जग्गा कौडीको भाउमा कम्पनीलाई दिएको, तिम्वूङ पोखरीलाई विष्णु पोखरी बनाएको, सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल बनाएको लगायतका आरोप लगाएका छन् । यसै सन्दर्भमा कान्तिपुरका लागि आनन्द गौतमले योगेश भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावी प्रचारको अन्तिममा हुनुहुन्छ, कस्तो छ माहोल ?

असोज २७ गतेबाट म चुनावको प्रचारमा निस्किएको हुॅ । एक महिना र केही दिन गाउँबस्ती घुम्दा जनतामा अत्यन्तै उत्साह देखिएको छ । पाँच वर्षमा एकपटक आउने र आफ्ना जनप्रतिनिधि छान्ने यो एउटा महत्त्वपूर्ण अवसर पनि हो । त्यसकारणले कस्तो जनप्रतिनिधि छान्ने, भोलि मुलुकको नेतृत्व कसले गर्ने, भन्ने कुरासँग सम्बन्धित भएको हुनाले जनता उत्साहित छन् । ताप्लेजुङजस्तो विकट ठाउँमा पनि चुनावको माहोल खडा भएको छ । राजनीतिक दलहरूबीच प्रतिस्पर्धाको संस्कारको विकास हुँदैछ । समग्रमा यो नेपाली राजनीतिक क्षेत्रका लागि शुभ संकेत पनि हो ।

तपाईंले वाचा गरेअनुसार काम गर्न सक्नु भएन भन्ने आम गुनासो छ नि ?

म यहाँका लागि नयाँ उम्मेदवार होइन । अघिल्लो पटक उम्मेदवार भएर जितेको हुँ । १५ महिना मन्त्री भएर काम गरेकाले पनि मप्रति मतदाताहरूको गुनासो र टिप्पणी हुनु स्वाभाविक हो । सामाजिक सञ्जालमा कतिपय अनर्गल प्रचार पनि भएका छन् । विकास निर्माणका सन्दर्भमा कतिपय प्रश्नहरू उठेका थिए । मैले गाउँबस्ती घुम्दै गर्दा यी सबै कुरा प्रस्ट पारेँ । जनतामा छिटो विकास भइदिए हुन्थ्यो भन्ने भावना छ । रोजगारीका कुरा छन् । तमोर करिडोरको काम धमाधम हुँदैछ । ०७४ मा हामी चुनाव लड्दै गर्दा यो करिडोरको सामान्य चर्चा मात्रै थियो । हामीले नै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटाका सांसद बसेर केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उत्तर-दक्षिण लोकमार्ग खोल्ने कुरा उठाएका हौँ । काबेली करिडोरका कुराहरू हामीले अगाडि बढायौँ । हामीले विद्यालयहरू पनि निर्माण गरेका छौँ ।

विद्यालय त एचपीएफले बनाएको हो, योगेश भट्टराईले जस लिन खोज्यो भनिन्छ नि ?

होइन, मैले ल्याएको भन्दा पनि कुरा के हो भने म माध्यम भएको हुँ । मैले उहाँहरूलाई सहयोगका निम्ति अपिल गरेको हुँ । एचपीएफले ताप्लेजुङ जिल्लामा केही स्कुलहरू बनाइरहेको थियो । म प्रतिनिधिसभाको निर्वाचनमा लडिरहदा खेरी १५/२० वटा स्कुलमा उहाँहरूको प्रोजेक्ट थियो । त्यसपछि उहाँ धनकुटा हुँदै यहाँबाट प्रोजेक्ट छोडेर जान खोज्नु भएको थियो । मैले नै त्यहाँका विशेष डोनरहरूलाई काठमाडौंमा मिटिङ गरेर तपाईंहरूले २० वटा स्कुल बनाउनुभयो, हामीसँग ६०/६१ वटा सामुदायिक विद्यालय छन् , ताप्लेजुङजस्तो विकट ठाउॅमा नेपाल सरकारको शैक्षिक पूर्वाधारका निम्ति ठूलो खालको बजेट छैन । तपाईंहरूले एउटा सामाजिक काम गर्ने हो भने ताप्लेजुङका सबै स्कुल बनाउनु भयो भने त एउटा रेकर्ड हुन्छ भनिसकेपछि उहाहरूसँग एउटा सहमतिमा आइपुगेका हौं । त्यो मेरो पैसा त होइन, त्यो नेपाल सरकारको पनि पैसा होइन । मैले इनिसिएसन लिएँ त, त्यो ताप्लेजुङका आम जनताले बुझेकै छन् ।

पटक-पटक त्यही क्षेत्रबाट तपाईंहरू जित्नुहुन्छ । तर पनि जनताका गुनासाहरू किन यथावत रहन्छन् त ?

चुनावमा जनताहरूको अपेक्षा एकदमै प्रकट भएको छ नि । हिजो पञ्चायती चुनावमा राष्ट्रिय पञ्चायतमा उठ्ने उम्मेदवारलाई जनताले यसरी भन्दैन थिए । भन्न सक्दैन थिए । जनताको निगरानी हुँदैन थियो । आज लोकतन्त्रमा जनताको निगरानीमा छौं नि त हामी । त्यसकारण जनताले आफ्नो चाहना हामीमार्फत प्रकट गर्ने हो । जनताका प्रतिनिधि हौं नि त हामी त ।

हामीले ५ वर्ष अगाडि, दस वर्ष अगाडि भनेका कुराहरु त्यो हाम्रो एउटा दीर्घकालीन लक्ष पनि हो, सपना हो । ताप्लेजुङमा प्रत्येक गाउँपालिकाका वडासम्म बाटो पुर्‍याउँछौँ भन्ने कुरा हाम्रो सपना हो लक्ष्य हो । त्यो आज पुग्छ, भोलि पुग्छ, त्यो क्रमश: पुग्दै जान्छ । प्रत्येक पालिकाको केन्द्रमा कालोपत्रे गर्छौं, प्रत्येक पालिकाको केन्द्र वडासम्म त्यो हाम्रो लक्ष्य हो त्यो गर्नैपर्छ । मैले नगरे पनि अर्कोले गर्छ, त्यो गर्नैपर्छ ।

यस पटक तपाईंले विकासका कुरा गर्नु भएको छैन नि । पहिलेकै योजना अपूरा भएर हो कि ?

अघिल्लो चुनावमै एउटा अवधारणा दिएको छु ताप्लेजुङमा । पर्यटन, सडक पूर्वाधार र शिक्षामा कृषिमा मैले जुन अवधारणा कन्सेप्ट दिएँ, त्यो कन्सेप्टको निरन्तरता हो अहिलेको । त्यसकारण मैले के भनेको छु भने यो पाॅचवर्ष र गएको पाॅच वर्ष नेकपा एमालेले देशभरिमा र ताप्लेजुङमा विकासको जग हालेका छौं । अब त्यसलाई तला थप्दै जाने हो । अब कुनै नयाँ कुरा गर्नुपर्ने छैन । हिजो भएका कुराहरूलाई समृद्ध बनाउँदै विकास गर्दै त्यसलाई रूपान्तरण गर्दै लैजाने हो । चाहे त्यो सडकको कुरामा होस्, चाहे अन्य कुरामा होस् ।

तपाईंले चुनाव जित्ने आधारचाहिँ के-के छन् ?

पहिलो आधार भनेको नेकपा एमालेको नीति, विचार र यसले अघि सारेका सिद्धान्त, कार्यक्रम, घोषणा पत्र नै हो ।बालबालिकादेखि वृद्धसम्मका व्यक्तिको प्रतिनिधित्व एमालेले नै गर्छ । त्यस्तै श्रमिक वर्गदेखि पुँजीपति वर्गसम्मलाई हेर्ने पार्टी हो एमाले । एमालेले सामाजिक विविधतालाई ध्यानमा दिँदै समग्र विकास गर्छ ।

दोस्रो आधार भनेको नेकपा एमालेको संगठन हो । आज पनि नेपालका कुनै पनि राजनीतिक दलभन्दा नेकपा एमालेको संगठन मजबुत छ र समाजका प्रत्येक वर्ग समुदायमा नेकपा एमालेको संगठन छ ।

त्यस्तै ताप्लेजुङको हकमा संघसम्म पहुँच भएको व्यक्ति, जिल्लाको कुरा संसद्‍मा लैजान सक्ने व्यक्ति जिताउनुपर्छ भन्ने आम मतदाताको बुझाइ छ भन्ने मैले बुझेको छु । मैले जित्ने आधारहरू यिनै हुन् ।

तपाईंकै समकालीन कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिसक्नु भएको छ । तपाईंहरूको पार्टीमा चाहिँ नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने कुरा उठेन नि ? बहुमत आए अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउने कुरामा एकमत देखियो त ?

लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई कार्यान्वयन गर्ने, शान्तिपूर्ण बाटोमा लैजाले दायित्व भनेको एमाले र कांग्रेसकै हो । दुवै पार्टीमा नेतृत्वको रूपान्तरण वैधानिक तरिकाले नै हुँदै आएको छ । छलाङ मारेर नेतृत्व प्राप्त हुँदैन । पार्टीहरू संस्थागत छन्, त्यसैले विधानसम्मत ढंगले चल्नुपर्५ । कुनैबेला नेकपा एमालेभित्र युवा पंक्तिले ज्यादा हस्तक्षेप गरेर हामी अगाडि आयौं । अहिले पछिल्लो दिनमा नेपाली कांग्रेसभित्रका साथीहरूले हस्तक्षेप अझै बढाउनुभयो, उहाँहरू अगाडि आउनु भयो । गगनजी आउनु भयो, विश्वप्रकाशजी आउनुभयो । मूलत: कार्यकारी पदमा आउनु भयो नि, त्यसमा म खुसी व्यक्त गर्छु । हाम्रा समकालीन साथीहरु हाम्रो प्रतिस्पर्धी पार्टीको नेतृत्वमा आइरहनु भएको छ । यसले स्वस्थ मर्यादित रूपले मुलुकको लोकतन्त्र फस्टाउँदै जान्छ भन्ने मलाई लाग्छ ।

अब गगनजी, विश्वजीहरूले जुन दावा प्रस्तुत गरिरहनु भएको छ । मुलुककै नेतृत्व गछौं, पार्टीको मात्रै होइन भन्नु भएको छ नि । विशेष गरेर गगनजीले भन्नु भएको छ, त्यसमा म निकै खुसी छु । हिजो एमालेको प्रभाव कांग्रेसमा परेको हो । खै, कांग्रेसमा भनेपछि उहाँहरू आउनुभयो । हाम्रोमा पनि शंकर पोखरेलजी आउनुभयो महासचिवमा । त्यसैको प्रभाव हो जस्तो लाग्छ । उहाँ त योङ जेनेरेसनकै मान्छे त हो नि । हाम्रो समकालीन नै हो शंकरजी, एक-दुई वर्ष सिनियर हो । हाम्रो पार्टीको पदाधिकारीमा सचिवहरूको पंक्ति हेर्नु न सबै योङ नै त छौँ । म गगनजीलाई शुभकामना दिन चाहन्छु, आउनुहोस् प्रधानमन्त्री बन्नुहोस् ।

प्रकाशित : मंसिर १, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?